Powered by Blogger.
जन्मदिनको मौका पारेर व्यवसायी सुमार्गीको जीवनयात्रा लोकापर्ण


काठमाडौँ, २९ भदौ । चौध वर्षको उमेरमा बाबु गुमाएका अजेयराज सुमार्गी मुलुकका सफल उद्यमी एवम् व्यवसायीका रुपमा कसरी स्थापित भए भन्ने रोचक र वास्तविक जीवनगाथा बजारमा आएको छ ।

अजेयराजका जीवनका आरोह–अवरोह र जीवन सङ्र्ष समेटेर उहाँका भाइ अरुणराज सुमार्गी र निर्मल थापाले लेख्नुभएको ‘ अजेयराज सुमार्गी’ पुस्तक बुधबार सुमार्गीको ५१ औं जन्म दिनको अवशरमा लोकार्पण गरिएको हो । 

पुस्तक उहाँका आमा विश्वकान्ति कलावती सुमार्गी र अजेयराज स्वयम्ले एक कार्यक्रममा विमोचन गर्नुभयो । कार्यक्रममा सांसद, भारतीय जनता पार्टीका नेता विजय जोली र स्वामी कमलनयनाचार्यलगायत मुलुकका प्रतिष्ठित उद्योगपति एवम् समाजसेवीको उपस्थिति थियो । 

उक्त पुस्तकमा सुमार्गीका बारेमा कीर्तिनिधि विष्ट, योगी नरहरि नाथ, डा के आई सिंह, रुपचन्द विष्टलगायतको सान्निध्य र मार्ग निर्देशमा अजेयराजले हासिल गरेका सफलता र त्यस निम्ति उहाँले गर्नुभएको सङ्घर्ष उल्लेख छ । सो पुस्तकको स्वामी विवेकानन्द, अनिलकेशरी शाहलगायतले समीक्षा गर्नुभएको थियो । 

कार्यक्रममा उद्यमी सुमार्गीले युवा पुस्ता मिहिनेत र निष्ठाका साथ कर्मक्षेत्रमा लाग्नुपर्ने धारणा राख्नु भयो । पुस्तकमा अजेयराज सुमार्गीसँग सहयात्रा गरेका र उनलाई नजिक चिनेका  विभिन्न क्षेत्रका ३५ व्यक्तित्वले उनका बारेमा गरिएको विवरण र बिचार समेटिएको पुस्तकका लेखक अरुणराज सुमार्गीले जानकारी दिनुभयो ।
  
काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा लेखकद्वय निर्मलकुमार र अरुणराजले व्यवसायी सुमार्गीकी आमा विश्वकान्ती कलावती सुमार्गीलाई हस्तान्तरण गरे । विश्वकान्तीले छोरा सुमार्गीलाई पुस्तक हस्तान्तरण गरेर पुस्तक सार्बजनिक गरिएको थियो ।

अजेयराज सुमार्गीको अध्यात्मिक पाटोबारे चर्चा गर्दै योगी डा. विकासानन्दले उनी ‘नेपाली युवाका लागि रोल मोडेल रहेको’ बताउनुभयो । विकासानन्दले सुमार्गीको जीवन सफल हुनुमा उनका गुरुहरुको प्रेरणाको भूमिका रहेको उहाँको भनाई थियो । अजेयराज सुमार्गीलाई जे जसरी भिलेन बनाउने प्रयास भइरहेको छ, यो पुस्तकमा बोल्ने पात्रहरुलाई गएर सोधुन्,  उनीहरुले अजय सुमार्गी को हुन् आफैं बुझ्ने छन् ’, अरुणराज सुमार्गीले भने, ’होइन भने यो पुस्तक पढेपछि तिनीहरुको चेत खुलोस्।’ 

उहाँले पुस्तक पाठकको हातमा रहेको र सत्य खुलिसकेको बताउनुभयो । पुस्तकमा स्वामी कमलनयनाचार्य, संस्कृतका ज्ञाता बासुदेव आत्रेय, नेपाली कांग्रेसका योद्धा एवं सुमार्गीका जेलजीवनका साथी नारायण बास्तोला, धार्मिक अभियन्ता टीकाप्रसाद चौलागाईँ, जनमुखी सहकर्मी शिव राना मगर र हरिबोल महत, सांसद रामनारायण बिँडारी र विद्यालय जीवनका साथी महेन्द्र पौडेलका धारणा पनि समेटिएको छ । 

व्ययवसायी अजेयराज सुमार्गीले आफूबारे पुस्तक लेख्ने समय नभएको लागे पनि लेखकद्वयले आफ्नो स्मृतिमा धुमिल भएका पात्रलाई फेरि परिचित गराएको अनुभूति भइरहेको प्रतिक्रिया दिनुभयो । स्वामी कमलनयनाचार्यले अजेयराज सुमार्गी आफ्ना शिष्य भएको कारण कतिपय नकारात्मक बिचार राख्नेहरुले आफूलाई समेत खेद्ने गरिएको बताउनुभयो । ‘नेपालमा पुण्यकर्ममा लागेको मान्छेलाई खेद्ने गरिएको छ’, कमलनयनाचार्यले भन्नुभयोे, ‘शिष्यको रुपमा अजेयराज भएको कारण उसलाई दुःख दिन मलाई समेत खेद्ने गरिएको छ ।’ 

हेटौँडा चुन उद्योग प्रालि (२०२८) बाट व्यवसायिक क्षेत्रमा हात हाल्नुभएका पिता माधवराज सुमार्गीको निधनपछि आफ्नो व्यवसायिक विरासत सम्हाल्दै आउनुभएका अजेयराज सुमार्गी तत्कालीन मेरो मोबाइल (हाल एनसेल) का संस्थापक मध्येका एक हुन्। हाल उनी नेपाल स्याटेलाइट कम्पनी (हेलो नेपाल), हिमालयज अनटप खानेपानी, मुक्तिश्री सिमेन्ट, थाहा मिडिया ग्रुप लगायत क्षेत्रमा लगानी गरी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।  
कार्यक्रममा सुमार्गीकी धर्मपत्नी अस्मीता सुमार्गीले सहभागीहरु सबैलाई धन्यवाद दिनुभएको थियो ।   



0 comments

Write Down Your Responses