Powered by Blogger.
मन्त्री पौडेलले गरे मकवानपुरलाई ३० औं साक्षर जिल्ला घोषणा


हेटौंडा, ३० भदौ । ‘साक्षर मकवानपुर हाम्रो गौरव, साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित बिहिबारदेखि बिधिवत रुपमा मकवानपुर जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरले बिहिबार आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रम पछि मकवानपुर जिल्लालाई ३० औं साक्षर जिल्लाको सुचीमा राखिएको छ । 

शिक्षा मन्त्री डिआर(धनीराम) पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् । आजको आवश्यकता भनेको शीप सिकाउने व्यावसायिक शिक्षा रहेको बताउँदै  मन्त्री पौडेलले सिप नसिकाउने तर हातमा प्रमाणपत्र मात्र थमाउने शिक्षाले आर्थिक विकासमा खासै योगदान दिन नसक्ने भन्दै शिक्षालाई आयआर्जनसंग जोडिने खालका नीति ल्याउने प्रयास सरकारले गरिरहेको बताए । 

२०६८ सालको जनगणना अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समुहका ५५ हजार तीन सय ६३ जना निरक्षर रहेकोमा जिल्लाको विभिन्न साक्षर अभियान पश्चात हाल ५२ हजार ९ सय १६ जना साक्षर भएको शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले बताए । 

 राष्ट्रभाषा र मातृभाषाका वर्ण र अक्षर पढन सक्ने, मातृभाषा र नेपाली भाषामा लेखिएका मुल्यसूचि, विल पढ्न सक्ने, आफ्नो परिवारका सदस्यहरुको नाम, उमेर पढ्न, लेख्न सक्ने, ० देखि ९ सम्मका अंक पढलेख गर्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने, सरल लेनदेनका हिसावहरु राख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, मोवाइलका अंक चिनी प्रयोग गन सक्ने लगायतको सूचकहरु राखेर मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरिएको आचार्यले बताए ।

साक्षर जिल्ला घोषणा भएसँगै अब मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत जनताहरु साक्षर भएको बताईएको छ । कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । मन्त्री पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साक्षर घोषणा गर्न पन्चेबाजा, खैजेडी भजन लगायतको झाँकी सहितले नगर परिक्रममा  गरेर पल्पसा हलमा पुगि घोषणा सभामा परिणत भएको थियो । 

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, सभासदहरु अनन्त पौडेल, गणेश थापा, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विक,  विभिन्न दलका प्रतिनिधिहरु,शिक्षक,विद्यार्थी लगायतको आतिथ्यता रहेको थियो ।



0 comments

Write Down Your Responses