Powered by Blogger.
भाषा बिगार्नेलाई असोज २ मा अदालत बोलावट

 पत्रकार टपेन्द्रबहादुर कार्की
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । 

न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगामी असोज २ गतेका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले भाषाको हिज्जे बदल्ने निर्णयविरुद्ध यही भदौ २४ गते रिट निवेदन दायर गर्नुभएको थियो । 

पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको नेपाली भाषाको हिज्जे बदली पाठ्यक्रममा राख्ने निर्णयविरुद्ध उत्प्रेषणको आदेशले बदर गर्न रिट निवेदनमा माग गरिएको छ । “वर्णविन्यास–विज्ञान व्याकरण तथा भाषा विज्ञानको विषय हो, संस्कृत वा नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँगसमेत गहिरोरुपमा सम्बन्धित छ”– रिट निवेदनमा भनिएको छ ।

हिज्जे बदल्ने प्रक्रियागत निर्णयबाट हालसम्म सही मानेको शब्द र वर्णविन्यासलाई अर्कै बनाएर लेख्नुपर्ने बाध्यता रहेको निवेदनमा उल्लेख थियो ।

यता नेपाली वाङ्मयको वर्ण विन्यासमा देखापरेको अराजकता हटाउने पहलका लागि प्रा डा खेम कोइराला बन्धुको संयोजकत्वमा नयाँ समिति गठन भएको छ । ‘श्री नेपाल’ संस्थाद्वारा आयोजित छलफल कार्यक्रममा सो समिति गठन भएको हो । 

समितिमा वरिष्ठ साहित्यकार, समालोचक, विभिन्न शिक्षालयमा नेपाली विषयका अध्यापक रहेका छन् । वर्ण विन्यासमा लागू गर्न खोजिएको नयाँ मापदण्डले भाषाको मौलिकता मर्ने भएकाले त्यसलाई पूर्ववत् अवस्थामा कायम गर्न समितिले पहल गर्ने संयोजक कोइरालाले जानकारी दिनुभयो । नेपाली भाषाको व्याकरण बिगारिएको भन्दै डा गाउँले बलदेव अधिकारीको संयोजकत्वमा यसअघि एक अभियान नै सञ्चालित हुँदै आएको छ । 

कोषकार चूडामणि गौतमले वर्तमानमा साविक वर्ण विन्यासकै नियमबाट मात्र नेपाली लेखनको हालको समस्या सम्बोधन हुने बताउनुभयो । लेखक हरिभक्त सिग्देलले नेपाली भाषामा संस्कृत वाङमयका कृति अनुवाद गरी सर्वसाधारणले बुझ्ने गरी प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

संस्थाका अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालका वाङमय, नेपालका भाषा र नेपाली संस्कृति बचाउन सबै लाग्नुपर्ने औँल्याउनुभयो । कार्यक्रममा प्रा मोहनराज शर्माले डा कोइराला लिखित ‘विश्वास’ उपन्यासको विमोचन गर्नुभयो । पुस्तकबारे बोल्दै साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञावलीले साहित्यमा विचार र सौन्दर्य पक्षलाई एकैसाथ समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रा डा अमरराज जोशीले नेपालीमा विश्वका विशिष्ट कृतिको अनुवाद गरिनु आवश्यक भन्नुभयो । 

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) 


0 comments

Write Down Your Responses