Powered by Blogger.
किन लाग्छ कागेश्वरी मन्दीरमा भक्तजनको भीड ?

मोहन गौतम
नेपालको राजधानी काठमाडौँको उत्तरपुर्वी  क्षेत्र शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको जङ्गलमा कागेश्वरी महादेवको मन्दिर छ । यो कागेश्वरी मनहरा नगरपालिका वडा नं. १ गागलफेदीमा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थल धार्मिक हिसाबले मात्र नभइ पर्यटकीय र पुरातात्वीक हिसाबले पनि त्यतिकै महत्वपुर्ण छ । 

हरेक वर्ष भाद्र शुक्ल अष्टमीमा भब्य मेला लाग्ने यस तिर्थस्थलमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक मान्यता छ । भक्तजनहरु मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने ठान्दछन् । आफ्नो खेतबारीमा फलेको मकै यहाँ ल्याएर चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने जनविश्वास समेत छ ।

मेला भर्नका लागि काठमाडौं, भक्तपुर, ललितपुर मात्र नभएर विभिन्न ठाउँबाट भक्तजनको विशेष उपस्थिति रहने गर्दछ । कागेश्वरी मेलामा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु त्यत्तिकै ठुलो संख्यामा आउने गर्दछन् । जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहाँबाट जल ल्याउने र कागे अष्टमीका दिन कागेश्वरी महादेवलाई सो जल चढाएर ब्रत विर्सजन गर्ने प्रचलन रहि आएको छ । यो स्थानमा पहिले सुनको काग भए पनि त्यो हराएर अहिले पित्तलको काग राखिएको छ ।

यस मन्दिरको प्राचिन र ऐतिहासिक महत्व रहे पनि योजनाबद्ध विकास र प्रचार प्रसारमा राज्यको ध्यान नपुग्दा गुमनाम जस्तै छ । यस स्थानमा कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा विभिन्न किम्बदन्ती रहेका छन् । सत्ययुगमा सतिदेवीको अंग पतन भएर यहां एक शिवलिंग उत्पन्न भएको भनाइ स्वस्थानी ब्रतकथामा उल्लेखित छ । प्राचीनकालको एक किम्बदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न निस्कँदा यही स्थानमा आएपछि कागले सूचना दिएको र कागकै सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको स्थानीय बताउँछन् । 

लिच्छविकाल अगाडि यो ढुङ्गामा आएर एउटा गाईले दैनिकरुपमा दूध थुनबाट सिधै चढाउन थाल्यो । अर्को गाईले कागेश्वरी वरपर दूध चढाउँथ्यो, त्यो दूध कागले ल्याएर ठूलो ढुङ्गामा चढाउन थालेपछि यो देवस्थल हो भनी कागेश्वर महादेवको स्थापना गरिएको थियो भन्ने कथन पनि छ । 

यमराजका दुत कागबाट यस मन्दिरको नाम कागेश्वरी हुन पुगेका हो भन्ने भनाई समेत छ । बौद्ध धर्मावलम्बीले भने कागेश्वरी महादेवलाई गुरु मानी झाँक्री बन्न चाहने नयाँ शिष्यलाई कागेश्वरी महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेका छन ।

यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नृत्यमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक  हुन्छ । ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले लाखे नाचको आयोजना गर्दछन ।

धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरको संरक्षणका लागि सरकारले उचित सहयोग गरी दिनुपर्ने स्थानीय बासिन्दाको माग छ । यसको संरक्षणका लागि कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान सुरु गरिएको छ । 

समग्र कागेश्वरीको एकिकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनका मार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको छ । सिङ्गै कागेश्वरी भेगको पर्यटन विकासकै उद्धेश्यले गागलमा लोकतान्त्रिक सहिद उद्यान निर्माण गरिएको छ । 

सो स्थानमा अष्ठधातुको कागको प्रतिमा निर्माण गरिने सोच बनाइएको छ । अघिल्लो वर्षदेखि पहिलो क्रान्ति दिवसको संझनामा यस क्षेत्रको पर्यटकीय विकासको संभावनालाई उजागर गर्ने उद्धेश्यले फागुन ७ गते कागेश्वरी पर्यटन महोत्सवको आयोजना गर्न थालिएको छ । स्थानीय जनताले यसलाई नियमित रुपमा मनाउने उद्घोष गरेका छन । काठमाडौं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयालले यसको पहलकदमी र अगुवाई गरिरहनु भएको छ । उहाँ समग्र कागेश्वरी क्षेत्रको गुरुयोजना बनाएर यसको विकास लागिपरेको बताउनुहुन्छ ।

 धार्मिक पर्यटनको विकास मार्फत स्थानीय जनताको आर्थिक समृद्धि गर्न र रोजगारी सिर्जना गर्न सकिने उहाँको विश्वास रहेको छ । काँशी, पशुपति, गोकर्ण, शिबपुरी, कागेश्वरी, बज्रयोगिनी, रामजानकी तथा नबतनधाम जस्ता ऐतिहासिक र धार्मिक स्थललाई समेटेर अन्तर्राष्ट्रिय पशुपति परिपथ निर्माण गर्न सके रोजगारी सिर्जना, पर्यटकीय विकास, नेपालको प्रचारप्रसार र आर्थिक समृद्धिमा ठुलो योगदान पुग्ने भएकाले यसको निर्माणमा राज्यलाई उचित सहयाृेग गर्न उहाँले आग्रह गर्नुभयो । 








0 comments

Write Down Your Responses