Powered by Blogger.
पत्रकार काशी सहित सात जना युवा सम्मानित


मनहरी , २० मंसिर ÷ स्वयम्सेवक दिवसको अबसर पारेर मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान गरेको छ ।

मनहरीमा सोमबार बिहान आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित ७ जनालाई सम्मान गरेको हो । प्रशंसापत्रसहित सम्मानित हुनेहरुमा मनहरी स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान र नुरोज पौडेल रहेका छन् ।

मनहरी स्वयम्सेवक समूह गठन गरी यी सात जना युवाले प्राथमिक स्वास्थ्य केन्द्रको विद्युत बक्यौता तिर्ने अभियान चलाएका थिए । आइतबार मात्रै २ लाख ७७ हजार रुपियाँ बक्यौता तिरेर उनीहरुले स्वास्थ्य केन्द्रलाई ऋणमुक्त बनाएका थिए । कूल ४ लाख ७७ हजार विद्युत बक्यौता तिर्नका लागि समूहले २ महिना अभियान चलाएर प्रतिब्यक्ति न्यूनतम ५ हजार रुपियाँ संकलन गरेका थिए । 

स्वदेशमा रहेका तथा कोरिया, जापान, साउदी लगायतका देशमा रहेका युवाहरुलाई समेटेर चालिएको अभियानपछि विद्युतको बक्यौता शुन्यमा झारिएको अबसरमा स्वास्थ्य केन्द्रले कार्यक्रम आयोजना गरी युवाहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा स्वास्थ्य केन्द्र सहयोग तथा विकास समितिका अध्यक्ष मीनराज कोइराला, पूर्व अध्यक्ष एकराज उप्रेती, डाक्टर फिरोज राइन लगायत अतिथिहरुले युवाहरुको कामको प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा मनहरीका विभिन्न वडाहरुमा सक्रिय ढंगले काम गर्ने तीन जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मीनराज कोइरालाको सभाध्यक्षतामा भएको हो ।

0 comments

Write Down Your Responses