Powered by Blogger.
सहकारीमा विपद् व्यवस्थापन कोष बन्दै

हेटौँडा,४ पौष / सहकारी संस्थाहरुमा पनि विपद् व्यवस्थापनबारे जानकारीसँगै विपद् व्यवस्थापन कोष निर्माण गरिने भएको छ । 
ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले विद्यालय स्तरीय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लाका सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुका लागि आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कार्ययोजना बनेको हो । 
भैँसे, निबुवाटार, पदमपोखरी, छतिवन लगायत गाविसमा रहेका सहकारीहरुसँग विपद् जोखिम न्यूनकरणका लागि सहकारीहरुको भूमिकाका बारेमा आयोजित छलफल कार्यक्रममा छुट्टै विपद व्यवस्थापन कोष खडा गर्ने, विपद्मा परेका बेला सदस्यहरुलाई परिचालन गर्ने लगायतका बिषयमा सबै सहकारीका प्रतिनिधिहरुले एकमत जनाएका थिए । उनीहरुले आफ्ना सहकारीहरुमा तुरुन्तै विपद् व्यवस्थापन कोष तयार गर्ने र सहकारीका समूहको बैठकमा जाने सहजकर्ताहरुलाई समेत विपद् व्यवस्थापनबारे समूहका सदस्यहरुलाई जानकारी गराउने गरी जिम्मेवारी तोकिने बताए । 
त्यसैगरी ऋणको बीमा गरी लगानी सुरक्षित गर्नका लागि बिमा कम्पनी र सहकारी संस्थाहरुबीचको समन्वयकारी भूमिका हुनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो । ग्रामीण महिला सेवा केन्द्रको आयोजना तथा केयर नेपालको सहयोगमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, केयर नेपालका परियोजना व्यवस्थापक रुपेन्द्र बस्नेतलगायतले विपद् व्यवस्थापनमा समुदाय तहमा सहकारीमार्फत खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो । त्यसैगरी बिमा र सहकारीको समन्वयमा विपद घटाउने बारेमा नेशनल लाइफ इन्स्युरेन्सका नवराज अधिकारीले आफ्ना धारणा प्रस्तुत गरेका थिए । 
सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् । 

0 comments

Write Down Your Responses