Powered by Blogger.
राष्ट्र विखण्डनलाई जोगाउन शैक्षिक मुद्दा स्थगित गरेरै लागेका छौं

महेश बर्तौला
इतिहाँसका सबै मोडहरुमा हेर्ने हो भने विद्यार्थीहरुले यो राष्ट्र, जनता, जनजिविका र लोकतन्त्रका निम्ति सधै भरी आफ्नो पढाई र परिक्षा समेत छोडेर वा आफ्नो सामुदायिक मुद्दा स्थगित गरेर आन्दोलनमा लागेको पाइन्छ । आजसम्म जनताले प्राप्त गरेको तमाम उपलव्धीहरुको जग भनेको नेपाली विद्यार्थी आन्दोलन नै हो । त्यही माध्यमबाट आजसम्म जनताले लोकतन्त्रको आभाष गरेको छ । गणतान्त्रिक नेपालको आकाशमुनी बस्ने अवस्थासम्म हामी  यही कारण आइपुगेका छौं । 

फेरि पनि हामी हाम्रो शैक्षिक समाुदायिक मुद्दाका अलावा संविधान संशोधनको विषयमा सडकमा आएका छौं । यो संशोधन प्रश्ताव भनेको यो राष्ट्रलाई विघटनको ठाँउबाट अगाडि बढाउने, विदेशी दलालहरुलाई खुसी बनाउने र नेपाली जनताको भावनाको प्रतिकुल हुनेगरी अगाडि बढाइएको छ । तसर्थ यतिवेला हाम्रो शैक्षिक मुद्दा भन्दा यो राष्ट्र रहने कुरा, राष्ट्रिय एकता बलियो हुने कुरा, राष्ट्रिय अखण्डता जोगाउने कुरा र राष्ट्रिय अस्मितालाई बचाउने कुरा नै हाम्रो लागि महत्वपूर्ण छ । त्यस कारण यतिबेला हामी विद्यार्थीहरुले अन्य युवाहरुलाई समेत साथ लिएर आन्दोलनको मोर्चा उठाइरहेका छौं । 

हामी सरकारलाई संशोधन प्रश्ताव खारेज गरेर जनभावनाको कदर गर्न र संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्न अपिल गरिरहेका छौं । 

पहिले शैक्षिक मुद्दा उठाँउदा संयुक्त विद्यार्थी मोर्र्चा थियो, अहिले  काँग्रेस र माओवादी निकट युवा विद्यार्थीहरु यो मोर्चामा छैनन्,  यसरी सानो शक्ति मात्र लाग्दा यसलाई निष्कर्षमा पु¥याउन कठिन होला की भन्ने प्रश्नहरु पनि उठेका छन् ।  हामी निकट राजनीतिक पार्टीहरु सरकारमा नभएकाले त्यो पिडावोधका लागि हामीले यो आन्दोलन उठाइरहेका छैनौं । यतिबेला यो देशका देशभक्त र जनवादी मानिसहरु वा संस्थाहरु जो सुकैपनि यो आन्दोलनमा अर्थात संविधान संशोधन प्रश्तावको विपक्षमा उभिनु जरुरी छ । काँग्रेस भित्रका युवा विद्यार्थीहरु हुन् वा माओवादी केन्द्र भित्रका युवा विद्यार्थीहरु हुन् । उहाँहरु पनि त्यो आँट गरेर आउनुपर्ने जरुरी थियो  ।

विद्यार्थी आन्दोलन भनेको जहिले पनि प्रतिपक्षीय धार हो । तर आज नेविसंघ वा अखिल क्रान्किारीहरु आफुलाई सत्तापक्षीय धारका रुपमा उभ्याउन खोज्दै राष्ट्र एउटा संकटमा परेको बेलामा एक ठाँउमा उभिनु पथ्र्यो । भलै उहाँहरुले त्यो गरिरहनु भएको छैन । हामी उहाँहरुलाई आग्रह गर्न चाहन्छौं कि यतिवेला इतिहाँसको सबैभन्दा जटिल मोडमा यो देश पुगेको छ । यो देशलाई यस ठाँउबाट मुक्त गराउने कुरा हामी युवा विद्यार्थीहरुको प्रधान दायित्व भित्र पर्छ । हाम्रो मात्रृपार्टी पनि सरकारमा हुन्थ्यो र यस्तै गतिविधी हुन्थ्यो भने पनि हामी चुप लागेर बस्नेवाला थिएनौं । त्यसैले हामीले यो आन्दोलनलाई सबै युवा विद्यार्थीहरुको साझा आन्दोलनका रुपमा विकास गर्न खोजिरहेका छौं । हामीले आन्दोलन मार्फत प्राप्त गरेका उपलव्धीलाई जोगाउने कुरामा अग्रणी भूमिका निर्वाह गरौं भन्ने प्रकारबाट उहाँहरुलाई पनि अपिल गरिरहेका छौं ।

मधेस केन्द्रीत दलहरुले उठाएको मुद्दा के के हुन्, हामीले विचार गर्नै पर्छ । अहिले पाँच नम्बर प्रदेश जसबाट लुम्बीनीलाई अलग्याउने र पहाडको शिर छेदन गर्ने कुरा मधेसीको माग हुनुपर्ने हो ? कदापी होइन । अंगिकृत नागरिकताको अर्को डरलाग्दो सवाल छ । नेपालका बुहारी र ज्वाँइ भएकाहरुलाई यो राष्टको प्रमुख ठाँउमा पु¥याउने आशयका साथ गरिन खोजिने संशोधन किमार्थ स्विकार्य छैन । उनीहरुलाई खुशी पार्न नेपाल सरकारबाट गरिने कुनै पनि हर्कतहरु हामीलाई स्विकार्य हुने छैन ।

हिन्दी भाषा नेपालको भाषा होइन , तर त्यसलाई यो संविधानको अभिन्न अंग बनाउने प्रयत्नका साथ यो संशोधन ल्याइँदैछ । यो भनेको नेपाललाई भाषिक हिसावमा औपनिवेशीक कामय गर्न खोज्ने प्रयत्न हो । त्यसकारण यसको विरोध गर्न जरुरी छ । 

पाँच नम्बरको प्रदेश जुन ढंगले शिर छेदन गर्ने प्रयाश भइरहेको छ, प्रकारान्तरमा त्यसमा गम्भिर षड्यन्त्र छ । आज अन्तराष्ट्रिय मञ्चहरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनिरहेका छन् की वुद्धको भूमि भनेको भारत हो । आज पाँच नम्बर प्रदेशलाई तराईबाट छुट्याउने जुन प्रयत्न भइरहेको छ, यो भने प्रकारान्तरले भारतले त्यो भागलाई गुलाम बनाउने दाउ हो । जतिबेला लेण्डुप दोर्जेबाट भारतले सिक्कीमलाई आफ्नो कब्जामा लिने प्रयत्न गर्दै थियो, त्यतीबेला जे जे हर्कत हुँदै थियो, ठिक यहीबेला त्यस्तै खाले हर्कतहरु हुन थालेका छन् । त्यही हर्कतको पेरीफेरीमा बसेर भारतले आज यो प्रपञ्च गरिरहेको छ ।

त्यसकारण यो प्रश्तावको विरोधमा लाग्नु अपरीहार्य छ । कोही मान्छेलाई खुसी बनाउने नाममा राष्ट्र विखण्डनको डिलबाट अगाडि बढाउने कुरा किमार्थ स्किार्य हुँदैन । यसबाहेक उहाँहरुका कतिपय सहि मुद्दा छन् भने संविधानको कार्यान्वयनको चरणबाट अगाडि बढ्दा परिपुर्ती गर्दै जान सकिन्छ । 

आन्दोलनमा कहिले खेलाडी, कहिले साहित्यकार त विभिन्न अन्य पेशा तथा वर्गका साथीहरुले साथ दिइरहनु भएको छ । यो आन्दोलनमा जनताको सहभागिता अपार छ । लुम्बिनी र बुटवलमा लाखौं लाख जनता ओर्लिएको छ । काठमाडौंमा देशभक्त युवा विद्यार्थीहरु दृढतापूर्वक सहभागि भएका छन् । 

राष्ट्रघाती संशोधन प्रश्तावको पक्षमा उभिनेहरुको विरुद्धमा विपक्षीहरुलाई साथ लिएर अगाडि बढ्ने कुरा हाम्रो आन्दोलनको स्वरुप भित्र पर्छ । अब हामी हिंशा र ध्वंषको बाटोबाट टायर बाल्ने, तोडफोड गर्ने पक्षमा छैनौं । त्यसैले रचनात्मक कोणबाट अगाडि बढाउने क्रममा कहिले खेलाडीहरुको खेल प्रदर्शन भएको छ, कहिले साहित्यीक सिर्जना मार्फत सरकारलाई दवाव दिइरहेका छौं । 

विदेशी कुटनीतिक नियोगका अधिकारीहरुले आज हाम्रो आन्तरिक मामलामा जसरी हस्तक्षेप गर्न खोजेको छ, त्यस विरुद्ध पनि हामी उभिएका छौं । आज विदेशी नियोगका अधिकारीहरुले नेपालका नेताहरुलाई ‘यसो गर् वा  यसो नगर्’ भनेर अर्ति दिने काम भएको । अनावश्यक चलखेल बढेको छ । कुटनीतिक मर्यादाभित्र रहनु उनीहरुको कर्तव्य हो । तर उक्त मर्यादा नाघ्ने काम भएको छ ।

नेपालको आन्तरिक पक्षमा जसरी एउटा राजदुत पक्ष विपक्ष भएर उभिन्छ र त्यही ढंगले लविङ गर्छ । त्यसैले त्यसका विरुद्धमा पनि हामीले आन्दोलन केन्द्रीत गरेका छौं । भारतीय दुतावाश घेर्ने, प्रचण्ड निवास घेर्ने काम गरेका छौं । हाम्रो आग्रह छ, ‘अति गरेमा खती हुन्छ’ भन्ने कुरा तिनले बुझुन् । 

हाम्रो आन्दोलनको जगमा प्रचण्ड यो प्रश्तावको खारेजी बिन्दुमा पुग्छन् भन्ने हामीलाई विश्वास छ । हुनत मतका हिसाले हेर्ने हो भने संसदमा यो प्रश्तावको पक्षमा मत अत्यन्तै कम छ । संसदीय खेलका हिशाबले हेर्ने हो भने, त्यहाँ यो प्रश्ताव अस्विकृत हुन्छ भन्ने हामीलाई थाहा छ । तर यो प्रश्ताव त्यहाँ टेबुल हुनु हुँदैन । कतिपय प्रश्ताव यस्ता हुन्छन् जुन  प्रश्तावहरु टेबुल नै हुनु हुँदैन ।

तसर्थ ठिक छ कि बेठीक छ भनेर संसदमै छलफल चलाउन नमिल्ने यो प्रश्ताव तुरुन्त खारेजी हुनुपर्छ । आन्दोलनका क्रममा चर्चा बटुल्न केही युवा विद्यार्थीबाट उत्तेजक र अमर्यादित अभिव्यक्ति पनि सार्वजनिक भए भन्ने गुनासो छ । यो गलत कुरा हो । 

हाम्रा कोही पनि साथीहरुले यस्तो कुरा गरेका छैनन् । यो आन्दोलनलाई भड्काउन, दिग्भ्रमीत बनाइदिन र जनताको समर्थन छैन भन्ने देखाउन यस्ता केही प्रयत्नहरु हुने गर्छ । जहिले पनि देशभक्त युवा विद्यार्थीहरु जुट्दा यस्तो षड्यन्त्र हुनेगर्छ । हाम्रो शान्तिपूर्ण र शालिन आन्दोलनलाई कमजोर बनाउन प्रयत्नका साथ यो आएको कुराहरु हुन् । हामी आन्दोलनलाई सिर्जनात्मक ढंगले अघि बढाउन चाहन्छौं । 

हामी यो देशका सबै नेताहरुलाई उच्च सम्मान गर्दै उनीहरुले राष्ट्रघातका लागि गरेका हर्कतहरुको मात्र खण्डन र भण्डाफोर गर्न चाहन्छौं । अनेरास्वयियुको तर्फबाट यो आन्दोलको संयोजन मैले गरिरहेकाले हामी यसतर्फ सावधान र सचेत रहेको स्पष्ट पार्दछु ।

(बर्तौला अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष हुन्)




0 comments

Write Down Your Responses