Powered by Blogger.
टिस्टुङ बज्रवाराही शैक्षिक महोत्सवको तयारी पुरा, महोत्सवका लागि गाँउ जाने क्रम बढ्दै,प्रचारका लागि र्याली आयोजना


काठमाडौं, १४ पुस । मकवानपुरको थाहा नगर स्थित बज्रवाराही उच्च माविमा शुबmबारबाट हुन गइरहेको वृहत शैक्षिक तथा धार्मिक महोत्सवको सबै तयारी पुरा भएको छ । 

शुक्रबार एक समारोहबीच बहालवाला मन्त्रीले समुद्घाटन गर्नुहुने उक्त महोत्सवको आवश्यक सबै तयारी पुरा भएको छ । आयोजक टोलिका सदस्य, भूपू विद्यार्थीहरु, अध्ययनरत विद्यार्थीहरु, अविभावक तथा नेपाली सेनाको संयुक्त पहलमा यज्ञका मण्डप र टेन्टहरु स्थापना गरिएको छ भने  विभिन्न स्थानमा स्वागतद्धार समेत निर्माण गरिएको छ । 

बज्रबाराही उच्च माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउने र उक्त क्षेत्रलाई वृहत शैक्षिक केन्द्र बनाउने उद्देश्यले शुक्रवार महोत्सवको उद्घाटन हुँदैछ । 

थाहा नगरमा पुस १५ देखि २२ गतेसम्म हुने मकवानपुर थाहा बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को तयारी लगभग पुरा भएको मुल व्यवस्थापन समितिका अध्यक्ष महेश्वर सुवेदीले जानकारी दिनुभयो । महोत्सवका लागि एक हप्ता अघिदेखि गोबिन्द शरण महाराजजीको टोली व्यवस्थापनमा सक्रिय रहेको र विभिन्न शहरमा रहेका स्थानीयहरु महोत्सवकै लागि गाँउ जाने क्रम बढेको सुबेदीले जानकारी दिनुभयो ।

बज्रबाराही उच्च माविलाई नमूना विद्यालय बनाउन २० करोड रुपैयाँ बजेट आवश्यक भएको बताइएको छ । शैक्षिक महोत्सवबाट ५ करोड रुपैयाँ आर्थिक सहयोग संकलन गर्ने लक्ष्य रहेको बताइन्छ । 

विद्यालयको भवन २०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पको कारणले क्षतिग्रस्त भएकोले भवनहरुको पुनः निर्माण गरी विद्यालयको सर्वपक्षीय सुधार गर्न आर्थिक स्रोत जुटाउने लक्ष्यसहित महोत्सवको आयोजना गर्न लागिएको हो । 

महोत्सवका लागि मञ्च बनाउने, यज्ञ मण्डप बनाउने, आवश्यक सामाग्रीको संकलन गर्ने लगायतका सबै कार्य पुरा भएको छ ।  महोत्सवभर सहश्र शालिकग्राम पुजा अर्चना, विराट धनधान्ने महापर्व, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, योग शिविर क्रियाकलाप गरिने आयोजकले जनाएको छ । त्यसैगरी कलशयात्रा, तुलादान, चौरासी पुजा, व्रतवन्ध, ग्रहशान्ति, लाखबत्ती बाल्ने, राष्ट्रिय कलाकारबाट संगीतमय भजन कीर्तन, विभिन्न धार्मिक सप्रदायका धर्म गुरुहरुको प्रवचन, धार्मिक पुजा सामाग्री, पुस्तक एवम् शैक्षिक प्रदर्शनी क्रियाकलाप महोत्सवमा समेटिने छ । 

महोत्सवभर प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था, सवारी साधनको लागि सुरक्षित पार्किङको व्यवस्था समेत मिलाईएको छ ।

गुणस्तरीय शिक्षाको आवश्यकतालाई पुरा गर्ने, भौतिक सुविधा, खेल मैदानको सुविधा, अन्य शिक्षण तथा प्रशिक्षण सामाग्रीहरुको व्यवस्थापन गर्ने, ५ वर्ष भित्रमा अन्तर्रा्ष्ट्रिय मापदण्डको क्याम्पसको निर्माण गर्ने, नेपालकै पहिलो फूलबारी निर्माण गर्ने, सुविधा सम्पन्न छात्रावासको निर्माण गर्ने, शिक्षक सिकाईलाई प्रविधिमुखी बनाउन सुविधा सम्पन सूचना प्रविधि सम्बन्धी ल्यावको निर्माण गर्ने समितिले लक्ष्य लिएको छ । 

त्यतिमात्र होइन २ लाख रुपैंया बराबरको पुस्तकालयको स्थापना गर्ने, सेवा क्षेत्रभित्र स्नातक पढ्नेहरुको संख्या बढ्दै गएकोले सो तह सञ्चालनको लागि विद्यालयको भूमिका निर्वाह गर्ने, अन्तराष्ट्रिय स्तरको कक्षाकोठा निर्माण गर्ने, विज्ञान प्रयोगशाला, कक्षा कोठा निर्माण तथा व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

नेवारी धिमे बाजा, छिँ बाजा, तामाङको बाजा लगायत बाजा समूहले महोत्सवको कलश यात्रामा सहभागिता जनाउने योजना छ  महोत्सवलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षक अभिभावक संघका पदाधिकारी, विभिन्न संघसंस्था, सहकारी संस्थाका पदाधिकारीसँग छलफल जारी रहेको बताइएको छ ।

महोत्सवको लागि कलश यात्राको सदस्यबाट मात्रै २० लाख रुपैयाँ बराबरको रकम संकलन गरिएको मूल समारोह समितिले जनाएको छ । यसैबीच महोत्सवको प्रचारका लागि बिहिबार पनि वृहत र्याली आयोजना गरिएको थियो । 




0 comments

Write Down Your Responses