Powered by Blogger.
यसकारण नमुना शैक्षिक केन्द्र बन्नुपर्छ टिष्टुङ– बज्रवाराही

शन्तराम बिडारी
उत्तरी मकवापुरको मात्र होइन मुलुककै रमणीय तथा पर्यटकीय क्षेत्र टिष्टुङ उपत्यकाको चर्चा एक्कासी बढेको छ । स्थानीयवाशी शैक्षिक तथा धार्मिक महोत्सवबाट विद्यालयको प्रारुप फेर्ने भन्दै जुर्मुराएपछि यसको चर्चा बढेको हो । 

शुक्रबारबाट पुस २२ गतेसम्म आयोजना हुँदै गरेको यो अनुपम महायज्ञले यो ठाँउको चर्चा बढाएको छ । चर्चा मात्र होइन यसले सारा टिस्टुङवाशीलाई चुनौति र अवशर दुबै प्रदान गरेको छ ।

पुरानो प्रशासनिक र बोलि चालीको नाम टिष्टुङ, पछि बज्रबाराही र हाल थाहा नगरपालिकाको रुपमा रुपान्तरण भएको यो क्षेत्रलाई राष्ट्रकै नमुना शैक्षिक केन्द्र बनाउने प्रयाश स्वरुप स्थानीयहरु यो महोत्सव गर्न सक्रिय भएका हुन्  । त्यसैको जमर्को स्वरुप शैक्षिक तथा धार्मिक महोत्सव तथा वृहत शैक्षिक प्रदर्शनी प्रारम्भ गरिएको छ । 

यो आयोजना गर्न मुल व्यवस्थापन समितिले निक्कै ठुलो मेहनत गरेको छ । जसको तयारीका लागि स्थानीयवाशीहरु छ महिना पहिलेदेखि कम्मर कसेर जुटेका छन् । विभिन्न उपसमितिका सदस्य, पदाधिकारी, विद्यार्थी, शिक्षक, कर्मचारी मात्र होइन सिङ्गो गाँउले नै आफ्नो प्रतिष्ठाको विषय बनाएर लागेका छन् । 

महोत्सव गर्नुको मुख्य उद्देश्य नै यस क्षेत्रलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न रकम संकलन गर्नु नै रहेको हो । भविश्यमा राष्ट्रकै नमुना सामुदायिक विद्यालय बनाउने भन्दै विद्यालयले त्यसको प्रारुप पनि तयार गरिसकेको छ । उक्त महान र पुनित कार्यमा होस्टेमा हैंसे गरेर सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो । 

टिष्टुङको बज्रबाराही क्षेत्र एक ऐतिहासिक लघु नगरी हो । यहाँ लिच्छवीकालका महत्वपूर्ण शिलालेखहरु अलपत्र छन् । भटुवालको कोलटारमा रहेको अंशुवर्माको शिलालेख हँसिया उध्याउने ढुङ्गाको रुपमा परिणत भइसकेको छ भने पाल्चोक स्थित बज्रवाराही मावि परिषरमा रहेको नरेन्द्रदेवको शिलालेखमा पनि क्रमश बेवारिसे बन्दै गइरहेको छ । यि महत्वपूर्ण चिज बस्तु संरक्षण गर्नतर्फ न त स्थानिय समुदायले पहल गरेका छन् नत सरकारी निकाय पुरातत्व विभाग लगायतको ध्यान पुगेको छ ।

हाम्रो इतिहास बोल्ने यस्ता सम्पदाहरु अलपत्र हुनु विडम्वनाको कुरा हो । लिच्छवी कालमा महत्वपूर्ण भन्सार केन्द्र थियो भनिएको र लिच्वली राजा नरेन्द्रदेवले बस्ति बसालेको भनेर इतिहाँसमा उल्लेखित यो स्थान ज्यादै अहिलेसम्म पनि पछि नै परेको छ ।

यहाँ उपत्यकाको पहिलो आदिवाशी गोपालवंशको सन्तान गोपालीहरुको वशोवास छ । उनीहरुको पृथक कला र संस्कृति छ । मल्लकालबाट सुरु भएका विभिन्न नाच तथा जात्राहरु चलिरहेका छन् । मठमन्दिरहरु संरक्षणका लागि हजारौं वर्ष पहिलेबाट गुठीको व्यवस्था गरिएको छ । यि सबै कुराहरु हुँदाहुँदै पनि हामी भने आफ्नो ठाँउको बारेमा गर्व गर्न सकिरहेका छैनौं ।

२०३७ सालतिर नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहाँस विभागका प्राध्यापक धनबज्र बज्राचार्य र हेमन्त राणा इतिहाँसका विद्यार्थीहरु लिएर अध्ययनका लागि यो ठाँउ आउनुभएको थियो । उहाँहरुले महिनौं ऐतिहाँसिक तथा पुरातात्विक सम्पदाहरुको अध्ययन गरेर केही तथ्यहरु सार्वजनिक गर्नुभएको छ । ‘टिष्टुङ चित्लाङ भेगको इतिहाँस’ नामक पुस्तक समेत उहाँहरुले प्रकाशित गर्नुभएको थियो । 

पछिल्लो समय हामीले यस्ता कुराहरुको मार्केटिङ गर्न सकिरहेका छैनौं । प्रचार पुगेको छैन । यस हिसाबले हेर्दा यो स्थान इतिहाँसका विद्यार्थीहरुलाई खुला विश्वविद्यालय हुनसक्छ । परम्परा, संस्कृति र सम्पदा अध्ययन र अन्वेशण गर्ने केन्द्र हुनसक्छ ।

त्यतीमात्र होइन यहाँ विकास हुँदै गइरहेको होम स्टे र यहाँका रीति रिवाजका आधारमा यो महत्वपूर्ण पर्यटकीय केन्द्र हुनसक्छ । 

राजधानीको घना वस्ति विस्तार र सुदृढीकरणका सन्दर्भमा अब यस्ता खुला स्थानहरुमा मानिसहरुको ध्यान केन्द्रीत भइरहेको छ ।

पछि ठुला–ठुला प्राविधीक तालिम केन्द्रहरु बनाउने अवधारण आउन सक्छ । जसरी अहिले चित्लाङमा विश्व स्तरको प्राविधीक तालिम केन्द्र बन्दैछ । 

त्यसैले बज्रबाराहीको विद्यालय स्तारोन्नती गर्ने अभियानमा जुटौं । सबैले सक्दो सहयोग गरौं । थोपा थोपा मिलेर समुन्द्र बन्छ । समुन्द्र बनेपछि त्यहाँ पानी जहाज कुदाउन सकिन्छ । अनि विकासको लहर सुरु हुन्छ । 

त्यसैले यो शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न सबैले सहयोग गरौं । ऐतिहासिक टिष्टुङ आफु पनि जाऔं, अरुलाई पनि लैजाऔं । शैक्षिक केन्द्र स्थापित गरेरै छाडौं । 

(बिडारी  प्रचारप्रसार उपसमितिका संयोजक हुन् ।)

उच्च सुविधा सम्पन्न विद्यालयको नयाँ प्रारुप




ऐतिहासिक रमणीय टिस्टुङ बज्रवाराही उपत्यका

0 comments

Write Down Your Responses