bank

BANK





Powered by Blogger.
पाँच करोड रुपैंया भन्दा बढी संकलन गर्न सक्छौं भन्नेमा विश्वस्त छौं

महेश्वर सुबेदी, अध्यक्ष महोत्सव मुल व्यवस्थापन समिति


महेश्वर सुवेदी बज्रवाराही उच्च माध्यमिक विद्यालयको लामो समयदेखि व्यवस्थापन समितिमा रहेर शैक्षिक विकासमा संलग्न व्यक्ति हुन् । स्थानीय स्तरमा रहेर शिक्षाको विकास र विस्तारमा लगातार लागिरहने उनी कुनै राजनीतिक पार्टीमा आवद्ध रहेपनि सामाजिक काममा राजनीतिको गन्ध आउन नहुने कुरामा विश्वास राख्छन् । बज्रवाराही चुलीप्रानका स्थायी बासिन्दा सुबेदी स्थानीय पूर्व जनप्रतिनीधी पनि हुन् । 

विगत छ महिनादेखि यो क्षेत्रलाई राष्ट्रकै नमुना शैक्षिक केन्द्र बनाउने सन्दर्भमा एउटा सशक्त टिम लिएर त्यसको अगुवाई गरिरहेका सुबेदी शिक्षाको विकासले मात्र राष्ट्रको विकास हुने धारणा राख्छन् । प्रस्तुत छ, उनै सुवेदीसंग महोत्सव आयोजना, त्यसको तयारी र लक्ष्यका बारेमा दामन पोष्टका सम्पादक शन्तराम बिडारीले गरेको कुराकानीः 

यो शैक्षिक तथा धार्मिक महोत्सव गर्ने सोच कसरी आयो ?

मकवानपुर जिल्लाको उत्तरी क्षेत्र एउटा अत्यन्त रमणीय स्थल हो । यहाँका विद्यार्थीहरु उच्च अध्ययनका लागि बाहिर गएर पढ्नुपर्ने र आयस्रोत कम हुनेले पढाउन घर बाहिर पठाउन नसक्ने अवस्था थियो । स्थानीयको आयस्तर असाध्यै कम भएकै कारणले त्यो समस्या आएको ठानेर हामीले यस ठाँउलाई शैक्षिक केन्द्रका रुपमा राष्ट्रकै नमुना बनाउने सोच राख्यौं । 

त्यसका लागि पुँजी संकलन ठूलो चुनौतीका रुपमा देखिएको छ । धर्मको रुपमा महायज्ञ आयोजना गर्दा दानविर व्यक्तिहरुले शैक्षिक कोषका लागि रकम प्रदान गर्ने चलन छ । हामी पनि आ आफ्नो ठाँउबाट  जुटेर त्यो आँट गर्दा कसो नसकिएला भन्ने लाग्यो । 

त्यही भएर यहाँ देशकै एउटा नमुना सामुदायिक विद्यालय निर्माण गर्ने र क्याम्पस पनि यहीँ स्थापना गर्ने भन्ने सोचले यो महोत्सव आयोजना गरिएको हो ।

विद्यालयको स्तरोन्नती गर्न यो मात्र उपाय थियो ?

२०७२ साल बैशाखमा जब महाभूकम्पहरु गयो, तव हाम्रा भवनहरु चिराचिरा परे । भवनमा विद्यार्थीहरु पढाउन नसकिने वातावरण बन्यो । हामीले त्यसबीचमा धेरै संघसंसथाहरु र सरकारी निकायहरु धायौं । पत्राचार ग¥यौं । तर यो दुई वर्षको बीचमा पनि राज्यबाट केही गर्न नसकिने अवस्था भएपछि विद्यालय जसरी पनि नबनाई हुँदैन, के गर्ने होला भनेर हामी तनावमा प¥यौं । 

हाम्रा बालवच्चाहरु जसरी पनि नपढाई हुँदैन, उनीहरु टहरामुनी बसिरहेका छन् । चिसो ठाँउ भएकाले टहरोमा बसेर पढ्दा त्यसले चिसोमा  जाडो बनाउने र तातोमा धेरै गर्मी बनाउने स्वभाविक छ । पानी पर्दा आवाज आएर पढ्न नसक्ने उस्तै समस्या छ । यस्तो समस्या भएपछि हामी ‘के गर्ने’ भनेर अलमलमा परिरहेका थियौं । 

त्यही क्रममा हामीलाई यस्तो योजना सहितको एउटा प्रश्ताव आयो । त्यसैले हामीले यसलाई एउटा वृहत महोत्सवकै रुपमा आयोजना ग¥यौं । 

यो धार्मिक मात्र होइन, हामी शैक्षिक महोत्सव गरिरहेका छौं । जसले यो नगरलाई शैक्षिक नगरीको रुपमा विकास गर्नुपर्छ भन्ने मान्यतामा हामी लागिरहेका छौं । 

यो महोत्सवको लक्ष्य के कस्तो लिनुभएको छ र अहिलेसम्मको अवस्था हेर्दा पुरा हुने छाँट छ की छैन ?

हामीले देशकै एउटा नमुना  र अत्याधुनिक सुविधा सम्पन्न सामुदायिक विद्यालयको परिकल्पना गरेका छौं । त्यसमा धेरै कुरा हुँदा रहेछन् । सरकारले कक्षा कोठा बनाइदिँदो रहेछ । तर विद्यालय बनाउन सक्दो रहेनछ भनेर हामीले देखिराखेका छौं । किनभने विद्यालय हुने वित्तिकै त्यहाँ भैतिक पुर्वाधारका कुरा, त्यसमा सहज र विद्यार्थी मैत्री वातावराण स्थापना गर्ने कुरा पनि व्यवस्थापन गर्नुपर्ने रहेछ । 

अहिले हामीले चाहेको त्यो सबै सुविधा सहितको विद्यालय बनाउने हो । हामी त्यो उद्देश्यमा अघि बढीरहँदा अहिलेसम्म हामीलाई प्राप्त आश्वासन अनुसार हामी पाँच करोड रुपैंया भन्दा बढी संकलन गर्न सक्छौं भन्नेमा विश्वस्त छौं । हामीले अहिलेसम्म पुगेर निमन्त्रणा गरेका ठाँउहरुमा पुग्दा उहाँहरुको अत्यन्त राम्रो आश्वासन पाएका छौं ।

कस–कसले के के आश्वासन दिएका छन् ?

हामीलाई व्यवसायी अजेय सुमार्गी जो हाम्रै जिल्लाको प्रतिष्ठीत व्यवसायी हुनुहुन्छ, उहाँले जति सुकै खर्च लागेपनि अत्याधुनिक ४ कोठे भवन बनाइदिन्छु भनेर प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै लवग्रिन नेपाल नामको संस्थाले ४८ लाख बराबरको एउटा परियोजना उपलव्ध गराइदिन्छौं, त्यो कोषबाट भवन बनाउन सक्नुहुनेछ भनेको छ । यसबाहेक अरु धेरै भन्दा धेरै व्यवसायीहरुले पनि सहयोग गर्ने हामीले आशा गरेका छौं । धेरै ठाँउमा हामीलाई आश्वासन प्राप्त भएको छ । 

आर्थिक सहायताका अलावा तुलादान, भूमिदान, अन्नदान पनि गर्ने प्रवन्ध गर्नुभएको रहेछ, त्यसको व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ?

हामाीले शैक्षिक प्रदर्शनी पनि गर्दैछौं । उक्त प्रदर्शनीमा भविश्यमा हाम्रा शैक्षिक केन्द्र कस्ता हुने भन्ने देखाँउछ । संगै यो धार्मिक महोत्सव पनि हो । हिन्दु धर्मावलम्वीहरुले तुलादानलाई धेरै पुण्य कमाउने अवशरमा लिन्छन् । व्यत्तिले आफ्नो शरिरको तौल अनुसारको रकम दान गर्दा त्यो अवशरलाई अहो भाग्यका रुपमा समेत लिइन्छ । यो भएमा  एकैचोटी वैकुण्ठवाश जान सकिन्छ भन्ने धार्मिक मान्यता रही आएको छ । हामीले धार्मिकलाई भन्दा पनि शैक्षिक पाटोलाई नै अघि सारेका हौं ।

शिक्षामा धेरैतिरका साथीहरुले दान,धर्म, आश्वासन र प्रतिवद्धता व्यक्त गर्नुहुन्छ  शिक्षालाई कसरी अगाडि लाने भन्ने सन्दर्भमा । अनि त्यसपछि मात्र हामी धर्मको कुरा गछौं । धान्याञ्चल महायज्ञ गर्दा पनि धनधान्यले हामीमा परिपूर्ण हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । 

यो पित्रृ मुक्ती गर्ने र राष्ट्र शान्ति गर्ने समेत यज्ञ हो । 

यस्ता खालका यज्ञ र महोत्सवमा विगतमा थुप्रै उधारो आश्वासन आउने र त्यसको प्रचार मात्र हुने अनि काम नहुने गरेकोप्रति कत्तिको सचेत हुनुहुन्छ ?

हामी प्रतिवद्धतालाई विश्वास गर्दैनौं । जसले जति दिनुपर्छ आडम्वरका साथ होइन आफ्नो स्वइच्छाले दान गर्नुहोस् भनेर भन्न चाहन्छौं । हामीले कसैलाई पनि उधारो नबोलि दिनुहुन आग्रह समेत गरेका छौं । 

विभिन्न महायज्ञमा विगतमा ति कुराहरु भएको हुनाले हामी सचेत भएका हौं । हामीले भूमिदान गर्ने साथीलाई पनि क्रेता र विक्रेता दुबैलाई एकै ठाँउमा राखेर आएको मुल्यलाई आधार बनाउने र सकेसम्म त्यहीँ बैना गराउने योजनामा छौं । हाम्रो मुल्याङ्कन समितिले पनि त्यही कुरा अघि सारेको छ । 

पारदर्शी हुन नसकेका कुरा पनि छन् नि विगतमा ?

वर्षौ पहिले भएका महायज्ञका हिसावहरु अझैसम्म फस्र्यौट नभएको हामीले पनि सुनेका छौं । हाम्रो लक्ष्य कम्तिमा पनि समापन भएको पाँच दिनभित्र जे जस्तो आम्दानी र खर्च हुन्छ, त्यसलाई यर्थाँथ रुपमा सार्वजनिक गरिदिने सोच छ । 

लक्ष्य त ठुलै राख्नुभएको छ, तर खर्चको आकार पनि अचाक्ली नै पो ठुलो देखियो त ?

पहिले सुरुमा गोविन्दशरण महाराजजीसंग छलफलमा बस्दा हामीलाइ पनि त्यस्तै लागेको थियो । खर्चको अनुमानीत आँकडा हेर्दा हाम्रो पनि सातो उडेको थियो । पछि छलफल गरेर हाम्रो गतिविधी अघि बढाउँदै जाँदा ‘हो त स्वभाविकै पो रहेछ’ भन्ने निष्कर्षमा हामी पुगेका छौं । 

यहाँ राष्ट्रिय कलाकारहरुले धार्मिक रुपमा आफ्नो कला प्रश्तुत गर्नुहुन्छ । यहाँ साथीहरु आएर एक हप्तादेखिनै खटिरहनु भएको छ । त्यो आधारलाई हेर्दा त्यस्तो होइन रहेछ भन्नेमा हामी पुग्यौं । हामी अझै सकेसम्म मितव्ययिता अपनाउन प्रयाशरत छौं । 

सिङ्गो एकमत भएर यसको तयारीका लागि बज्रवाराहीवाशी लागेनन् भन्ने छ नी किन होला ?

हो, केही साथीहरुमा असन्तुष्टी पनि देखियो । केही त बिथोल्नै पर्छ भनेर पनि लाग्नुभयो । प्रचार नै गलत ढंगले लगिदिनुभयो । यो हामी कसैको व्यत्तिगत स्वार्थ सिद्धीका लागि गरिएको होइन । समुदायकै हितका लागि केही गर्न सकिन्छ कि भनेर हामी पनि महिनौ देखि खाइनखाई लागिरहेका हौं । 

यो कुरा जनमानशले चाँही बुझिदिनुभएकाले हामी उत्साही भएका छौं । यहाँ रहेका १५ सय घरधुरी मध्ये १२ सय बढीले कलस सदस्य बनिसक्नुभएको छ । कुनै साथीहरुको व्यत्तिगत गुनासा होला । कसैलाई कुन पद पुगेन भन्ने पनि होला । कसैलाई के पुगेन भन्ने होला । त्यो हामीले थाहा पाउन सकेका छैनौं । 

अन्तिममा  आम बज्रवाराही वाशीलाई के आग्रह गर्नुहुन्छ ?

बज्रवाराहीलाई शैक्षिक नगरीका रुपमा विकाश गर्ने हाम्रो अभियान हो । यो महायज्ञमा हामीले धेरै क्षेत्रका मान्छेहरुलाई बज्रवाराही आउनका लागि आव्हान गरेका छौं । 

थाहा नगरपालिका पर्यटकीय हिसाबले विशेष महत्व राख्ने क्षेत्र भएकाले पनि धेरै भन्दा धेरै मान्छेहरुलाई बज्रवाराहीमा उपस्थित गराउन सक्यौं भने शैक्षिक पर्यटनको विकाश हुन्छ । 

हाम्रा नेपालीहरु कोही देहरादुन गएर पढ्ने, कोही दार्जिलिङ गएर पढ्ने काम भइरहेको छ । त्यसलाई रोकेर बज्रवाराहीमा ल्याउन सक्ने काम यस महायज्ञबाट सुरुवात गर्नुपर्छ । 

त्यसैले सबैलाई एकदिन बज्रवारही आइदिनुस्, यहाँको वातावरणलाई हेरिदिनुस्,सक्दो सहयोग गर्नुस्, सक्नुभएन भने हेरेर गएर अर्को साथीभाईलाई सहयोगका लागि प्रेरीत गरिदिनुस् भन्न चाहन्छु । 




0 comments

Write Down Your Responses