Powered by Blogger.
टिष्टुङ–बज्रवाराहीको शैक्षिक तथा धार्मिक महोत्सवमा यस कारण सघाउनु पर्छ !

राजन बिडारी
जननी जन्म भूमिश्च, स्वर्गादपि गरीयसीः भनिन्छ, जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा पनि महान छ । हो, त्यही जन्मभूमिले आज हामीलाई पुकार्दै छ कि, ‘हे प्यारा सन्तान हो, आउ केही गर’ । र यो अनुनय आज भन्दा ठीक ६२ वर्ष अघि स्थापना भएको माता सरस्वतीको मन्दिर अर्थात बज्रबाराही उच्च मा.वि.को हो । यो त्यही विद्यालय हो, जहाँबाट आज सम्म हज्जारौ दिक्षित भए । अनि त्यही शिक्षाको जगमा विभिन्न पेशा र कर्म अगाल्दै देश विदेशमा वसी आ–आफ्ना भविश्यको सपना बुनिरहेछन । 

नेपालको शैक्षिक विकासको घटनाक्रम हेर्दा बज्रबाराही उच्च माध्यामिक विद्यालयको इतिहास पुरानै मान्नु पर्छ । वि.सं. २०११ मा प्रा.वि. तह सञ्चालनको अनुमती प्राप्त गरेको विद्यालयले १४ वर्ष पछि मात्र अर्थात वि.सं. २०२५ मा प्रा.वि. तहको स्वीकृती पायो । यसै गरी क्रमशः वि.सं. २०२८ मा नि.मा.वि. तहको स्वीकृती र वि.सं. २०४५ मा मा.वि. सञ्चालनको अनुमती प्राप्त ग¥यो । माध्यामिक तह सञ्चालन हुँदा सम्म नि.मा.वि. तहकै संरचनामा सञ्चालित यस विद्यालयले वि.सं. २०६४ मा उच्च मा.वि. सञ्चालनका लागि सम्बन्धन प्राप्त गरे पश्चात पुनः पहिले कै स्थान अर्थात हालको उच्च मा.वि. रहेको स्थान मै अध्यापन गराउदै आएको छ । 

तर ०७२ को भूकम्पको असरका कारण हालको संरचना खल्बल्एिको छ । ऐतिहासिक नगरी टिष्टुङ्गमा माता बज्रबाराहीको नाममा रहेको एक मात्र उच्च मा.वि. अब समयको माग र स्थानीय अपरिहार्यता अनुरुप नव निर्माण सहित तल्ला उक्लने जमर्कोमा छ । यही उद्देश्यका साथ विद्यालयमा भने पौष १५ देखि २२ सम्म धार्मीक तथा शैक्षिक महाअभियान चल्दै छ । अनि साथ खोज्दैछ उनै सन्तानको, जो यही ज्ञानरुपी मन्दिरबाट शिक्षित एवं दिक्षित भइ विभिन्न स्थान र कर्ममा छरिएर रहेका छन । 

नेपालको सन्दर्भमा उच्च शिक्षा स्थानीय तह मै उपलब्ध हुनुलाई अझै सम्म अवसर कै रुपमा लिनु पर्छ र त्यही प्रयास हुदैछ, बज्रबाराहीमा । हालको १२ कक्षा सम्मको अध्यापनलाई विद्यालय तह मान्ने नेपाल सरकारको शिक्षा नीति अनुरुप अब पनि स्नातक तहका निमित्त पहल नगर्ने हो भने पुन मा.वि. कै तहमा खुम्चिन बाध्य हुन्छ, यस नगरीको शिक्षा प्रणाली । 

राजधानी नजिकको यो भुगोलमा शिक्षाको गिर्दो हविगत कायम रहनु लज्जा कै विषय बन्नु पर्छ, हाम्रा लागि । अर्कोतीर महँगो शहरमा वसी चर्को शुल्क तिर्दै उच्च शिक्षा लिने रहर पनि अब कठिन हुदै गएको छ । अतः घरकै मिठो मसिनो खाइ आफ्नै निगरानीमा सन्तानले उच्च शिक्षा लिन सक्ने जुन अवसर हाम्रा सम्मुख खडा छ, त्यसको उपयोग किन नगर्ने ? 

घर पहिलो पाठशाला अनि विद्यालय दोस्रो घर हो, प्रत्येक मानवका लागि । अनि प्रत्येक सन्तानका पहिलो गुरु स्वयं उनका अभिभावक हुन भने दोस्रो अभिभावक विद्यालयका शिक्षक वर्ग । यसरी घर र विद्यालयका बीच नङ्ग र मासुको झै नजिकको सम्बन्ध छ ।

 ज्ञानरुपी शिक्षा मै ब्यक्ति फक्रिन्छ, फुल्छ, फल्छ र फैलिन्छ । शिक्षा नै एक मात्र यस्तो तत्व हो, जस्ले ब्यक्तिलाई उजिल्याउँछ, गति दिन्छ र गरिखाने मार्ग पहिल्याउन सघाउँछ । सही शिक्षाले मानव विकासको अवसर, सम्भावना, विकास र नव सृजनाको मार्ग मात्र खोल्दैन अपितु समग्र समाजको प्रतिष्ठा बढाउँदछ । 

र त ज्ञानरुपी गंगामा प्रत्येक मानव तोतेवोली वोल्दै गरेको उमेर मै अग्रजको औलो समाती प्रवेश गर्दछ र वाँकी जीवनका लागि लायक बन्न सक्छु भनी विश्वास राख्दछ । आज त्यही जन्म भूमिमा शिक्षालय रुपी दोस्रो घर निमार्णको आधार तयार हुदैछ त, किन नसघाउने ?

भोलीको थाहानगरको केन्द्र भागमा बज्रबाराही नै पर्न आउँछ । भौगोलिक वनावट कै कारण पनि अहिल्यै कतिपय वरपरका वस्तिका लागि केन्द्रविन्दु बनेको छ । दुरदराजका कतिपय वस्तिमा शिक्षाको संरचना अनि गुणस्तर दुबै हिसावले गुणात्मक फड्को मारिसके र पनि राजधानी नजिकको हाम्रो जन्मभूमिमा झन्डै शैक्षिक सुन्यता के हामी सहन गर्न सक्छौ ? भविश्यको सक्षम पुस्ता तयार गर्न ज्ञानको मन्दिर जो निर्माण हुदैछ, यस सुखद क्षणमा वाद, दल र राजनीतिलाई पन्छाउदै अघि बढौं । र यसै धार्मीक एवं शैक्षिक मेला मार्फत सन्देश दिऔ कि कम्तिमा शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा राजनीति गरिदैन । 

महाअभियानमा सहयोगी हातहरु बढाउने अनेक बाटाहरु छन । हामी तन, मन, धन, बचन र कर्म आदीका माध्यमबाट दानको गंगामा डुबुल्की मार्न सक्छौं । मुख्यत अर्थ संकलन कै अपेक्षा हो । अतः ५ करोडै त के उठ्ला भनि नदरअन्दाज गर्नु भन्दा सबैले चाहेमा १० औं करोड उठ्न सक्छ भनी विश्वास राख्नु जरुरी छ । 

‘खोलो त¥यो, लौरो विस्र्यो’ को स्थितीमा नगैकन यस विद्यालयको आँगन टेकी जीवनको उकाली चढेका विशिष्ट महानुभावहरु देखि विभिन्न तहका सज्जन दानवीर महानुभावहरुले मन खुल्ला गरी हात बढाउने हो भने लक्ष्य टाढा छैन । भएको कमाइ दिगो राख्ने हो भने सयमा दश दान गर्नु पर्छ भन्ने शास्त्र मै वर्णित छ । थोपा थोपा संकलन गरे घैला भरिन्छ भन्ने उक्ति होइन, यर्थाथ हो । 

अरुले कती गर्ला हेरौ, अनि गरौला भन्दा पनि हैयिसत र योजना अनुरुप थोपा, कुरुवा, माना, लिटर, पाथी, कुलेसो, खोला, नदी वा सागर के कती दान दिन सकिन्छ आफु तयार भइ अरुलाई उत्साहित गर्नु नै सज्जन दानवीरको कर्तब्य हो । धर्तीमाताले याचना गरेको समयमा नगरे कहिले गर्ने ? मैले नगरे, कल्ले गर्ने र यहाँ नगरे, कहाँ गर्ने ? 
अस्तु

(बिडारी जीवन उपयोगी शिक्षामा आधारीत क्षमता अभिबृद्धी मासिक अतिरीक्त कक्षा, स्वयंसेवी शैक्षिक अभियानका संस्थापक एवं अभियन्ता हुनुहुन्छ ।)




0 comments

Write Down Your Responses

pfizer vaccine