bank

BANK





Powered by Blogger.
शैक्षिक धार्मिक महोत्सवः होस्टेमा हैंसे किन नगर्ने ?

वैकुण्ठ ढकाल
यो धर्ती र यो समाजमा हामी धेरै मानिस छौं । फरक फरक प्रबृति स्वभाव हाम्रो मानवीय गुण हो ।  हामी मध्ये कति स्वभावैले आशाबादी मानिस छौं । कति स्वभावैले निराशाबादी । कसैको प्रवृति हरेक कुरालाई सकारात्मक दृष्टिबाट हेर्नेछ, कसैको नकारात्मक दृष्टिबाट । गिलास उही हो, पानी उही हो, कोही गिलास आदि खाली छ भन्छन् कोही, गिलास आधा भरी । हेर्ने दृष्टि हो –जुन एक दिनमा बनेको हुँदैन । यो केवल छालाको आँखा –अर्थात चर्म चक्षुले मात्र देख्न सक्दैन ।

नयाँ शुरुवातको पहिलो दिन तपाई आफु र आफ्नो जीवनलाइ कसरी हेर्नु हुन्छ ? यो देश, यो समाज, आफ्नो पेसा, ब्यबसाय, समग्र परिवेश र आफु बाँचिरहेको वाताबरणलाई कसरी हेर्नु हुन्छ ? 

धेरै मानिस सधै जसो र केही मानिस कहिले काहीं आफुलाई केन्द्र बनाएर सोच्ने गर्दछन् ।आफ्नो स्वार्थ, आफ्नो परिबेश र आफ्ना बिचारहरुलाई एक मात्र अन्तिम सत्य ठान्ने गर्दछन् । यो प्रवृतिले लोभ, पाप र मोह जन्माउँछ । लोभले लाभ, लाभले बिलाप भन्ने त हाम्रो उखानै छ । 

बज्रबाराहीलाई नमूना बिद्यालय बनाउने भनेर शैक्षिक तथा धार्मिक महोत्सब छ । द्रष्टा, दृष्टि र दृष्टिकोण फरक फरक हुने नै भए । अब त्यसरी हैन, द्रष्ट र दृष्टि फरक भए पनि दृष्टिकोण एउटै बनाउँ । अर्थात महोत्सब सबैको हो भनौं, सफल बनाउन एक भएर लागौं । 

बज्रबाराही नमुना बिद्यालय भएर कसैलाई पनि नोक्सानी हुँदैन । सबैलाई नाफा हुन्छ । बज्रबाराही नमुना बिद्यालय हुँदा मेरो ब्यापार सुक्छ भन्ने वरपरका शैक्षिक बणिजहरुलाई लागेका होला । तर त्यसो हुँदै होइन । बजार हेर्नुभयो भने जहाँ पसल धेरै हुन्छ, त्यहाँ चाप बढि भएकै छ । धेरैमा पहिलो हुने प्रयास गर्दा त हो बिकास हुने । एक्लै दौडिँदा त सधैं तपाई पहिलो नै हुने हो । तर पछाडि कोही नभएपछि तपाईं अन्तिम भएको पनि त हो नि आखिर । 

पुस महिना थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्म महिना पनि हो । शिक्षाको अभियन्ता पनि हो । राष्ट्रिय ब्यक्तित्व पनि बने, घमण्डी बहुला, सन्की के के बिल्ला पाए । तै पनि आफूलाई लागेको गरी छाडे । 

अहिले पनि यस्तै ‘बहुला’हरु चाहिएको छ । आफ्नै गाउँमा बिद्यालय खोल्ने, कलेज खोल्ने, आफ्नो क्षेत्रको बिकास गर्ने । अरुको मुख ताकेर हैन, आफ्नै पाखुरा खियाएर, आफैं सहभागी भएर । 

बिष्टकै अग्रसरतामा हो, पालुङको जनकल्याण माबि बनेको, विकास घर बनेको । संयुक्त आर्थिक बिकास समिति बनेको । महिला, बालबालिकाले पढ्नु पर्छ भन्ने वाताबरण बनेको । पढाउनु पर्छ भनेर लागिएको । 

गएको शुक्रबार शैक्षिक, धार्मिक महोत्सबको उद्घाटन शत्रको प्रमुख आतिथ्यता ग्रहण गरिदिनका लागि यो पंक्तिकार सहित आयोजकको एक समूह उपराष्ट्रपति कार्यालयमा पुग्यो, कुराकानी सकारात्मक नै भयो । तर समय र स्वास्थ्यका कारणले सहभागि हुन नसक्ने जानकारी पर्सिपल्ट अर्थात आइतबार पाइयो । 

उपराष्ट्रपति नन्दबहादुर पुनबाट दाताहरुले बिद्यालय बनाईदिईरहेका छन् । किन दुःख बिसाउनु हुन्छ भन्ने आशयका साथ कुरा गर्नुभयो ।  पंक्तिकारले त्यसको प्रतिबाद गर्दै भन्यो– ‘हो दाता प्रशस्त भेटिन्छ, भूकम्पले भबन भत्काएर बिद्यार्थीको बिचल्ली भएका बेला आँ गरेर पुग्ने धेरै हुन्थे, तर त्यहाँ स्वामित्व भाब हुने थिएन, अपनत्व हुने थिएन, फलानाले बनाईदिएको त हो नि भन्ने हून्थ्यो ।’

बज्रबाराही एक भएर उठेको छ, नमूना बिद्यालय बनाउन । होस्टे गरेको ठाउँमा हैंसे गर्न किन आनाकानी गर्नु ? आयोजक समिति लागेको छ, पूर्बबिद्यार्थीहरु लागेका छन्, अभिभाबकहरु लागेका छन् । 

सबै राजनीतिक दलहरुले सहयोग गर्ने भनेर लिखित प्रतिबद्धता जनाएका छन् । बिभिन्न संघसंस्थाहरुले पनि प्रतिबद्धता र आश्वासनहरु दिएका छन् । यत्ति हुँद हुँदै पनि आखिरमा गर्ने हामीले नै हो । आफ्नो ठाउँ आफैंले बनाउने हो । केहि सेवा सुबिधा छैन, शिक्षण संस्था छैन, उद्योग, रोजगारी, ब्यबसाय छैन भनेर गाउँबाट पलायन भएर नजिक शहर, मुग्लान, अरब, अमेरिका वा युरोप भासिएर कसैलाई पनि शुख छैन । 

जहाँ गए पनि आफू जन्मेको माटोको सुगन्ध कहिं गएर पनि पाँईंदैन । स्वदेश बिदेश जहाँ गए पनि गाउँ फर्केर गाउँ बनाउनै  पर्छ । नून दिन सक्नेले नून, सुन सक्नेले सुनै दिएर सहयोग गर्ने हो । श्रम सक्नेले श्रम दिने, सीप हुनेले सीप दिने । केहि नसक्नेहरुले ‘मुख’ मात्रै दिए पनि हुन्छ । अर्थात शैक्षिक धार्मिक महोत्सबका सहभागी भएर योगदान दिन आव्हान गर्ने हो  । 

सहयोग गर्न चाहने तर ठाउँ नपाईरहेकाहरुलाई ठाउँ देखाई दिने हो । शिक्षा र छोराछोरीमा गरिएको लगानी खेर जाँदैन भन्ने त पहिल्यदेखि नै सुनि आएकै हो । तन, मन, धन दिँदा कुनै नोक्सानी छैन । 

हो, काम गर्दै जाँदा कमिकमजोरी हुन्छन् । आयोजकले सबैसंग छलफल गरेनन् । सबैको राय लिएनन् । तपाँईलाई एक बचन सोधेनन् भन्ने लाग्न सक्छ । आफूले दिएको सहयोग ठीक ठाउँमा पर्छ पर्दैन भन्ने लाग्न सक्छ, दुरुपयोग वा हिनामिना हुन सक्छ भन्ने पनि लाग्दो हो । यी शंकैशंका पालेर अलिकत्ति पनि सहयोग नगर्नेहरुलाई त यी शंका गर्ने अधिकार पनि नहोला कि ? सबैले सहयोग गरौं, अनि खबरदारी पनि गरौं आयोजकलाई । कार्यक्रम सकिएपछि पाइपाइ हिसाब गरौं । ¥याख¥याख्ती पारौं, अहिलेचाहिं सहभागी होऔं, सहयोग गरौं, कार्यक्रम सफल बनाउन वाताबरण बनाउन लागौं ।

पछिल्लो पटक सहि नेता, राम्रो सरकार र देशका निम्ति मात्र सोच्ने परिपाटी पाएपछिका देशहरुलाई हेरौं । छोटै समयमा अकल्पनीय परिवर्तन हुने रहेछ । दक्षिण कोरिया, थाइल्याण्ड, ताइवान, मलेसिया कुनै समयका उदाहरण थिए । 

यस बेला भियतनाम, घाना, बंगलादेश र ल्याटिन अमेरिकी मुलुकहरुले १०÷१५ बर्षको छोटो समयमा नै पचासौं बर्षको निराशालाई आशा र उमङगमा फेरि पुर्नताजगी दिएका छन् । देशले गति समातेपछि त्यो परिबर्तनले समाजलाई परिबर्तन गराउँछ र त्यसको राम्रो प्रभाव हाम्रो जिवनमा पनि पर्छ–पर्छ ।

त्यो दिन –त्यो राम्रो दिन नेपालमा पनि आउँछ– आउँछ । त्यो हामी आफैंले बनाउने हो । आफूलाई, आफ्नो ठाउँलाई हामी आफैंले बनाउने हो । कतैबाट कोही आउँछ र बनाईदिन्छ भनेर बन्ने हैन । 

(ढकाल नेपाल एफएमका समाचार प्रमुख तथा प्रचार उपसमिति सदस्य हुन् ।)

0 comments

Write Down Your Responses