Powered by Blogger.
मकवानपुरको विकट बसामाडी बाँसघारीमा पक्की भवन निर्माण गरी बिद्यालयलाई हस्तान्तर

मकवानपुर,६ पौष ÷ दक्षिण कोरियामा रहेको विभिन्न संघसंस्थाको आर्थिक सहयोग तथा बस्तीपुर जेसीज हाँडीखोलाको समन्वयमा मकवानपुरको विकट बसामाडी बाँसघारीमा निर्माण भएको दुईकोठे पक्की भवन बिद्यालयलाई हस्तान्तर गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कालिका आधारभूत विद्यालयलाई भवन हस्तान्तरण गरिएको हो ।

 सपोर्ट नेपाल फाउण्डेसन दक्षिण कोरिया, एक्टिभ यूथ ग्रुप दक्षिण कोरिया, एसियन फोरम नेपाल र योङ स्टार ग्रुप दक्षिण कोरियाको १२ लाख ९८ हजार २ सय रुपियाँ सहयोगमा विद्यालयको लागि दुई कोठे भवन निर्माण भएको हो । सहयोगी संस्थाका प्रतिनिधी र समन्वयकर्ता जेसीजका प्रतिनिधीले संयुक्त रुपमा रिबन काट्दै नव निर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

 सपोर्ट नेपाल फाउण्डेसनका कार्यकारी निर्देशक यज्ञराज सुवेदीले आफूहरुले नेपालको विभिन्न स्थानको भूकम्प पीडित बिद्यालयमा सहयोग गरेको जानकारी दिंदै अन्तको तुलनामा यहाँ छिट्टै उत्कृष्ट काम भएको जानकारी दिए । ‘बस्तीपुर जेसीजको समन्वयकारी भूमिकाको कारण पनि यहाँ हामीले सोचे भन्दा राम्रो काम भएको पाएका छौं’, उनले थपे, ‘२ वटा पक्की कोठा बनायौं, यस बिद्यालयलाई आवश्यक शैक्षिक सामग्री एवम् अन्य सामग्रीको लागि पनि सहयोग गर्नेछौं ।’ 

यस्तै एसियन फोरम नेपालका कार्यकारी निर्देशक सिद्धी बरालले कामदारको रुपमा विदेश गएका नेपालीहरुले यहाँको बिद्यालयको लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै मकवानपुरको विकासको निम्ति यहाँकै युवाहरुको चासो हुनुपर्ने बताए । भवन निर्माणको समन्वय गरेको बस्तीपुर जेसीजका सन् २०१६ का अध्यक्ष विनोद बर्तौलाले सामाजिक कार्यमा क्रियाशील जेसीजले विद्यालयको भवन निर्माणमा समन्वय गर्न पाएकोमा खुसी लागेको बताए ।

 ‘सन् २०१७ को लागि नयाँ नेतृत्व चयन भैसकेको छ । उक्त नेतृत्वले पनि यस क्षेत्रको समस्या समाधानमा पक्कै सहयोग गर्ने नै छ’, उनले भने, ‘हामी सपोर्ट नेपाल फाउण्डेसन, एक्टिभ यूथ ग्रुप, एसियन फोरम नेपाल र योङ स्टार ग्रुप संस्थासंग आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेका छौं ।’ विद्यालयका अध्यक्ष प्रताप थिङले अधिकांश तामाङ समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयलाई भूकम्पले क्षति पु¥याएकोमा विभिन्न संस्थाको सहयोगले २ कोठे पक्की भवन निर्माण गरेर अध्यापनमा थप सहज बनाएको बताए । 
भवन हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापा, अरनिको निमाबिका प्रधानाध्यापक मधुसुधन यादव, एक्टिभ यूथ ग्रुपका आङदोर्जे शेर्पालगायतले भवन निर्माण पश्चात पठनपाठनमा थप सहजता हुने विश्वास व्यक्त गरे । आफू गाविस सचिवको रुपमा कार्यरत रहँदा बिद्यालयको अवस्थाको बिषयमा बुझ्ने मौका पाएको भन्दै बस्तीपुर जेसीज पूर्व अध्यक्ष बसन्तकुमार सिटौलाले बस्तीपुर निवासी तेजराज उप्रेती (रमेश) को समन्वयमा बिद्यालयको लागि सहयोग जुटेको जानकारी दिए ।

0 comments

Write Down Your Responses