Powered by Blogger.
संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न जोड

हेटौडा,  १४ माघ ।  रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आफ्नो सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने क्रममा आज संविधानमा महिलाका सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले समुदायसँगको प्रत्यक्ष अन्तरक्रियाका क्रममा हेटौँडा—२२ स्थित हटियामा रहेको शुभकामना महिला जागृती बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरुसंग संविधानमा महिलाका विषयमा समेटिएका विषयहरुमा अन्तरक्रिया गरेको हो । 

कार्यक्रममा महिलाहरुले समाजमा महिलामाथिको विभेद कायमै रहेको भन्दै संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न जोड दिएका थिए । कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी मोक्तानले संविधानमा उल्लेख भएको महिला अधिकारकारका बारेमा जानकारी गराउनुभएको थियो । 

रेडियोका संचालक समितीका अध्यक्ष एवं प्रमुख अतिथी आनन्दराम पराजुलीले राज्यका प्रमुख निकायमा महिलाको सहभागिता देखिएपनि त्यसलाई पूर्ण मान्न नसकिने भन्दै हरेक निकायमा सहभागिता लागि अहिलेदेखि नै लाग्नुपर्ने बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष शान्ता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका स्टेशन संयोजक राममणि दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । 

भोलि माघ १५ गते रेडियोमा साहित्यकारहरुसँग समकालीन साहित्यमा गणतान्त्रिक चेत विषयक अन्तरक्रिया गर्दै छ । यही माघ १६ गते हेटौँडा—३ स्थित एमसी बेनक्विटमा कार्यक्रम आयोजना गरी आर्थिक—सामाजिक क्षेत्रमा जिल्लामा महत्वपूर्ण योगदान गर्ने एकजना पुरुष र एकजना महिलालाई सामुदायिक सम्मान प्रदान गरिने भएको छ । साथै वार्षिकोत्सवका अवसरमा निजामति महिला कर्मचारी र महिला पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल हुँदै छ । 

महिला तथा बालबालिका कार्यालयसँगको संयोजनमा हुने फुटसल हेटौँडा—४ कमलडाँडास्थित हेटौँडा फुटसलमा माघ १८ गते दिउँसो १ वजे हुने छ । रेडियोले सामुदायिक सम्मानलगायतका कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्ने छ ।

0 comments

Write Down Your Responses