Powered by Blogger.
चोभारमा संगितकर्मिको भव्य जमघट


काठमाडौं, १७ फागुन । ‘हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापना भएको राष्ट्रिय संगीतकर्मी संघले राजधानीको चोभारमा बृहत् बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्यो । 

कलाकारिता क्षेत्रसँग आबद्ध तीन सयभन्दा बढी व्यक्तिको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार जयनन्द लामाले संस्था आफैंमा सानो वा ठूलोभन्दा पनि त्यसको उद्देश्य के हो भन्नेचाहिँ मुख्य पक्ष रहने बताउनुभयो ।

उहाँले विश्वमा नै नेपाली संगीतको छुट्टै पहिचान रहेको बताउनुहुँदै संगीतकार तथा कलाकारको हितका लागि बोल्ने हामी आफूले आफैंलाई चिन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘¥याप र अन्ताक्षरी हाम्रो संगीत होइन’ उहाँले भन्नुभयो– ‘यस्ता विकृति भित्रिएमा सुधार्नु–सुधारिनुपर्छ, कला र कलाकारलाई कसरी संरक्षण गर्ने भनेर राज्यले पनि ध्यान दिनुपर्छ ।’ 

कार्यक्रमका सभापति तथा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले लोकसंस्कृतिलाई माया गर्न सबैमा आग्रह गर्नुहुँदै संघका अगाडि हाल धेरैखाले चुनौती आइपरेका र केहीको सामना पनि गरिएको जिकिर गर्नुभयो । 
उहाँले आगामी वैशाखमा संघले राजधानीको भृकुटीमण्डपमा दशौं हजार कलाकार उतार्ने दाबी गर्नुभयो । घोरासैनीले कार्यविभाजनसहित विभिन्न जिल्ला शाखा गठनका लागि प्रतिनिधि पनि तोक्नुभयो । 

सो अवसरमा संघका सचिव एवं कार्यक्रमका संयोजक चन्द्र खड्काले संस्थाको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने रणनीतिबारे जानकारी दिनुभयो । त्यसैगरी संघका सल्लाहकार रामप्रसाद कँडेल, निवर्तमान अध्यक्ष रेशम थापा, वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, प्रथम उपाध्यक्ष राजेन्द्रकुमार कार्की, महासचिव श्यामसुन्दर धिताल, वरिष्ठ लोकगायक विष्णु खत्रीलगायतले कलाकारिता गरेर बाँच्न सक्ने वातावरण बनाउन राज्यसँग माग गर्नुहुँदै पाइरेसी बढेकोमा कडा आपत्ति जनाए  ।

वरिष्ठ कलाकारहरूको पनि उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा श्रीदेवी देवकोटा र प्रकाश कटवालले ‘तिम्रो घरमा आजैबाट चोर बिरालो पल्क्यो, वसन्ती सुनुवारले ‘लाहुरे म त बसाइ छ छाउनीमा.’, कैलाश आलेमगरले ‘सालीज्यु.’, उद्धव घिमिरेले ‘मरेपछिको सम्मान‘’, सरोज लामिछानेले ‘सानुमाया हाँसेर बोल न‘’ मदन थापाले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले.’ जस्ता बोलको गीतबाट पूरापूर मनोरञ्जन दिए ।





0 comments

Write Down Your Responses