Powered by Blogger.
किन स्ववियु र कस्तो स्ववियु ?

अशोक थापा 
विद्यार्थी आन्दोलन, स्ववियु निर्वाचन र शैक्षिक गुणस्तरकाबीच आपसमा अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ । तर जयतु संस्कृतमको नाराबाट सुरुभएको नेपाली विद्यार्थी आन्दोलनमा यतिबेला ती एजेण्डाहरुले महत्व पाएका छैनन् । 

विद्यार्थी आन्दोलनको सुत्रपात गर्दा त्यसमा शैक्षिक गुणस्तर अझ भनौं शैक्षिक मुद्दाको परिकल्पना पनि गरिएको थियो । जहाँनिया राणा शासनको अन्त्य गर्नु त्यसको मुल ध्येय थियो । अर्थात विद्यार्थी आन्दोलनको सुरुवात राजनीतिक उद्देश्य प्राप्तीका लागि भएको थियो । 

जसमा शैक्षिक एजेण्डाले पनि उच्च प्राथमिकता पाएका थिए । त्यसकै बलमा नेपाली जनताले २००७ सालमा प्रजातन्त्र नामको उपलब्धि पाए । २०१७ सालमा महेन्द्रले कु गरेर प्रजातन्त्रको चिरहरण गरेपछि पुनः विद्यार्थी आन्दोलन सुरु भयो । त्यसले विश्वविद्यालय र क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिकल्पना गर्यो । 

पञ्चायती शासकहरुको अनिच्छाका वाबजुद विद्यार्थी संगठनहरुले क्याम्पसहरुमा स्ववियु निर्वाचन गरे । विस्तारै त्यसलाई विश्वविद्यालयले मान्यता थियो । स्ववियु मार्फत निरंकुश पञ्चायत शासनका क्रममा पनि स्ववियुको मञ्च प्रयोग गर्दै प्रजातन्त्रको अभ्यास गरियो ।

प्रजातन्त्र पुनः प्राप्तिको आन्दोलनको तयारीका लागि स्ववियुको मञ्चलाई नै प्रयोग गरियो । राजनीतिक दलहरु प्रतिबन्धित रहेकाले स्ववियुकै मञ्च मार्फत दलीय गतिबिधीहरु सञ्चालन गरिए । अर्थात स्वतन्त्र विद्यार्थी युनियनको परिकल्पना र गठन राजनीतिक तथा शैक्षिक उद्देश्य प्राप्तीका लागि थियो । स्ववियु मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने भन्दा पनि राजनीतिक स्वतन्त्रता प्राप्तीको उद्देश्यमै त्यो सिमित थियो । तर त्यसको जग भने शैक्षिक उन्नयन पनि थियो नै ।

ज्ञानेन्द्र शाहले कु गर्दा पनि त्यसका विरुद्ध स्वतन्त्र विद्यार्थी युनियनको मञ्च मार्फत नै त्यसको बिरोध सुरु भएको थियो ।विद्यार्थी आन्दोलनको प्रादुर्भाव र स्ववियुको गठन तथा निरन्तरतासँग शैक्षिक मुद्दाको अन्योन्याश्रित सम्बन्ध छ । ईतिहासका हरेक पाना पल्टाउँदा विद्यार्थी आन्दोलन र स्ववियुहरु राजनीतिक मञ्च र शैक्षिक एजेण्डा उठानका केन्द्रका रुपमा उपयोग हुँदै आएका छन् । यद्यपी यसले अपेक्षाकृत रुपमा शैक्षिक एजेण्डालाई कार्यान्वयन गराउन  भने चुकिरहेको अवस्था थियो । 

अहिले विद्यार्थी राजनीतिकै कारण सरकारी क्याम्पसहरुमा शैक्षिक गुणस्तर खस्किएको आरोप समेत लाग्दै आएको छ । स्ववियुलाई सत्ताका रुपमा प्रयोग गरिएको, चरम आर्थिक अनियमिता हुने गरेको लगायतका संंगिन आरोपबाट स्ववियु मुक्त हुन सकेको छैन । विद्यार्थी संगठनहरु भन्ने बित्तिकै ह््येय भावले हेर्ने परिपाटीको विकास भैरहेको छ ।

 इतिहासमा शैक्षिक एजेण्डालाई मुल मन्त्र नबनाएकोे स्ववियुले यसपालीको निर्वाचन मार्फत नयाँ इतिहासको सुत्रपात गर्नु आवश्यक छ । शिक्षामा कसरी गुणस्तर भर्न सकिन्छ ? शिक्षामा कसरी माटो सुहाउने ज्ञान भर्न सकिन्छ ? कसरी विश्व बजारमा बिक्न सक्ने बनाउन सकिन्छ ? कसरी हाम्रो शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्न सकिन्छ ? भनेर स्ववियु निर्वाचनपूर्व नै ठोस बहस चलाउनु आवश्यक छ । 

राजनीतिक आन्दोलनका क्रमहरु करिब करिब समाप्त भएकाले पनि अब विद्यार्थी संगठन र स्ववियुका मञ्चहरुले इतिहासमा कहिल्यै नगरेको काम गर्नु आवश्यक छ । सधैं पार्टीको झण्डा बोक्ने, राजनीतिक गलफत्ति गर्नेहरुले अब शिक्षामा प्राण भर्ने योजना अघि सार्नु आवश्यक छ ।

स्ववियुको असली पुनः संरचना गर्नुपर्छ । त्रिभुवन विश्वविद्यालयको शाख जोगाउन र सरकारी क्याम्पसहरु प्रति विद्यार्थीहरुको आकर्षण बढाउनका लागि स्ववियुको मञ्चले अधिकतम काम गर्न सक्छ र गर्नु पनि पर्छ । क्रमशः धरासायी बन्दै गएका सरकारी शैक्षिक सस्ंथाहरुको शसक्तिकरण र गुणस्तर अभिवृद्धिका लागि पनि युनियनले काम गर्नु पर्छ ।

सरकारी शैक्षिक संस्थाहरु धारासायी हुँदै जाने र निजी संस्थाहरु फस्टाउने परिपाटीको अन्त्य आवश्यक छ । सरकारी क्याम्पसका प्राध्यापकहरुले निजी कलेज सञ्चालन गरिरहेका छन् । सरकारी क्याम्पसको लोगो भजाएर आफ्नो व्यापार मात्रै फस्टाउन तल्लिन प्राध्यापकहरुमाथी स्ववियुले निगरानी गर्नुपर्छ । 

सुस्त प्रशासनलाई चुस्त दुरुस्त बनाउनु पर्छ । प्राथमिक तहदेखि नै सरकारी शैक्षिक संस्थाहरुको गुणस्तर अभिवृद्धिका लागि विद्यार्थी संगठनहरुले गतिबिधी सञ्चालन गर्नु पर्छ । जहाँ शैक्षिक संस्था, त्यहाँ विद्यार्थी संगठन तथा स्ववियु अनि जहाँ विद्यार्थी संगठन र स्ववियु त्यहाँ गुणस्तरीय र सुलभ शिक्षा भन्ने नारा तय गरेर काम अघि बढाउनु पर्छ ।

खाली इतिहास भजाएर सुनौलो भविष्यको असम्भव कल्पनामा डुब्न छाडेर इतिहासको निर्मम समिक्षा मार्फत विद्यार्थी आन्दोलन अघि बढ्न सक्नु पर्छ । इतिहासमा पनि कहिल्यै नगरेको कामको बखान गर्न तत्कालै छाड्नु पर्छ । अब नयाँ शिराबाट गतिशिल विद्यार्थी आन्दोलन र शैक्षिक गुणस्तर अभिवृद्धिमा दिलोज्यान दिएर लागिपर्ने स्ववियुको संरचना निर्माण अपरिहार्य बनिसकेको छ ।

हामीले अब साँचो अर्थमा नयाँ स्ववियुको निर्माण गर्ने अभियान सञ्चालन गर्नु आवश्यक छ ।

(थापा अनेरास्ववियुका  केन्द्रिय सदस्य तथा रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु अध्यक्ष पदका प्रवल दावेदार हुन् ।)

0 comments

Write Down Your Responses