Powered by Blogger.
ठुला सञ्चारमाध्यम नै आचारसंहिता पालना नगर्न पत्रकारहरुलाई प्रोत्साहन गर्छन्

देवप्रकाश त्रिपाठी, वरिष्ठ पत्रकार एवं संस्थापक प्रधान सम्पादक, घटना र विचार साप्ताहिक

देवप्रकाश त्रिपाठी युवा तथा विद्यार्थी कालका केही अवधि नेपाली राजनीतिमा समेत समय गुजारेका नेपाली पत्रकारिता क्षेत्रका पुराना पत्रकार हुन् । राजनीतिक विश्लेषणमा धारिलो छुरा जस्तै तिखा तर व्यवहारमा शालिन र मिलनसार उनी छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष समेत हुन् ।

रेडियो नेपालबाट प्रशारण हुने चर्चित समाचारमुलक कार्यक्रम ‘घटना र विचार’ का एकताका प्रश्तोता समेत रहेका उनले सरकार परिवर्तनसंगै सो कार्यक्रमबाट बाहिरीनु परेपछि त्यही नामको पत्रिका दर्ता गरेर प्रकाशन सुरु गरे । 

विचारमुखी र विश्लेषणप्रदान घटना र विचार साप्ताहिकका संस्थापक प्रधान सम्पादक रहेका त्रिपाठीसंग दामन पोष्टले नेपाली पत्रकारितामा आचार संहिताको सन्दर्भ र त्यसको परिपालनामा देखिएको समस्याबारेमा कुराकानी गरेको छ । प्रश्तुत छ वरिष्ठ पत्रकार त्रिपाठीसंग गरिएको कुराकानी ः

पत्रकार आचारसंहिता कार्यान्वयनको अहिलेको अवस्था कस्तो पाउनु भएको छ ?

आचारसंहिता पत्रकारिताका लागि अत्यन्त महत्वपूर्ण कुरा हो । तर  नेपालमा आचारसंहिता पढेर पत्रकारिता गर्नेहरु त छँदै छैनन् ।  यसले एउटा पत्रकारलाई जिम्मेवार बनाउन मद्दत पु¥याँउछ । सकारात्मक कामको लागि प्रेरित गर्छ । आचारसंहिता भनेको वाश्तवमा आफैंमा एउटा मार्गदर्शन हो । तर नेपाली पत्रकारिताले आचारसंहिता पछ्याइरहेको जस्तो मलाई लाग्दैन । 

यस्तो किन भएको होला ?

त्यसका पछाडि केही कारण छन् । पत्रकारहरु चाँही आचारसंहिताको कार्यान्वयन गर्न चाहन्छन् । तर मिडीयामा जुन ढंगले ठुला लगानी भएका छन्, उनीहरुले त्यो पत्रकारलाई आचारसंहिता पालना गरेर बस्न दिँदैनन् । उनीहरुलाई आचारसंहिता पालना गर्न नदिएका उदाहरणहरु दर्जनौं छन् । 

तिनीहरुले कुनै एक व्यक्ति वा संस्था विरुद्ध तिन चार महिनासम्म लगातार समाचार प्रकाशन प्रशारण गरिरहेको भेटिन्छ । पत्रकारको आचारसंहिता भित्र एउटा व्यक्तिको पछाडि त्यसरी निरन्तर लेखिरहने कुरा पक्कै  पर्दैन । 

तर ठुला लगानीका सञ्चार माध्यमहरुमा त्यो रोग देखिन्छ ।  यस्ता प्रवृति एकपटक होइन पटक पटक दोहोरिएका छन् । अर्को कुरा समाचार लुकाउने कुरा पनि आचारसंहिता भित्र पर्दैन । तर त्यस्तो कुरा हाम्रो मिडीयाहरुले भोगेका छन् । उदाहरणका लागि एक जना वियर उत्पादक व्यापारी थिए राजेन्द्र खेतान भन्ने । तिनको अन्तशुल्क छलिएको केही ट्रकहरु राजश्व अनुसन्धान विभागले पक्राउ ग¥यो । 

तर त्यो समाचार कुनै पनि ठुला लगानीका सञ्चारमाध्यमहरुले प्रकाशन प्रशारण गरेनन् । विज्ञापनका लागि समाचार लुकाए । 

यसैले ठुला लगानीका सञ्चारमाध्यमहरु आचारसंहिता पालना नगर्नका लागि पत्रकारहरुलाई प्रोत्साहन गर्छन् या वाध्य बनाँउछन् । त्यसैले आचारसंहिता परिपालनाको विषय अलिकति संकटमा परेको देखिन्छ । 

त्यसो भए साना लगानी भएका सञ्चार माध्यम अलि बढी जिम्मेवार हुन्छन् भन्न खोज्नुभएको ?

पत्रकारहरु आफैंले चलाएका सञ्चारमाध्यमले भने आचारसंहिता केही हदसम्म लागु गर्न खोजेको देखिन्छ । त्यसबाहेक पत्रकारितालाई ‘ठगी खाने भाँडो’ बनाउन चाहनेहरुले पनि आचारसंहिता परिपालना नगर्ने, व्ल्याक मेलिङ गर्ने, बार्गेनिङ गर्ने, कोही मान्छेका विरुद्ध लगातार  समाचार प्रवाह गर्ने र निश्चीत विन्दुमा पुगेर उसंग सम्झौता नगरेसम्म त्यसका विरुद्ध कलम चलाइरहने काम भइरहेको छ । त्यसैले आचारसंहिताको राम्रो पालना भएजस्तो लाग्दैन । 

तपाँइले पत्रकारिता सुरु गर्दा र अहिलेको अवस्थामा आचारसंहिताको परिपालनाको अवस्थामा कस्तो भिन्नता पाउनु भएको छ ?

पहिले पत्रकारहरुको संख्या धेरै कम थियो । कुनै एउटा पत्रकार सम्मेलनमा जाँदा ६–७ जना भन्दा बढ्ता पत्रकार भेटिँदैनथे । हेर्दा हेर्दै आफ्नै जिवन कालमा पत्रकार सम्मेलन गर्दा विशाल हल चाहिने भयो । संख्यात्मक वृद्धि त्यो रुपमा भएर गयो । 

त्यसबेला पत्रकारले आफैंलाई संयमीत राख्ने काम अलि कम हुन्थ्यो । पार्टीहरु, ठुला ठुला सेमिनार र भोजभतेरहरुमा पत्रकारहरु बढी नै समय बस्ने गर्दा उनीहरुको छवि त्यति राम्रो बनेको थिएन । त्यस्तै स्रोत साधनको कमि थियो । त्यसबेला अहिलेको जस्तो प्राविधीक विकास पनि भएको थिएन । तर एउटा प्रतिवद्धता थियो । 

हामीले जनतालाई सहि सुचना दिनुपर्छ भन्ने आमप्रतिवद्धता भने बलियो ढंगले थियो । 

अहिले चाँही त्यस्तो प्रतिवद्धता कम हुँदै गएको हो र ?

अहिले पनि खासगरी नयाँ उत्पादन भएका पत्रकारहरुमा भने त्यो भावना प्रवल देखिन्छ । अहिले पत्रकारहरु सैद्धान्तिक छन् । उ बेला बढी अनुभवी र प्रयोगवादी तथा व्यवहारबाट अभ्यास गरेर खारिएका पत्रकार बढी सक्रिय थिए । 

अहिल नयाँ पुस्ताहरु बढी जसो सैद्धान्तिक ज्ञान हासिल गरेर पत्रकारिता क्षेत्रमा आएका व्यत्तिहरु हुनुहुन्छ । सैद्धान्तिक तरिकाले यो विाष्यलाइ बुझ्नु बाहेक कुनै पनि समाचार लेख्ने तरिका सिक्नु र समाचारको गहिराईसम्म पस्नु र त्यसको अन्तरवस्तु बुझेर लेख्ने गर्नु फरक फरक कुरा हो । त्यसैले यो पाटोमा नयाँ पुस्ताले अलि ध्यान दिनुपर्छ । 

नयाँ पुस्ताको अधिकांश मानिसहरु पत्रकारितालाई गलत रुपमा प्रयोग गरौं भन्ने चाँहदैनन् । त्यसकारण आचारसंहिता पालना गरौं भन्ने भावना नयाँ पुस्ताका धेरैजसो पत्रकारहरुमा देखिन्छ । 

नयाँ पुस्ताकालाई पनि आचारसंहिता प्रयोग गर्न नदिने व्यापारीहरु जो मिडीयामा लगानी गर्न आएका छन्, उनीहरुले समस्या बनाइरहेका छन् । 

साप्ताहिक पत्रिकाहरु बढी छाडा भए, जे पनि लेख्छन्, कडाइ भएन भन्ने कुरा चल्ने गर्छ , यसमा सहमत हुनुहुन्छ ?

नेपालको पत्रकारितामा साप्ताहिक पत्रिकाहरु धेरै लामो समयदेखि अभ्यासमा रहेको हुनाले तिनले छाडा पनि लेखे होलान्, केही कमजोरी पनि रहे होलान्, तत्कालिन अवस्था फरक पनि थियो । एकताका पत्रिका भनेकै साप्ताहिक मात्र हुन्छ भन्ने पनि थियो । दैनिक पत्रिकाको यस प्रकारको व्यवस्थित अभ्यास भएको त जम्मा दुई दशक न बित्यो । 

अर्को कुरा साप्ताहिक पत्रिका मात्र होइन, करोडौं लगानी गरेर निकालीएका दैनिक पत्रिकाहरु पनि छाडा भएको म देखिरहेको छु । कतिपय अनलाइनहरु पनि छाडा भएकै देख्छु । एफएमहरु पनि झनै छाडा भएको देख्छु । कतिपय अवस्थामा एफएमहरुले ‘लाठी लिएर फलानो जातीय समुदायका विरुद्ध उत्रनु प¥यो’ भनेर आव्हान गरेको पनि सुनियो । 

समग्र पत्रकारिता क्षेत्रमा भएको विकृति अन्तर्गत नै अहिले साप्ताहिक पत्रिकामा पनि केही त्रुटी त भएको होला । तर साप्ताहिक मात्र छाडा हुन् भन्न मिल्ने अवस्था पनि छैन । 

अहिले पहिले साप्ताहिकहरुले गर्ने खालको समाचार दैनिकहरुले प्रश्तुत गर्छन् । साप्ताहिक भन्दा पनि कतिपय दैनिहरुले बढी अराजकता निम्त्याइराखेको म देख्छु । 

साप्ताहिक पत्रकारितामा जनआस्था साप्ताहिक र श्रीषा कार्की आत्महत्या प्रकरणलाई कसरी लिनुभएको छ ?

श्रीषा कार्कीको त्यो तस्बिर नछापिएको भए राम्रो हुन्थ्यो । त्यसले आचारसंहिता पालना भएको देखाँउथ्यो । त्यो तस्बिर छापिइसकेपछि एउटा पत्रकारलाई दुख दिन जे जति काम भयो, त्यो पनि नाजायज हो । खासगरी ज्यानमुद्दा लगाउने सम्मको प्रयाश भयो । त्यो चाँही नाजायज काम थियो तर आचारसंहिताका दृष्टिकोणले त्यो तस्बिर छापिनु हुँदैनथ्यो भन्ने मेरो भनाई अहिले पनि छ । 

त्यस प्रकारको कुनै पनि सामग्री प्रकाशन प्रशारण हुनु हुँदैन । हो, यौनजन्य कुराहरु, माया प्रितीका कुराहरु लेखियो भने युवतीका कम भन्दा कम वस्त्र भएका तस्बिरहरु छापियो भने धेरै मान्छेको ध्यान खिच्न सकिन्छ । आफ्नो सञ्चार माध्यम चल्तिमा चाँडै आँउछ भन्ने थाहा छ ।  तर हामीले त्यस्तो चिजहरुलाई प्रोत्साहित गर्नु हुँदैन । 
हामीले समाजलाई शिक्षीत पार्ने, चेतना भर्ने र जानकारी दिने हो भने हामी अलि गम्भिर विषयहरुमा नै जानु पर्छ । त्यस्तो हल्का फुल्का विषयमा जानु हुँदैन । त्यस्तो विषय त अक्षर चिनेको खण्डमा गाइ भैंसीले पनि हेर्थे, पढ्थे । मलाई थाहा छ त्यो पनि ।  तर पशुले पनि रुचि राख्ने विषयहरुमा  हामीले पत्रकारिता गर्नुको अर्थ हुँदैन । तर त्यो श्रीषा प्रकरणमा चाँही त्यसबेला अखबारको आचारसंहिता उल्लंघन भयो कि भन्ने मलाई लाग्छ । 

तर त्यही निँउमा त्यसका सम्पादकलाई जसरी दुख दिइयो, त्यो अवाञ्छीत थियो । नाजायज थियो । 

साप्ताहिक पत्रिकाहरुमा आचारसंहिता पूर्ण कार्यान्वयन हुन गर्नुपर्ने कामहरु के के छन्, के सुझाव दिनुहुन्छ ?

आचारसंहिता पालनाको सन्दर्भमा केही समस्याहरु छन् । सबैभन्दा ठुलो समस्या त हामीले भोग्नु परिरहेको छ । कसैको बारेमा केही समाचार आयो भने उसको भनाई राख्नुपर्छ भन्ने छ । यो हाम्रो संहिताभित्र पर्ने कुरा हो । तर मैले करिव तिन दशक लामो पत्रकारितामा सबैभन्दा बढी समस्या झेल्नु परेको पनि यही बुँदामा छ ।  जब हामी कसैको बारेमा खासगरी नकारात्मक समाचार आयो भने सम्वन्धीत पक्षको पनि भनाई राख्नुपर्छ भनेर सम्पर्क गछौं । त्यसमा दुईवटा प्रतिक्रिया हुन्छ । 

एउटा,  बार्गेनिङ गर्न खोज्यो भन्ने अर्थ लगाएर प्रचार गरिन्छ, अर्को, त्यो समाचार रोक्न प्रयास हुने रहेछ । सबै प्रकारको शक्ति प्रयोग गरेर समाचार रोक्न प्रयत्न गर्ने । त्यो काम हुने रहेछ । मैले सबैभन्दा ठुलो समस्या त्यो बिन्दुमा देखेको छु ।

यसबाहेक अरु प्रकारका समस्याहरु पनि छन् । सानो लगानी हुने हुनाले जो जस्तो मान्छे पनि आएका छन् । अर्कै उद्देश्यले पत्रकारिता गर्न आउनेहरु पनि साप्ताहिकमा लगानी गरेर आएका छन् । त्यसो त, दैनिकमा चाँही यस्तो नभएको भन्ने होइन । उद्देश्य अर्कै छ, तर यसलाई ढाल बनाएर आफ्नो स्वार्थ रक्षा गर्ने प्रयाश भएको देखिन्छ । साप्ताहिकमा चाँही मानिसहरुसंग बढी बदलाको भावनाले अपुष्ट समाचारहरु लेख्ने चलन छ । 

जिम्मेवार हुनुपर्छ नी त एउटा सम्पादक । पत्रकार भनेको त समाजको जिम्मेवार मान्छे हो नी । उसले गलत सुचना जानाजान प्रकाशन–प्रशारण गर्न मिल्दैन । तर यहाँनेर स्रोत र साधनको कमिले गर्दा पुष्टी हुन बाँकी समाचारहरु पनि समाचार बनेर प्रकाशन हुने समस्या छ । यो पनि आचारसंहिताको प्रतिकुल व्यवहार हो । 



–त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागको एमए दोस्रो वर्षको पत्रकारिता विषयमा साप्ताहिक पत्रिकामा पत्रकार आचार संहिता कार्यान्वयनको अवस्था शिर्षकमा गरिएको शोध कार्यका लागि लिइएको अन्तरवार्ता



0 comments

Write Down Your Responses