Powered by Blogger.
नेताहरु, शासक–प्रशासकहरु सबै उतै बिकेका छन्

आनन्दराम पौडेल
हेटौंडा–११, नवलपुर निवासी, राजनीतिक विश्लेषक, स्तम्भकार, साहित्यकार श्री आनन्दराम पौडेलसँग  लिएको अन्तर्वार्ताः

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

अखबारी लेखन, साहित्य, टिप्पणिमै मेरो दिनचर्या व्यतित भैरहेछ ।

देशको परिस्थिति जटिल भन्दा झन् जटिल भैरहेछ । यसका कारणहरु के होलान् ?

यसमा दुइटा कारण छन् । पहिलो कारण चाहीं अगुवाहरु हुन् । राष्ट्रका अगुवाहरु र समाजका अगुवाहरुले बाटो छाडे । राज्यसञ्चालकहरुमा जिम्मेवारीवोध, जवाफदेहिता, पारदर्शिता छैन । सैद्धान्तिक आधारभूमिमा टेकेर लीकमा चल्दैनन्। इमानजमानको अभाव छ ।

 ढोंग, पाखण्ड, आडम्बर र डबल स्टाण्डर्ड नै जीवनशैलि बनेको छ । आत्मविश्वास हराएका हाम्रा नेताहरु आत्महीनताले ग्रस्त छन्। यही आत्महीनताले यिनीहरुलाइ विदेशी शक्तिकेन्द्रहरु समक्ष लम्पसार पर्न लगाउँछ । अहिलेको वर्तमान सरकारलाइ नै हेर्नुहोस् न, हामी सबैलाइ थाहा छ, यो दिल्लीले बनाइदिएको सरकार हो ।

दोश्रो कारणचाहीं हामी जनता आफैं हौं । राष्ट्रका र समाजका अगुवाहरु गलत बाटो पक्रेर विपरीत दिशातर्फ गएको देख्दादेख्दै पनि गलतलाइ गलत नभन्ने, अझ तिनैलाइ सम्मान गर्ने हामी जनता पनि राष्ट्र बिग्रनुको दोश्रो कारणमा पर्छौं। 

राजनीतिक, प्रशासनिक, लेखक, पत्रकार र नागरिक समाजका प्रभावशालि व्यक्तित्वहरु विदेशी शक्तिकेन्द्रहरु (इण्डो–वेष्ट गठबन्धन, आइएनजिओ) द्वारा पालितपोषित छन्। विश्वमा आजसम्म कहीं नदेखिएको विदेशीहरुको खुल्लेआम ठाडो हस्तक्षेप र नाङ्गो नाच यहाँ भैरहेछ। यस्तो खपिनसक्नु, घीनलाग्दो दृश्य हामीले टुलु–टुलु हेरिरहेछौ ं। हामीलाइ ऐया, आत्थो छैन । कुनै प्रतिकृया छैन।

यो राष्ट्र बिग्रनु र भत्कनुमा अगुवाहरु धेरै दोषी छन्, र जनता पनि दोषी छौं ।



यसलाइ सही बाटोमा ल्याउने राजनीतिक उपाय के हुनसक्छ ?

जहाँबाट बिग्रेको हो, त्यहींबाट सपार्नुपर्छ। माथि राष्ट्रको रोग डाइग्नोसिस गरियो। विश्वका अधिकांश देशवासीहरुमा आफ्नो राष्ट्रप्रतिको प्रेम र देशभक्ति प्रचुर छ। जापानिज, इजरायली, चाइनिजहरु लगायत धेरैको देशभक्ति त अनुपम नै छ। दुःखद बिडम्बनापूर्ण दुर्भाग्य नै भन्नुपर्छ कि हामी नेपालीहरु देशभक्त त भएनौं नै राष्ट्रवादी समेत् भएनौं। 

घुलमिल भएर बसेको र यति राम्रो हार्मोनि भएको नेपाली समाजमा जातीय विद्वेषको बिष घोलेर समाजलाइ भाँडिरहेका छन्, ‘देशै टुक्र्याइदिन्छु’ भनेर राष्ट्रलाइ धम्क्याइरहेछन्, तर तिनैलाइ हामीले उच्च स्थानमा विराजमान गराइराखेका छौं। यही स्थिति रहुञ्जेल राष्ट्रको वातावरण सङ्लिने छैन, झन्–झन् धमिलिंदै जानेछ। तसर्थ, यी भँडुवाहरु, राष्ट्रघाती गद्दारहरु र भ्रष्टहरुलाइ जन–जनबाट पूरै जनसमुदायले बहिस्कार, तिरस्कार गर्नुपर्छ।


राष्ट्रियता झन् झन् खतरामा पर्दैछ। पूर्वमन्त्री समेत् रहिसकेकी हिसीला यमीले, “यो राष्ट्रलाइ खारेज गर” भनेर नारा लगाइन्। यस्लाइ कुन रुपमा लिनुभएको छ ?

देशभक्त, राष्ट्रवादीहरुलाइ खोजि–खोजि, छानि–छानि सिध्याउने अभियान चलाइएको सत्य हो। एउटा उदाहरण यही लिनुहोस् न, पृथ्बीनारायण शाह र महेन्द्रलाइ खलनायन सिध्द गर्नका लागि उनीहरुविरुध्द भयङ्कर युध्दस्तरमा निन्दाअभियान चलाइएको छ भने राजा (लेण्डुपे) त्रिभुवनलाइ महिमामण्डन गरिएको छ। नारायणमान बिजुक्छेजीले, “इण्डो–वेष्टबाट पालितपोषित लेण्डुपेहरु २२ हजार छन्” भनिरहनु हुन्छ। यही यथार्थ हो। 

राज्यका अङ्गप्रत्यङ्गका निर्णायक स्थानमा तिनै लेण्डुपेहरु विराजमान छन्। मिडियामा भित्री लगानी उतैको छ। राज्यका निर्णायक स्थानमा रहेका, राष्ट्रको नेतृत्व तहमा रहेका र समाजका प्रभावशालि भनिएका व्यक्तित्वहरु सबै उतैबाट पालितपोषित छन्। समग्रमा, राज्यव्यवस्था र समाजव्यवस्थाको लगाम लेण्डुपेहरुकै हातमा पुगेको छ। यो अवस्था र परिस्थितिमा पनि यो राष्ट्र अझै जीवित छ, त्योचाहीं धन्न भन्नुपर्छ। यही कोर्समा यसैगरी गैरहने होभने यो नेपाल राष्ट्र बढीमा १० बर्ष रहला !

पूर्वमन्त्री हिसीला यमीले जुन नारा लगाइन्, त्यसलाइ मैले अनौठो र आश्चर्यको बिषयमा लिइन । प्रधानमन्त्री हुँदा डा.बाबुराम भट्टराईले यो देशलाइ मर्ज गर्ने कुरो निकालिरहनुहुन्थ्यो। महन्थ ठाकुरले सर्वदलीय बैठकहरुमै, “तराई टुक्र्याइदिन्छौं” भनिरहनुभएकै छ। तराईलाइ अलग्याउने अभियानमा वर्तमान सरकार आफैं कम्मरकसेर लागिरहेकै छ। हिसीलाको उक्त अभिव्यक्ति त्यही सिलशीलाको कडी मात्र हो भनेर वुझ्नुपर्छ।

डेढ–दुई महिनाअघि भारतीय सुरक्षा बल कञ्चनपुरको ५०० मिटर भित्रै पसेर देशभक्त नेपाली युवक गोबिन्द गौतमको हत्या ग¥यो,  यसले के सङ्केत गर्छ ?

 यसले भारतीय हस्तक्षेप झनै चर्कोसँग बढेको सङ्केत गर्छ । भारतसँग सीमा जोडिएका सबै स्थानमा उनीहरुको अतिक्रमण खपिनसक्नु हदसम्म अतिशय नै छ। कालापानीमा ६३ हजार हेक्टर नेपाली भूमि कब्जा गरेको छ। सुस्तामा १८हजार हेक्टर नेपाली भूमि हडपिसकेको छ। 

१७३ स्थानमा सीमा अतिक्रमण गरेको छ। हाम्रा पार्टीका नेताहरु, शासक–प्रशासकहरु सबै उतै बिकेका छन्। उतैबाट पालितपोषित छन्। सधैं उतै लम्पसार परेका छन्। त्यसैले, हाक्काहाक्कि मिच्न र अतिक्रमण गर्न उसलाइ सहज भएको छ।

देशमा स्थानीय तहको निर्वाचनको तैयारी शुरु भएको छ। यसबारे तपाईंको धारणा के छ ?

११ बर्षदेखि यो देश राजनीतिक अस्थिरता, असुरक्षा र अराजकताले आक्रान्त छ। कमसेकम २०७० सालमा भएको संविधानसभाको निर्वाचन जत्तिकै वा अझै निस्पक्ष र धाँधलिरहित निर्वाचन भयोभने सिष्टमको जग बस्थ्यो कि ? राज्यव्यवस्था लीकमा चल्थ्यो कि ? सबैले सिष्टमको फलो गर्थे कि ? 

राष्ट्रले एउटा बाटो र दिशा पक्रन्थ्यो कि ? हामी आशावादी छौं। दिल्ली साउथब्लकले यो निर्वाचनलाइ सोझै विरोध नगरेपनि उ निर्वाचनको पक्षमा छैन। त्यसैले, कतैबाट खग्रास कालो ग्रहण लाग्छ कि भन्ने आशङ्का भने छ।

रुदाने (रुपचन्द्र बिष्ट) मकवानपुरे हुन्। तपाईं पनि मकवानपुरे नै। तपाईंको वुझाईमा उहाँ को हो ?



उनी दार्श्निक राजनीतिज्ञ र राजनीतिकर्मी हुन्। उनलाइ ‘स्टेटम्यान’ नै भन्न सकिन्छ। उनी सूत्रमा लेख्थे, बोल्थे जसको गहीरो अर्थ राख्छ । राजनीतिको दार्शनिक व्याख्या गर्ने मात्र हैन, कर्मपथमै हेलिएर लाग्थे र आफ्नो जीवन–व्यवहारमा समेत् उतार्थे। मकवानपुरका बिलक्षण व्यक्तित्व नै हुन्।

राष्ट्रियताको मुद्दा पेचीलो बन्दै गैरहेको बेलामा सर्जक, लेखक, पत्रकार, वुद्धिजीविहरुको भूमिका कस्तो हुनुपर्छ ?
राष्ट्रलाइ माया गर्नुप¥यो। राष्ट्रप्रति सम्वेदनशील हुनुप¥यो। 

दिल्ली साउथब्लक, लैनचौर, युरोपियन युनियन लगायत पश्चिमाहरु र आइएनजिओसँग साँठगाँठ गरेर आफ्नो राष्ट्रप्रति गद्दारी गर्नुभएन। सारमा यत्ति हो कि, ‘लेण्डुपे’ बन्नुभएन। लेण्डुपे, भाइलेण्डुपे र भ्रष्टहरुलाइ घृणा, तिरस्कार, बहिस्कार गर्न सक्नुपर्यो।

अन्तमा, एक राष्ट्रभक्त नेपालीको नाताले नेपालीलाइ के भन्नुहुन्छ ?

 सामुहिक चिन्तन, कर्म र जीवनको अभ्यास समयको माँग हो। यहींबाट ‘टीम वर्कको कल्चर’ र ‘टीम स्पिरिट’ को शुरुवात हुन्छ। देशभक्त, राष्ट्रवादी नेपालीहरु पनि छन्, तर अचाक्लि नै छरिएका छन्। राष्ट्रवादीहरु छरिएकै कारणले यो देशमा राष्ट्रघाति, गद्दार लेण्डुपेहरुको हालिमुहालि, राईंदाईं चलिरहेको हो। 

राष्ट्रवादीहरु अहिले कमसेकम क्लोज–कण्ट्याक्टमा मात्र आइदिने होभने, घाम लाग्नासाथ अन्धकार भागेझैं, लेण्डुपेहरु हराउनेथिए र यो राष्ट्र बच्नेथियो।



0 comments

Write Down Your Responses