Powered by Blogger.
शिवमद्वारा एम्बुलेन्स सहयोग

 हेटौँडा, २९ चैत । हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । उद्योगको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको हो ।
सहयोग गरेको एम्बुलेन्स मंगलबार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । उद्योगका निर्देशक रघुनन्दन मारु र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले एम्बुलेन्सको साँचो एम्बुलेन्स संचालक समितिका अध्यक्ष सानुकान्छा थिङलाई हस्तान्तरण गरेका थिए । उद्योगले एम्बुलेन्स संचालनका लागि ५१ हजार रुपैँया विउपूँजी समेत उपलव्ध गराएको छ ।
हस्तान्तरण कार्यक्रममा उद्योगका निर्देशक मारुले उद्योगका प्रभावित क्षेत्रका हटिया, गढी, सुकौरा, ठिंगन, बुढिचौर लगायतका क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवामा सुविधा पुग्ने विश्वास गरेको बताए । उनले यसको पूर्ण सदुपयोगका लागि समेत स्वास्थ्य चौकी र एम्बुलेन्स संचालन समितिलाई आग्रह गरे । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख पाठकले उद्योगबाट सहयोग प्राप्त एम्बुलेन्सबाट स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए ।
मकवानपुरगढी गाउँपालिकाका कार्यकारी अधिकृत मिनराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी संचालक समिति सदस्य बीरबहादुर गोले, स्वास्थ्यकर्मी बिदुर लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्योगले एम्बुलेन्स खरिदका लागि ९ लाख ५३ हजार ८ सय रुपैँया सहयोग गरेको जनाएको छ ।

0 comments

Write Down Your Responses