Powered by Blogger.
समृद्ध इटहरी बनाउने यस्तो छ रामप्रसाद चौलागाँइको सपना


रामप्रसाद चौलागाईं इटहरीको राजनीति र समाजिक क्षेत्रमा एउटा चर्चित नाम हो । खासगरी इटहरीको खानेपानीको कुरा गर्दा छुटाउनै नहुने र पहिलो नम्बरमा आउने पात्र हुन् चौलागाईं । नेकपा एमालेमा रहेर राजनीति गरिरहेका उनै चौलागाईंको नाम यतिबेला पुनः चर्चामा आएको छ । 

खासगरी स्थानीय तहको दोश्रो चरणको निर्वाचनको सरगर्मी तातिरहेका बेला चौलागाईं पनि नेकपा एमालेबाट इटहरीको मेयरको आकांक्षीका रुपमा चर्चामा छन् । वास्तवमा रामप्रसाद चौलागाईं को हुन् त ? इटहरी र एमालेको पार्टी राजनीतिमा उनको योगदान के छ ? हामीले उनलाई नजिकबाट चिनाउने प्रयास गरेका छौं ।

परिचय 

वि. सं. २०२० सालको असारमा खोटाङको मत्तिममा जन्मिएका रामप्रसाद चौलागाईंको परिवार २०३० सालमा इटहरी बसाई सरेर आयो । प्रारम्भिक शिक्षा खोटाङमै सुरु गरेका चौलागाईं पनि त्यसपछि २०३४ सालमा इटहरी आएर स्थानीय जनता माविमा कक्षा ६ मा भर्ना भए र आफ्नो अध्ययनलाई अगाडि बढाए । 

उनले विराटनगर जनता कानुन क्याम्पसबाट कानुनमा स्नातक पुरा गरेका छन् । इटहरी–५ पचरुखीस्थित जनता कलेज रोड निवासी चौलागाईं यसअघि २०४९ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन इटहरी गाविसको वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका तर्फबाट निर्वा्चित भएका थिए ।

राजनीतिमा प्रवेश 

खोटाङबाट २०३४ सालमा इटहरी आएर स्थानीय जनता क्याम्पसमा अध्ययन सुरु गरेका चौलागाईं सानैदेखि निडर र अन्याय नसहने स्वभावका थिए । स्थानीय जनता माविमा कक्षा ६ मा अध्ययन गर्ने क्रममा एकदिन कक्षाकोठामा कसैले पछाडीबाट ढुंगा हान्यो । “त्यसपछि अगाडि पढाइरहेका प्राधानाध्यापक प्रेमप्रसाद न्यौपानेले ढुंगा हान्ने मान्छे को हो भन्ने नबुझि पछाडी बस्ने सबैलाई नरपशु भनेर गाली गरे,” चौलागाईं भन्छन् । 

प्रधानाध्यापकको यही गाली नै चौलागाईंलाई राजनीतिमा अगाडि बढ्न काफि भयो, “प्रधानाध्यापक न्यौपाने भनेपछि थुरथुर हुने विद्यार्थीहरुका माझ मैले प्रतिवाद गरेपछि म स्कुलमा हुने हरेक गतिविधिको नेतृत्व लिन थालें र २०३७ सालमा जनता माविको स्ववियु सभापतिमा निर्वा्चित भएँ ।”

राजनीतिक जीवन र पार्टीमा योगदान 

चौलागाईं विद्यार्थी जीवनमै २०३५–३६ सालतिर पूर्वको रातो झण्डामा आवद्ध भए । एक त आफैं क्रान्तिकारी स्वभावका चौलागाईं पूर्वको रातो झण्डाका ओम कोइरालाको संगत गर्न पुगे । त्यसपछि तत्कालिन मनमोहन समूहका कार्यक्रमहरुमा संलग्न हुन थालेका चौलागाईंलाई रामेश, रायन, मञ्जुल र जेवी टुहुरेका गीत, संगीतले राजनीति र परिवर्तनका पक्षमा अगाडि बढ्न हौसला दिए । 

“त्यसपछि म निरन्तर पार्टी काममा जुटें, खासगरी इटहरीदेखि रामगञ्ज वेलगछीयासम्म धेरै लामो समयसम्म पार्टी काममा खटिएँ,” उनी सम्झिन्छन्, “सँग–सँगै त्यस समयमा भएका विभिन्न आन्दोलनहरुमा अग्रपंक्तिमा रहेर काम गरें ।”

चौलागाईं २०४६ सालको जनआन्दोलनमा अग्रपंक्तिामा रहेर इटहरीमा भएको आन्दोलनमा होमिए । संयुक्त जनआन्दोलन परिचालन समिति इटहरीको सहसंयोजक समेत रहेका चौलागाईं आन्दोलनकै क्रममा पक्राउ परे र ४७ दिनसम्म थुनामा बसे । २०४७ साल मंसिरमा पार्टीको पीएम पाएका उनी प्ररायु संघ सुनसरीको सँस्थापक सचिव पनि हुन् ।

२०५३ साल जेठमा एमालेको इटहरी सचिव भएका चौलागाईले इटहरीमा एमालेको संगठन विस्तार गर्न निकै दुःख गरे । “त्यतिबेला गरेको दुःख सम्झिंदा अहिले खुसी लाग्छ,” उनले भने “त्यति बेलाको दुःखले नै अहिले इटहरी क्षेत्रमा एमाले जवरदस्त पहिलो पार्टीको रुपमा छ, यहाँ कुनै पनि निर्वाचमा एमाले पराजित हुनु परेको छैन र हुने पनि छैन ।” त्यसयता उनी ४ वर्षदेखि एमालेको इटहरी इञ्चार्जको रुपमा काम गरिरहेका छन् र अहिले इटहरीको मेयर हुने आकांक्षामा छन् ।

चौलागाईंले इटहरीलाई के दिए ?

इटहरीमा एमालेको नेता बाहेक अर्कोे एउटा परिचय पनि छ चौलागाईंको । इटहरीलाई बुझेका इटहरीबासीले हरेक पटक खानेपानीको धारा खोल्दा चौलागाईंलाई सम्झन्छन् भन्दा अत्युक्ति नहोला । इटहरीको खानेपानीको विकासमा चौलागाईंको महत्वपूर्ण र सबै भन्दा बढी योगदान छ । २०६१ सालदेखि इटहरी खानेपानी उपभोक्ता सँस्थाको अध्यक्ष रहेका उनी भन्छन्, “म अध्यक्ष भएका बेला १८ सय ५४ धारा रहेकोमा अहिले १३ हजार बढी धारा जडान भएका छन्, एउटा पानी ट्यांकी रहेकोमा ३ वटा ट्यांकी र १० वटा वोरिङ छन्,” उनी अझै थप्छन्, “अहिले हामी २ करोड १६ लख लिटर पानी बाँड्ने क्षमता राख्छौं तर यतिबेला १ करोड लिटर मात्र आवश्यक भएकाले त्यति विवरण गरिरहेका छौं, अझै आयोजनाको स्तरोन्नती भइरहेको छ ।” उनी नेतृत्वको इटहरी खानेपानी उपभोक्ता सँस्थालाई नगर विकास कोषले सेवा प्रदान, सञ्चालन र व्यवस्थापनमा देशकै उत्कृष्ट ठहर गरिसकेको छ ।

खानेपानी बाहेक चौलागाईं जनता बहुमुखि क्याम्पस इटहरीको सञ्चालक समिति सदस्य समेत भइसकेका छन् । साथै २०४९ सालको निर्वाचनमा इटहरी ५ को वडाध्यक्ष निर्वा्चित भएका चौलागाईंले त्यसबेला वडाको विकासमा पनि योगदान दिए । 

खासगरी हलगडा–खाद्यगोदाम बाटो (मदन मार्ग) लाई अहिलेको अवस्थामा ल्याउनु आफ्नो महत्वपूर्ण उपलब्धि भएको उनी बताउँछन् । त्यसबेला निकै विरोधका बिच दुवै छेउबाट मिचिएको सडक फराकिलो बनाएर बाटो ग्राभेल गर्न सफल भएको उनी सुनाउँछन् ।

इटहरी बनाउने सपना छ 

इटहरीको विकास गर्न रोजगार र व्यवसायको प्रवर्धन गर्नुपर्ने उनको बुझाइ छ । साथै समग्र इहटहरीको विकास गर्न मुख्य दुई वटा राजमार्गले नछोएका इटहरीका वडाहरुको विकास  गरी समृद्ध पार्न जरुरी रहेको उनी बताउँछन् । 

“सबै वडालाई समानरुपमा विकास गर्न मुख्य राजमार्गले नछोएका वडाहरुमा पर्यटकलाई आकर्षित गर्न फरक खालका पर्यटकीय स्थल निर्माण गर्नुपर्छ, बूढी र गछिया खोलाको संगममा नमुना जलविद्युत आयोजना निर्माण गर्नुपर्छ, घरेलु उद्योग ग्राम बनाउनुपर्छ र सबै क्षेत्रको समान विकासलाई अघि बढाउनुपर्छ,” उनी भन्छन्, “खनारदेखि झुम्कासम्म औद्योगिक करिडोर, बाइपास रोड र नहरसँगै ग्रीनबेल्ट सहितको बस्ति बनाउनुपर्छ, ट्यांग्रा खोलालाई अण्डरग्राउण्ड गरेर बूढी खोलामा मिसाउनुपर्छ अनि सार्वजनिक जग्गा प्रयोग गरेबापत कर लागउनुपर्छ,” 

उनी अगाडी थप्छन्, “अरु सडक बढार्ने कुरा गर्छन् म सडक पखाल्ने कुरा गर्छु, इटहरीलाई बगैंचाको शहर बनाउनुपर्छ र यो सम्भव पनि छ ।”

0 comments

Write Down Your Responses