Powered by Blogger.
लोककल्याणकारी विज्ञापन दोब्बर पार्न पत्रकार महासंघको माग


काठमाडौ । उपत्यकाका तीन जिल्लाका पत्रकार महासंघ शाखाले आगामी बजेटमा पत्रपत्रिकालाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन दोब्बर पार्न माग गरेको छ । 

महासंघका काठमाडौ,ललितपुर र भक्तपुर जिल्ला शाखाले सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णवहादुर महरा, संञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र सञ्चार सचिव महेन्द्र गुरुङलाई ज्ञापन पत्र बुझाई यस्तो माग गरेको हो । 

तीनै शाखाको तर्फबाट काठमाडौ शाखाका अध्यक्ष शन्तराम विडारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा र सञ्चारमन्त्री कार्की तथा सचिव गुरुङलाई मन्त्रालयमा छुट्टा छुट्टै ज्ञापन पत्र बुझाउनु भएको हो ।

महासंघ टोलीले अनलाईन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध  गराउन माग गरेका छन् ।  प्रेस काउन्सिलबाट अनलाइनलाई पनि बर्गिकरण गर्ने गरि आगामी बजेटमार्फत  लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गरिएको छ ।

ज्ञापन पत्रका अहिले वितरण भईरहेको पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन दोब्बर पार्नुपर्ने, बजेटमा साना सञ्चारमाध्ययमलाई आत्मनिर्भर हुने खालको निति ल्याउनु पर्ने,जेष्ठ  पत्रकारलाई मासिक रु ५ हजार उपलब्ध गराउनु पर्ने, पत्रकारको दुर्घटना विमाको सट्टा जिवन विमा गर्नुपर्ने जस्ता माग गरिएको छ । 

यसैगरि आगामी बजेटमा अहिलेसम्म आफ्नो भवन नभएका तीन शाखाको भवन निर्माण गर्न जग्गा र आर्थिक सहयोग उपलब्ध गराउनु पनि माग गरिएको छ । 

ज्ञापन पत्र बुझ्दै उहाँहरुले आफूहरु पत्रकारको हकहितको लागि प्रतिवद्ध भएको बताउदै माग बारे सकारात्मक भएको प्रतिक्रिया दिनु भएको काठमाडौ शाखाका अध्यक्ष विडारीले बताउनु भयो । 

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्कर बस्नेत लगायतका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । 

सो टोलीमा पत्रकार महासंघका केन्द्रीय सदस्य इश्वरी वाग्ले र रामहरी सिलवाल, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, काठमाडौंका निवर्तमान अध्यक्ष गोबिन्दप्रसाद चौलागाँइ, ललितपुरका लेखनाथ न्यौपाने, काठमाडौंका पूर्व सभापति हरि लम्साल, वरिष्ठ पत्रकारहरु बलराम थापा, निरोधराज पाण्डे, देबेन्द्र चुँडाल लगायतको उपस्थिति थियो । 

मागपत्र यसप्रकार छः

माननीय अर्थमन्त्री तथा उपप्रधानमन्त्री ज्यु
अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौं 

विषय ः ध्यानाकर्षण

मितिः २०७४–०२–०८

नेपाल सरकारको विशेष पहलकदमी र निर्वाचन आयोगको छोटो समयकै मेहनतले पहिलो चरणको स्थानीय तहको निर्वाचन एकाध छिटफुट घटना बाहेक शान्तिपूर्ण ढंगले सम्पन्न भएकामा सर्वप्रथम नागरिक अधिकारको पहरेदारी तथा आम पत्रकारहरुको हक अधिकार तथा अविछिन्न प्रेस स्वतन्त्रताको वकालत गर्ने संस्था नेपाल पत्रकार महासंघका उपत्यका स्थित तिनै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुर शाखाको तर्फबाट संयुक्त रुपमा हार्दिक बधाई ज्ञापन गर्दछौं । 

एकाध स्थानको बाँकी मत परिणाम आएसंगै मुलुकमा ऐतिहाँसिक स्थानीय तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयन भई जनप्रतिनिधीहरुले काम थाल्ने अवस्था छ । 

यस्तो अवस्थाका बीच सरकार संविधानमै उल्लेख गरे बमोजिम यही जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा रहेको छ । 

संघियता कार्यान्वयनको यो ऐतिहाँसिक फड्कोको सम्मुखमा सरकार आइपुगेको बेला बर्तमान सरकारले लोकतन्त्र र गणतन्त्रको पक्षलाई स्थापित गर्न सक्रिय नेपाली प्रेसको भूमिकालाई बिर्सन सक्दैन । 

सर्थ आगामी बजेट पत्रकार र समग्र सञ्चार क्षेत्र मैत्री हुनु आवश्यक छ । त्यसैले हामी उपत्यकाका पत्रकारहरु सरकारलाई आगामी बजेटमा निम्न कुराहरु समावेश गर्न आग्रह गर्दछौं ।

१, मिडियामा ‘टाइकुन’ प्रवृति विस्तारै बढ्दै गइरहेको र केही प्रभावशाली मिडियामात्र स्थापित हुने अनि तिनको अधिपत्य र एकाधिकारले समग्र सञ्चार क्षेत्र कुपोषित हुँदै गएकाले राज्यले साना लगानीका मिडीया र ठुला लगानीका मिडीयाका बीचमा वर्गिकरण गरी फरक खालका नीतिहरु अघि सार्दै साना लगानीका मिडिया आत्म निर्भर हुनसक्ने नीति लागु गरियोस् ।

२, साना लगानीका पत्रपत्रिकाले हाल पाइरहेको लोकल्याणकारी विज्ञापनको रकम दोब्बर पारी आगामी बजेटबाट कार्यान्वयनमा ल्याइयोस् ।

३, पछिल्लो समय प्रभावकारी मिडियाको रुपमा विकाश भइरहेको अनलाइन मिडियाहरुलाई पनि प्रेस काउन्सिलबाट वर्गिकरण गर्ने व्यवस्था गर्दै आगामी बजेटबाट तिनीहरुलाई पनि लोककल्याणकारी विज्ञापन प्रदान गर्ने व्यवस्था गरियोस् ।

४, श्रमजिवि पत्रकारको हक हितको रक्षा गर्दै आगामी बजेटबाट बढ्दो महंगिलाई ख्याल गर्दै हाल ठुला सञ्चारगृहमा कार्यान्वयनमा आएको न्युनतम पारिश्रमिकमा थप ४० प्रतिशत वृद्धि गर्ने नीति कार्यान्वयनमा ल्याइयोस् ।

५, वरिष्ठ पत्रकार सम्मान वृतिलाई पेन्सनका रुपमा विकास गरी आगामी बजेटबाट प्रतिमहिना न्युनतम ५ हजार पु¥याइयोस् ।

६, साना लगानीबाट सञ्चालित सञ्चार माध्यम तथा त्यसमा आवद्ध सञ्चारकर्मीहरुले प्रयोग गर्ने अत्यावश्यक सञ्चार सामग्रीहरु (ल्यापटप, क्यामेरा, इन्टरनेट जडान, कागजात लगायत) खरिद गर्दा आधिकारीक शिफारिशको आधारमा अनुदानको व्यवस्था गरियोस् । 

७, पत्रकार दुर्घटना विमा आम पत्रकारबीच आकर्षणको रुपमा रहन नसकेको र उक्त विमामा उनीहरुको उत्साह कम देखिएकाले सो विमालाई जिवन विमामा परिणत गरियोस् ।

८, उपत्यकाका पुराना मिडीयालाई अभिलेखिकृत गरीसंग्राहलयको रुपमा विकास गर्न उचित बजेटको प्रवन्ध गरियोस् ।

९,  महासंघका उपत्यका स्थित काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखाको अझैसम्म पनि आफ्नै कार्यालय भवन नभएकाले कार्यालय प्रयोजनका लागि जग्गाको प्रवन्ध गरी भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरियोस् ।


शन्तराम बिडारी
नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा

ज्ञानप्रसाद पौडेल
नेपाल पत्रकार महासंघ, ललितपुर शाखा

पुष्कर बुढाथोकी
नेपाल पत्रकार महासंघ, भक्तपुर शाखा






0 comments

Write Down Your Responses