Powered by Blogger.
मध्य नेपाल नगरपालिका वडा नं. १० लाई लमजुङकै नमुना वार्ड बनाउने जनप्रतिनिधिहरुको उद्घोष


लमजुङ । लमजुङ जिल्ला मध्य नेपाल नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमेशकुमार पाण्डे र वार्ड नं. १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले आफ्नो नगर र वार्डलाई जिल्लाकै नमुना नगर र वार्डको रुपमा विकास गर्ने बताएका छन् । 

मध्य नेपाल नगरपालिका वडा नं. १० काठमाडौं सम्पर्क परिवारले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मान, बधाई तथा आगामी विकाससम्बन्धी वृहत छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डे तथा वडाध्यक्ष भण्डारीले अवको ३ वर्षमा आफ्नो ठाउँलाई जिल्लाभरिकै नमुना नगर र वार्डको रुपमा विकास गर्ने बताएका हुन् । 

नगरप्रमुख पाण्डेले मालिका देवी मन्दिरको प्रचारप्रसारलाई आफ्नो कार्यकालमा तिव्रता दिने दाबी गरे । उनले भने, ”आफू धार्मिक प्रवृत्तिको व्यक्ति भएकाले नगरपालिकाकै शीरको रुपमा रहेको मालिका देवी मन्दिरलाई प्रचारप्रसार गरी यसको प्रसिद्धिलाई व्यापक बनाउनेछु । देशविदेशमा रहेका पर्यटकहरूलाई आकर्षित गरी एउटा पर्यटकीय स्थलको रुपमा यस क्षेत्रलाई अगाडि बढाउन मेरो पहलकदमी रहनेछ । त्यसो भयो भने रोजगारीको सिर्जना हुनुका साथै यस क्षेत्रको आर्थिक वृद्धिदर पनि हुनेछ । मालिकादेवीको संरक्षण, विकास, समस्याका यावत सन्दर्भमा  स्थानीय समितिहरूसँग छलफल गरेर अगाडि बढ्नेछु । अबको तीनदेखि पाँच वर्षभित्रमा मालिकादेवी मन्दिर र वरपरको क्षेत्रलाई धार्मिक पर्यटकीय नमुना क्षेत्रको रुपमा विकास गर्ने मेरो पहिलो उद्देश्य पूरा गर्न तपाईहरुले उल्लेख्य साथ रहनेछ भन्ने मलाई लाग्छ ।”

कार्यक्रमका अर्का वक्ता वडाध्यक्ष भण्डारीले भने, ”जसरी भारी मतका साथ मलाई विश्वास गरेर जिताउनुभएको छ, म पनि तपार्इंहरूको यो विश्वास र भरोसालाई कुनै पनि हालतमा घटाउने छैन । गाउँको विकासका लागि जीवनको अन्तिम समयसम्म पनि लागिरहने दृढता व्यक्त गर्दछु । कृषि, खानेपानी, बाटो, स्वास्थ्य शिक्षाको स्तरोन्नत्तिमा अहोरात्र खट्नेछु । नमुना वडाको लागि अन्य विशेष कार्यहरु गरेर देखाउनेछु । गाउँ छोडेर जानेहरूलाई फेरि त्यहीं ठाउँमा फर्केर बसौं–बसौं लाग्ने नमुना गाउँको रुपमा विकास गर्नेछु । वार्डनं. १० को थानसिङ, नेटा, हाँडीखोलालाई जिल्लाकै नमुना गाउँ बनाउने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु । चुनावका बेला काठमाडौंबाट गाउँसम्म गएर आफ्नो अमूल्य मतदान गर्नुहुने सबैलाई म मुरीमुरी धन्यवाद दिन चाहान्छु ।” 

कार्यक्रमका अर्का सहभागी मालिका लिटिल स्टार युवा क्लबका अध्यक्ष बीरबहादुर थापाले पनि आफ्नो कार्यकालमा गाउँमा एम्बुलेन्स लैजान पाएकोमा खुशी व्यक्त गरेका छन् । 

”शुरुमा गाउँमा एम्बुलेन्स लैजानका लागि व्यक्तिव्यक्तिबाट पैसा उठाऔं भन्दा कतिपयले खिशी गरेका थिए । यसो होलाकि, उसो होलाकि भनेर शंका व्यक्त गर्थे तर जब मनकारी साथीहरुको सहयोगबाट गाउँमा एम्बुलेन्स चल्न थाल्यो आज सबैले मलाई धन्यवाद दिएका छन्” थापाले भने । 

स्मरण रहोस् सो एम्बुलेन्सको उद्घाटन तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले गत मंसिरमा थानसिङ गाउँमै गएर गरेका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले आफू जन्मे, हुर्केको ठाउँको विकासमा के के गर्नुपर्छ सबै योजनाहरू आफूलाई दिएमा सजिलो हुने बताए । बिमिरे भन्ज्याङबाट नेटासम्मको कच्ची बाटोको स्तरोन्नत्तिमा आफ्नो मातहत रहेको विशेष रकम छिट्टै निकासा गरिदिने प्रतिवद्धता समेत घर्तीले व्यक्त गरेका छन् । 

मालिका लिटिल स्टार युवा क्लबका संयोजक सुविन गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका सल्लाहकार नारायणबहादुर अधिकारीले कार्यक्रमको अध्यक्षता तथा स्वागत मन्तव्य जेबी हमालले दिएका थिए । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ का अध्यक्ष नबीन केसी, मध्य नेपाल वडा नं. १० का वडा सदस्य शिबु कुमार कुँवर, नेपाल दलित संघका पूर्व महासचिव स्थिरबाबु परियार, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे, मालिका लिटिल स्टार युवा क्लबका सल्लाहकार आशबहादुर थापा, गणेश मालिका माविका भूपू शिक्षक तीर्थराज कोइराला, ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमितिका सदस्य शंकर विष्ट, नेपाल तरुण दल वडा इकाइ समितिका अध्यक्ष राजकुमार कँुवर, मालिका लिटिल स्टार युवा क्लबका पूर्व अध्यक्ष राजन कार्की र हाल उपाध्यक्ष सुरेन्द्र गुरुङलगायत नेटा थानसिङ, हाँडीखोला, धुसेनी, बाङ्ग्रेका बासीहरूको सो अवसरमा उल्लेखनीय उपस्थिति रहेको थियो । 

0 comments

Write Down Your Responses