Powered by Blogger.
कीर्तिपुर नगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने नगर परिषदको योजना


काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले केही दिनअघि नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको छ । 

उहाँले चालु आर्थिक वर्षका लागि कुल बजेट रकम ७९ करोड, ५६ लाख १४ हजार विनियोजन गरेको जानकारी दिनुभयो । ‘सोमध्ये चालु खर्चतर्फ १२ करोड, ६६ लाख ५ हजार र पूँजीगततर्फ ५५ करोड, ९५ लाख ९४ हजार विनियोजन गरेको छु,’ उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्यतर्फको सशर्त खर्चतर्फ १० करोड, ९४ लाख १५ हजार विनियोजन गरेको छु ।’

उहाँले वडास्तरीय योजना तथा कार्यक्रमका लागि ५ करोड ४० लाख छुट्टयाइएको पनि जानकारी दिनुभयो । उहाँले बजेटमा समृद्ध कीर्तिपुर कार्यक्रम पनि अघि सार्नुभएको छ । जसअन्तरगत नगर युवा स्वरोजगार कार्यक्रम, प्राविधिक शिक्षालयको स्थापना, आईटी पार्क, प्रत्येक वडामा फ्रि वाइफाइ जोन लगायतका महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गरिने उहाँको भनाइ छ । 

उहाँले शिक्षा नै समाज विकासको आधार रहेको हो भन्ने मान्यतालाई आत्मसात गर्दै कीर्तिपुरलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो । ‘शैक्षिक विकासबाट मात्र समृद्ध, सभ्य एवं सुसंस्कृत कीर्तिपुरको सपना साकार पार्न सकिन्छ । 

यसै सिलसिलामा सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किँदै गएको छ, जुन निकै चिन्ताजनक विषय भएकोले शैक्षिक गुणस्तर उकास्ने हेतुले सार्वजनिक विद्यालयहरुको समायोजन गर्ने कार्यक्रम राखिएको छ,’ उहाँले भन्नुभयो । 

‘साथै, समय सान्दर्भिक प्रतिस्पर्धात्मक शैक्षिक वातावरण एवं विद्यार्थीहरुलाई आवश्यक सूचनामा सरल एवं सहज पहुँच पु¥याउन यस नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई कम्प्युटर लगायतका सामग्रीहरु उपलब्ध गराइनेछ । यसका लागि आगामी वर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको छ ।’

उहाँले यसै वर्षबाट कीर्तिपुर नगरपालिकाका सडक खाल्डाखुल्डीमुक्त बनाउने घोषणा गर्नुभयो । उहाँले त्यसका लागि बजेटको व्यस्वस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले संविधानले लोक कल्याणकारी राज्यको अवधारणा अंगीकार गरेको स्मरण गराउँदै भन्नुभयो– ‘यसै सन्दर्भमा नगरबासीका वेदना र पीडामा नगरपालिका सँगसँगै रहेको छ । 

सीमित स्रोत साधनका बाबजुद अति विपन्न, असहाय एवं असमर्थ नगरबासीहरुका लागि आगामी आर्थिक वर्ष बजेटको व्यवस्था गरिएको छ । अब असहाय नगरबासीले औषधि उपचारको अभावमा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको नगरपालिकाले अन्त्य गर्नेछ ।’

उहाँले हरेक वडामा विस्तारित स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, आर्थिक स्थिति कमजोर भएका कारण चिकित्सा शास्त्र अध्ययनबाट वञ्चित हुनु नपरोस् भनी नगर क्षेत्रभित्रका छात्रछात्राहरुका लागि शैक्षिक वृत्ति विकास अक्षय कोष स्थापना गर्ने जस्ता योजना पनि अघि सारेको बताउनुभयो । आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने उहाँको योजना रहेको बताउनुभयो । उहाँले कीर्तिपुर नगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तत्काल पर्यटन गुरु योजना निर्माण गरी अघि बढ्ने पनि बताउनुभयो ।

‘कीर्तिपुर नगर क्षेत्रको पर्यटकीय भ्रमणमा आउने आगन्तुकहरुको लागि नगर क्षेत्रभित्रका सम्पूर्ण पर्यटकीय गन्तव्यहरु जस्तै उमामहेश्वर, बाघभैरव, चिलन्चो, अरनिको आर्ट ग्यालरी, वि.पि. प्लानेटोरियम, विभिन्न विहार तथा गुम्वाहरु, विष्णुदेवी, चोभार आनन्दाधि लोकेश्वर (आदिनाथ), जलविनायक, चोभार गल्छी, टौदह, चम्पादेवी लगायतका स्थानहरुमा एउटै सवारी साधनमार्फत भ्रमण गर्ने व्यवस्था मिलाइनेछ,’ उहाँले भन्नुभयो, ‘साथै त्यसका लागि उपत्यकाभित्र तथा बाहिरका मुख्य पर्यटकीय गन्तव्यसँग सम्बन्धित संघ, संस्था, निकाय एवं सम्बन्धित स्थानीय तहसँग समेत आवश्यक पहल गरिनेछ ।

उहाँले नगर क्षेत्रको वातवरण संरक्षण गर्न सडकका दायाँ बायाँ र सार्वजनिक स्थलहरुमा वृक्षारोपणका साथै वातावरण मैत्री कार्यक्रमहरु विभिन्न संघ संस्था, नगरबासी तथा अन्य दातृ निकायहरुसँग समेतको सहकार्यमा अघि बढाउने, नगरको धार्मिक, ऐतिहासिक, पुरातात्विक एवं प्राचीन कला, संस्कृति, जात्रा, चाडपर्व, बाजागाजा र रहनसहनको संरक्षण, सम्र्बद्धन एवं प्रबद्र्धनमा विशेष जोड दिने पनि जानकारी दिनुभयो । 

करको दर बढाउनुभन्दा पनि यसको दायरा फराकिलो पारी आय वृद्धि गर्ने नीति लिई घरदैलोमा कर्मचारी परिचालन गरी कर संकलन गर्ने कार्यलाई व्यापकता दिने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । ‘सार्वजनिक सम्पत्तिको अतिक्रमणलाई दण्डित गरिनेछ । 

नगरपालिकाको आदेश अटेर गर्ने, नगरपालिकाको निर्णय नमान्ने, तोकिएको राजश्व, शुल्क, जरिवाना नबुझाउनेहरुलाई नगरपालिकाबाट उपलव्ध गराउने सेवा, सुविधा रोक्का गर्ने गरी कालो सूचिमा राखिनेछ,’ उहाँले भन्नुभयो ।

मेयर महर्जनले नगर कार्यपालिकाको कार्यालयमा सेवाग्राहीहरुलाई सरल, सहज एवं समयबद्ध सेवा प्रदान गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै यथासम्भव सबै किसिमका कार्यहरुमा अनलाइन सेवा सञ्चालन गरिने पनि जानकारी दिनुभयो ।

मेयर रमेश महर्जन


0 comments

Write Down Your Responses