Powered by Blogger.
थाहा नगरमा पार्टीको कार्यकर्ता खुशी बनाउने र कार्यकर्ता पाल्ने खाले बजेट विनियोजन भएको देखियो

अच्युतमप्रसाद ढकाल, निवर्तमान अध्यक्ष, नेकपा (एमाले) थाहानगर संगठन कमिटि

तपाई त विगतमा  पार्टीका तर्फबाट नगरपालिकाका हरेक गतिविधीमा चासो राख्नुहुन्थ्यो, थाहा नगरपालिकाको पहिलो नगरसभाबाट पारित बजेट कस्तो लाग्यो ?

थाहानगर कार्यपालिकाले सरकारले तोकेकै समयसीमामा बजेट ल्याउन सफल भयो, यो सकारात्मक लाग्यो । यसरी समयमै बजेट ल्याउन ठूलै कसरत गर्नु प¥यो होला, यसका लागि धन्यवाद दिन चहान्छु । तर,जसरी जुन ढंगले बजेट विनियोजन भएको छ, यसरी तपाई हामी सबैले सपना देखेको ‘सम्वृद्ध थाहानगर’ को सपना पूरा हुँदैन । 

नगरसभाबाट पारित भएको बजेटसम्बन्धी पुस्तिकाको बजेट विनियोजनको ढाँचा हेर्दा यो वा ऊ भन्दिन, तर पार्टीको कार्यकर्ता खुशी बनाउने र कार्यकर्ता पाल्ने खाले बजेट विनियोजन भएको देखियो । 

अधिकांश बजेट टोल एवं बस्तीभन्दा पनि  व्यक्ति केन्द्रीत भएको पाइयो । बजेट विनियोजनका लागि के कस्तो प्रक्रिया अपनाएर आवश्यकता पहिचान गर्नुपर्छ भन्ने कुरा बजेटमा झल्किएको छैन । बजेटमा थुप्रै त्रुटि छन् । धेरै कुरा सच्याउनु पर्नेछ ।

भनेपछि बजेट विनियोजको लागि कुनै मापदण्ड नै बनाइएको देखिएन की के हो ?

हो, बजेट हचुवाको भरमा विनियोजन भएको छ । मागका आधारमा भन्दा पनि भागका आधारमा विनियोजन भएको छ । बजेटको ‘सिनारियो’ हेर्दा यसकै आधारमा बजेट विनियोजन भएको हो भन्ने आधारै देखिन्न । 

जस्तो जनजातीहरुको बाहुल्यता भएको ठाउँमा एउटा ठूलो लक्षित कार्यक्रम मिनीसंग्राहलय नै किन नहोस्, देख्नुहुन्छ ? छैन । 

यस्ता उदाहरण त कति छन् कति । के यस्ता योजना समुदायबाट माग नै नभएको होलान् त ? हामी राजनीतिक संयन्त्रमा हुँदा सबै दलको साझा कार्यक्रम र बजेट विनियोजन हेर्नुस्, अहिले जनप्रतिनीधिले गरेको हेर्नुहोस्, फरक आफै थाहा हुन्छ, कुनै आधारशीला नै छैन बजेट विनियोजनमा । हेर्दै गर्नुहोस्, साँढे ३७ करोड बजेटमा २÷३ करोड त पानीमै जानेछ । बालुवामा पानी हुनेछ ।

यस्तो बजेट विनियोजनले विकासमा कस्तो प्रभाव पार्ला ?

अघि पनि मैले भनिहाले भँगेरालाई कनिका छरेजस्तो बजेटको उपलब्धी के हुनु । उपलब्धी त देखिँदै देखिदैन । नगरपालिका घोषणाको शुरुवातताका हामीले भन्थ्यौंं बनमारा उखेल्ने बजेट । 

हो, त्यही दिशामा लाग्यो अहिलेको नगरपालिकाको बजेट । यो भनेको सडक बनाउने नाममा २÷४ झाल बनमारा उखेलेर फछ्र्यौट गर्ने परिपाटीको फेरि विकास हुने भयो । यो सम्पूर्ण नगरवासीको लागि चिन्ताको विषय हो ।

अब तपाँइहरु चाँही के गर्नुहुनछ त, कि यत्तिकै छोडिदिने ?

यत्तिकै छोड्न त हुँदै हहुँदैन । यो शुरुवात हो, ज्ञान सीपको कमीको आधारमा पनि यस्तो भएको हुन सक्छ । तर अब यो प्रक्रिया दोहोरिन नदिन हामी सबैको जिम्मेवारी हो । म पनि पहिले थाहानगरको एक चेतनशिल नागरिक हुँ, त्यसपछि मात्र नेकपा एमालेको सदस्य हुँ । त्यसैले गर्दा पनि अब जो जननिर्वाचित छन् उनीहरु भन्दा बाहिर त्यो भन्दा ठूलो जमात छ भन्ने कुरा त्यहाँ भित्र बस्नेहरुले पनि गम्भीर भएर सोच्नु पर्दछ । 

अर्कोकुरा हामी सबै राजनीतिक दलले खबरदारी गरि नै रहनुपर्छ । पहिलेको जस्तो राजनीतिक संयन्त्र त छैन यद्यपी हामी सबै नगरबासीहरुले हरेक कामको निगरानी र त्यसको प्रभाव मूल्याङ्कन गर्न पछि पर्नुहुँदैन । त्यसो गर्दा केही हदसम्म भएपनि सुधार हुन सक्छ ।

पहिले राजनीतिक संयन्त्र र अहिले जनप्रतिनीधिहरुले गरेको बजेट तथा कार्यक्रममा फरक के पाउनुभयो ?

अहिले तपाइसंग कुरा गरिरहँदा अहम् गरे जस्तो होला । तर त्यो होइन । अहिले हामी सत्तामा त छौं तर केही सदस्यले मात्र कार्यपालिकामा प्रतिनिधित्व गरिरहेका छौं । यदि कुनै विषयमा पक्ष र विपक्षमा मतदान गर्ने अवस्था सृजना भए हामीसंग थोरै मत छ । राजनीतिक संयन्त्र हुँदा हामीले विकासको एजेण्डामा नेतृत्व गरेकै हो । त्यतिबेला पनि नगरको कार्यक्रम तथा बजेट यस्तो हुनुपर्छ भनेर सुझाव दिने पार्टी नेकपा एमाले मात्र हो भने अहिले पनि हामी मात्रै हौं । 

हामीले सँधै विकासको सवालमा टुक्रे हैन देखिने विकास गरौं भनेकै हौं । राजनीतिक संयन्त्रको पालाका कार्यक्रमहरु हेर्नुहोस् न, चौकी किटेनी सडक होस् वा बज्रवाराहीको सडक, दामनको गोरखनाथ सडक, प्राथमिक स्वास्थ्य केन्द्र जाने सडक ढलान जुन कामहरु भएका छन्, त्यो हामी राजनीतिक संयन्त्रमा हुँदा नै भएको हो । नगरमा प्राकृतिक रंगशाला बनाउनुपर्छ भन्ने सवाल हामीले नै उठाएका हौं । 

इन्द्रायणीचौरको खेलकुद मैदान डिपीआर बनाएर बजेट भित्र्याउने सवालमा नेकपा एमालेले नै पहल गरेको हो । उपकरणहरुको नै कुरा गर्नुहुन्छ भने हेर्नुहोस, लोडर, ट्रिपर, दमकल, कार्यालयका लागि गाडी यी सबै काम त्यही बेलामा भए । 

नगरपालिकाको भवन निर्माणका लागि आएको बजेट फ्रिज हुने चरणमै पुग्दा अन्तिम समयमा राजनीतिक सहमतिबाटै बनायौं । हामीले रिक्स लिएर काम गरेकै कारण ठूला पूर्वाधारमा काम हुन सकेका हुन् ।

अहिले भन्नुस जनप्रतिनीधि आएकै वर्ष कति बजेट फ्रिज हुन्थ्यो ? धन्न नेपाल सरकारले खर्च नभएको बजेट संचितकोषमा राख्न पाउने भनेर पत्राचार गरेकै कारण मात्र इज्जत जोगियो । नत्र जनतामा कस्तो सन्देश जान्थ्यो । यो वर्षको नीति एकातिर कार्यक्रम अर्केतिर छ ।

पहिले नीति अनुसार कार्यक्रम हुन्थ्यो ?

हो, हुन्थ्यो । नीति र बजेट कार्यक्रम बनाउने आफ्नै विधि हुन्छ । पहिले बजेट हैन, नीति बनाउनुपर्छ । नीति भनेको नगरपालिकाको विधान जस्तै हो । जब यस्तो गर्छु भन्ने सपना नै हुन्न बजेटले के गर्ने भन्ने बाटो खुल्ला हुनै सक्दैन । माग त अनगिन्ती आउँछन् । तर नगरकै गौरबको योजना के संचालन गर्ने भन्ने मार्गदर्शन नीतिले गर्छ । त्यसैले पहिले नीति बनाएर त्यसको आधारमा कार्यक्रम बन्नुपर्छ अनि बजेट विनियोजन हुन्छ । 

हो, हामी यसरी नै तालमेल गरेर बजेट विनियोजन गथ्र्यौ । त्यसैले नीति र कार्यक्रमको तारतम्य हुन्छ । यो वर्ष थाहानगरको नीतिको अवमूल्यन भयो, बजेट छरियो, नगरसभा टारियो । नीति एकातिर, बजेट अर्कातिर ।
अहिले भएका योजनालाई पनि पहिलेकै जसरी विकास गर्न सकिदैन र ?

संभव छैन । बजेट कनिका छरे जसरी बाँडिएको छ । कम्तिामा १२ वटा वडामा १२ वटा ठूला योजना त हुनु पथ्र्यो नि । खै त्यो पनि भएन । नगरसभा कुनै दलको आश्वासन पूरा गर्नको लागि हैन जनतालाई विकास दिलाउन भन्ने कुरा भुसुक्कै बिर्सने अनि अहिले अब प्रभावकारिता खोजेर कहाँ भेटिन्छ ? 

नगरस्तरीय शिक्षाको सवाल खै ? स्वास्थ्यको नगरस्तरका सवाल खै ? हँ , विद्यालयका शिक्षक र स्वास्थ्य संस्थाका स्वास्थयकर्मीलाई तलब मात्र खुवाएर विषयगत विकास हुन्छ ? 

त्यो त हामीले हिजो वर्षको ८ करोड बजेट हुँदा पनि गरेकै हो, त्यो भन्दा पहिले गाविसले पनि गरेकै थिए । जनप्रतिनीधि र साढे ३७ करोडको बजेट आउँदाको परिवर्तन जनताले महशुस गर्न पाउनु पर्दैन ?

हो, यस्ता कुराहरुमा बेवास्ता गरियो भन्न मात्र खोजेको हुँ । बरु, वडाहरुको भौगोलिक तथा विकासको दृष्टिकोणलाई आधार मानेर वडामा जाने बजेटलाई व्यवस्थापन गर्नु भएकोमा भने खुशी लाग्यो, तर यसमा पनि वडामा पठाएको बजेटलाई सिलिङ तोकेर पठाउनु पथ्र्यो, यसो हुन सकेन । सोलोमोलो बजेट पठाईयो, यसले वडाको विकासमा नकारात्मक असर पर्नेछ ।

बजेट जति छरे पनि विकास त थाहानगरकै हुने त हो नि, विरोध किन ?

एकाथरीको बुझाई त्यो पनि होला । तर हाम्रो दृष्टिकोण अलि फरक छ । बजेट थोरै थोरै विनियोजन गरेर टोलै पिच्छे बजेट छर्ने र बनमारा ओखेलेर बजेट खाने प्रवृत्ति पुरानै हो । उतिबेला पनि हामीले खबरदारी गरेर यस्तो प्रवृत्ति हटायौं । अब फेरी त्यही प्रवृत्तिको लागि झम्टेको भान भयो । त्यसैले विकास हुने कुरामा म स्पष्ट हुनै सक्दिन ।

तर हरेक बजेटको अनुगमन त होला नि ?

अनुगमन एउटा प्रक्रिया मात्र हो । अहिलेको वडाकै मात्र झण्डै ४ सय योजनाको इस्टिमेट गरेर त कसरी भ्याउलान् भन्ने चिन्ता छ, अनुगमन कुन ढंगबाट होला त्यो पछिको पाटो छ । हामी पनि अनुगमनकै पक्षमा रहेर हेर्ने छौं ।

पहिलो नगरसभाले कस्ता योजनाहरुमा बजेट हाल्नु पथ्र्यो ?

मैले शुरुबाटै भन्दै आएको, योजना छनोट गर्दा ठूला योजनालाई प्राथमिकता दिन सक्नु पथ्र्यो । अर्को कुरा अघिल्लो वर्ष नगर परिषद् र पछि एकीकृत भएका गाविसहरुको परिषद्बाट पारित भएका योजना सबैलाई वेवास्ता गरियो । के ती योजना अवैधानिक थिए ? किन वेवास्ता गरियो ? 

अघिल्लो वर्षका ठूला योजनालाई पहिले जतिकै बजेट नसके पनि केही त गर्नु पथ्र्यो नि । ति सबै योजना बेवास्तामा परे । त्यसैले ठोस योजना भएन । 

इन्द्रायणी खेल मैदानमा राजनीतिक पूर्वाग्राही ढंगले बजेट विनियोजन गरिएन । त्यो पनि क्रमागत योजना हो नि, त्यसमा पनि विचार गर्न सक्नुपथ्र्यो । अहिलेको नगर प्रतिनीधिलाई तपाईको नगरस्तरीय सडक कुन भनेर सोध्यो भने के भन्लान् ? 

यदि फलानो फलानो भने पनि त्यहाँ बजेट कति हाल्नू भएको छ भनेर सोधे बोल्न सक्ने अवस्थामा छैनन् । शिक्षामा, सूचना प्रविधिको माध्यमबाट अघि बढ्ने भनेका थियौं । ३ नम्बर वडाको एउटा स्कुलमा शुरु गर्ने भनेर बजेट छुट्याएको देखियो त्यो पनि विना आधार छुट्याइएको हो । 

एउटा कक्षामा १० जनाको हाराहारीमा विद्यार्थी भएको ५ कक्षासम्म पढाई हुने विद्यालयलाई कस्तो आइसीटियुक्त बनाउने हो ? कम्तीमा निमावि तहबाट आइसीटि कार्यक्रम शुरु गरौं भनेर हामीले नै पहिले योजना बनाएका हौं । यसरी हचुवाको भरमा जथाभावी बजेट छुट्याउँदा सदुपयोग होइन दुरुपयोग हुन्छ ।

थाहानगरको नीति एकातिर कार्यक्रम अर्कातिर भन्नुभयो, कसरी र किन यस्तो भयो होला ?

नेतृत्व तहमा अध्ययनको अभाव, नीति के का लागि भन्ने कुरा नै बुझ्न नसक्नु मुख्य कारण हो । यहि कारणले नीति उत्तरतिर बजेट दक्षिणतिर भएको हो । अर्को कुरा चाहिँ जितको दम्भ पनि हो । नगरका बौद्धिक सर्कल, पुराना जनप्रतिनीधि, वर्षौसम्म राजनीतिक संयन्त्रमा रहेर बसेका व्यक्तिहरुसंग सल्लाह गर्दा के बिग्रन्थ्यो त्यो पनि हुन सकेन । 

तपाइलाई भनौ हामी नगरको नीति र बजेट बनाउन ४ दिनसम्म त्यही विकास घरमा छलफल र बैठकमा निरन्तर बसेको इतिहाँस छ । खै यहाँ त्यसरी छलफल पनि भएन । अरु त अरु, नगरसभाको उद्घाटन सम्म पनि गरिएन । राजनीतिक दलका प्रतिनिधिलाई बोलाइयो, तर शुभकामना मन्तव्यसम्म पनि दिन लगाइएन, यो कस्तो व्यवस्था हो ?

अर्को कुरा, अहिले नगरमा हेर्ने हो भने विषयगत समितिको बैठकको निर्णय भेटाउन गाह्रो होला । किन भने विषयगत समितिमा छलफलै भएनन् । बजेटमाथि दफावार छलफल गरेर पास गर्ने भनिएको छ, खै त्यो पनि भएन ।

नेकपा एमालेको नगर संगठन कमिटीका तर्फबाट दिएको सुझाव त नीतिमा आएछन् नि हैन ? तपार्इंहरु त सफल हुनु भयो नि ।

केही आयो, यसका लागि नगरका नेतृत्व तहलाई धन्यवाद दिनु पर्छ । तर यससँगै उनीहरुसंग केही पनि रहेनछ भन्ने कुरा पनि देखियो । 

सुझाव त एमालेले मात्र दिनु भन्ने छैन नि । 

माओवादी, काँग्रेस, राष्ट्रिय जनमोर्चा जुनसुकै दलले पनि दिन सक्थे । नेतृत्वले मागेको भए नगरको नीति झन् तगडा राम्रो र दीर्घकालिन बन्थ्यो । यसको फाइदा त माओवादी वा काँग्रेसलाई मात्र हुने थिएन । जस नेतृत्वले पाउँथ्यो, फाइदा नगरबासीले पाउँथे । 

यसअघि पनि हामीले यसैगरी सुझाव बुझाएका थियौं । सर्वदलिय संयन्त्र थियो, सबै सकारात्मक भए काम राम्रै भयो । तत्कालिन कार्यकारी अधिकृतहरुले सहयोग गरे, हामी नगरबासी सफलतातर्फ गयौं भन्ने भान भएको थियो अहिले त्यस्तो भएन ।

अब नेकपा एमाले थाहानगरको भूमिका कस्तो हुन्छ ?

हामी प्रतिपक्षको भूमिकामा हुन्छौं । थाहानगरको विकासका दृष्टिले मुहार फेर्नका लागि सँधै लागि रहन्छौं । नियम, कानुन विपरित काम गरेको देखेमा हामी तत्काल खबरदारी गर्छौ, नागरिकलाई न्याय दिलाउँछौं ।

पहिलो नगरसभाले ल्याएको बजेट जनतामुखी नभएकै हो त ?

उखान नै छ नि हुने विरुवाको चिल्लोपात, नहुनेको खस्रो । यो चिल्लो पात नै भएन । तपाइले बजेटसम्बन्धी पूस्तिका हेर्नु भएकै होला, नीति कार्यक्रम हेर्नु भएकै होला । नगरसभाले गरेको निर्णय पढ्नु भएकै होला कहाँ चाहिँ तारतम्य छ मलाई देखाइदिनुस् न । 

कुनै एउटा एनजिओ, आइएनजिओ आएर काम गर्छु भनेर प्रस्ताव आयो भने हामीले कुन योजना दिने भनेर नगरसभाले निर्दिष्ट गरेको छ ? छैन । 

केन्द्रमा पठाउने योजनाहरुको लिष्ट छ ? छैन । विभिन्न विषयगत कार्यालयमा पेश गर्ने योजनाको लिष्ट छ ? छैन । अनि कसरी भयो जनतामुखी योजना ? अनि यो पाराले कसरी जनमुखी हुन्छ गफले मात्र भएर हुन्न जनतालाई विकास चाहिएको छ ।

अर्कोकुरा ठूला योजना नभएको कुरा त अघि पनि गरिहाले । यसवर्षको योजना संचालनबाट आन्तरिक आय बढाउन सहयोग गर्ने योजना कुन छ भनेर सोध्दा जवाफ दिने ठाउँ राखेका छैनन् । 

मैले अरु थुपैै्र गाउँपालिका नगरपालिकाको योजना हेरेको छु । एक करोड सम्मको योजनाहरु छन् । हामीले पनि चित्लाङ, आग्रा, टिष्टुङ, बज्रवाराही वा दामन पालुङकै कुनै योजना जसले आन्तरिक आय बढाउने खालको कम्तिमा ४÷५ वटा योजना हुनु पथ्र्यो कि पर्दैनथ्यो त्यो कुरा किन सोचिएन ? 

जस्तो उदाहरणका लागि शंखमुललाई धामको रुपमा विकास गर्ने र त्यहाँबाट केवलकार चढेर ऋषेश्वर सम्म जाने योजनालाई रु. १ करोड भनेर छुट्याएको भए त्यसलाई काम शुरु गर्ने ठूला योजनाको रुपमा स्थापित गर्न सकिन्थ्यो भने त्यसबाट दीर्घकालिन आन्तरिक आम्दानीको बाटो पनि हुन्थ्यो । 

त्यसैगरी बज्रवाराही बजारबाट मनकामना मन्दिरसम्म केवलकारको संभाव्यता अध्ययन भनेर पनि बजेट छुट्याउन सकिन्थ्यो ।

यस्ता विषयहरुमा दलहरुबीच तपाइहरुको सल्लाह नै भएन ?

मैले यस्ता विषयमा मेयरसंग सल्लाह गरेकै हो । नगरसभा हुनु भन्दा पहिले मेयरसँग भेटेरै कुरा गरें । मैले उहाँलाई स्पष्ट भनेकै कुरा के हो भने हामी पहिले नगरको नागरिक हौं, त्यसपछि मात्र पार्टीका कार्यकर्ता । त्यसैले हामीले नागरिकको अभावलाई समेट्नुपर्छ भनेर आग्रह पनि गरेको हो । उहाँले हुन्छ भन्नु भो, प्रतिवद्धता जनाउनु भयो, काम हाम्रो सल्लाह अनुसार भएन । कारण, पार्टीबाट माथि उठ्न चाहनु भएन ।

बजेटको विषयमा त अरु पार्टी पनि असन्तुष्ट देखिन्छ नि हैन ?

स्वयंम् नगरको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि बजेटको विषयमा असन्तुष्ट भएको पाएको छु । माओवादी भित्र पनि केही गर्नुपर्छ, नगरमा ठूला योजनाले मात्र परिवर्तन ल्याउन सकिन्छ भन्ने जमात छन् । यहि सकारात्मक सोच्ने माओवादीका कार्यकर्ता असन्तुष्ट भएका हुन् । मेरै भाषामा ‘बनमारा उखेलेर विकास हुन्छ’ भन्ने जमात खुशी भएका छन् ।

भनेपछि नेकपा एमालेको यो बजेटप्रति असन्त्ुष्टि छ ?

नेकपा एमाले राजनीतिक नाराबाट मात्र अघि बढ्ने हो भने पूर्ण सन्तुष्टि लिन सक्छ । तर एमाले त्यस्तो पार्टी हैन राजनीति सन्तुष्टिमा मात्र रमाउने । 

एमाले जनताको विकासमा सन्तुष्टि लिने पार्टी हो । यदि राजनीतिक नारामा मात्र सन्तुष्टि लिने हो भने जनता विकासमा साह्रै पछि पर्छन् । यो हाम्रो लागि चिन्ताको विषय हो । 

त्यसैले विनियोजित बजेट तथा कार्यक्रममा नियम कानूनले परिमार्जनका लागि बाटो खोलेकाहरुमा परिमार्जन गर्न दबाब दिन्छौं । नत्र सबै बिग्रेर भद्रगोल भएको छैन, अझै चारवर्ष बाँकी छ । 

त्यसैले हामी आगामी योजना निर्माण तथा कार्यक्रम छनौंटका बेला पुनः दबाब दिन्छौं । जनतालाई विकास दिलाउन सँधै पहल गरि नै रहन्छौं । धेरै कुरा उहाँहरुलाई भेटमै पनि गरेकै हो । उहाँहरुमा जितको दम्भ देखिएकै हो । अहिले सम्पन्न नगरसभामा उहाँहरुको क्षमता देखिएन । कुनै पनि विकासका कामलाई रिस्क लिएर गर्छु भन्ने प्रतिवद्धता देखिएन । यसरी नै नगरलाई अघि बढाउने हो भने झन झन विकासतर्फ अघि बढ्नै सक्दैन । 

अब नेतृत्व तहले बुझ्नु पर्ने कुरा चाहिँ के हो भने पाँच वर्षसम्म यसरी नै बिताउने हो कि अरु बेला पनि जनतासंग जाने भन्ने छिनोफानो यहि अवधिले तय गर्नेछ । 

अर्को कुरा तपाइहरु जस्तो मिडियाको अब ठूलो भूमिका देख्छु । योजना कार्यान्वयनमा यहाँ अब धेरै बठ्याइँ हुन सक्छ, जनताको आँखामा छारो हाल्ने काम हुन सक्छ । अब भन्नुस वडामा रहेको ३८७ वटा योजनाको उपभोक्ता समितिमा एउटा समितिमा ११ जनाको औषत राख्दा पनि ४२ सय ५७ जना रहन्छन् । कतिपय टोल यस्ता छन् जहाँ उपभोक्ता समितिमा बस्ने मान्छे पुग्दैनन् तर बजेट छुट्याएको छ । अब त्यहाँ कस्तो विकास होला यी र यस्ता उदाहरण थुप्रै छन् । 

त्यसले ‘बनमारा ओखेल्ने विकास’ विरुद्ध मिडिया, यहाँका राजनीतिक दल, नगरका नागरिकहरु सबै एकजुट भएर निरन्तर खबरदारी गर्नु आवश्यक छ ।




0 comments

Write Down Your Responses