Powered by Blogger.
सामुदायीक प्रहरीको पहलमा बिपन्न र असाहय विद्यार्थीहरुलाई छात्रबृत्ति

हेटौंडा,२३ साउन /  सामुदायीक सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको पहलमा नीजि विद्यालयहरुले बिपन्न र असाहय विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । नीजि विद्यालयहरुले दिने दश प्रतिशत छात्रबृत्तिमध्ये सुन्य दशमलव पाँच प्रतिशत छात्रबृत्ति सामुदायीक प्रहरी सेवा केन्द्रको सिफारिसमा नीजि विद्यालयले दिने भएको हो ।

आईतबार हेटौंडा ९ मा एक कार्यक्रमबीच उक्त अभियानको सुरुवात गरिएको छ । हेटौंडा ९ स्थित मोर्डन इङ्लिस बोर्डिक स्कुल र श्री कृष्ण आदर्श बोर्डिङ स्कुलले एक एक जना बिपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरि अभियान सुरु गरिएको हो । मोर्डन इङ्लिस बोर्डिक स्कुलमा कक्षा २ मा अध्ययनरत देवकृष्ण मगर र श्री कृष्ण आदर्श बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत रिजु समाललाई छात्रबृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी बामदेव गौतमले सवारी दुर्घटनामा आमा बुवाको मृत्यु भई टुहुरा भएका, आमा बाबुवको बेमेलका कारण अभिभावकबिहीन बनेका,दुर्घटनामा घाईते भएका तथा बिपन्न र जेहेनदार विद्यार्थीहरुलाई अभियान अन्तर्गत छात्रबृत्ति अभियान सञ्चालन गरिएको बताउनुभयो । प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले उक्त अभियान केन्द्रको सिफारिसमा प्याब्सन आबद्ध सबै विद्यालयमा लागू  गरिने बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टले नौ नम्बर वडाबाट सुरु गरिएको उक्त अभियान जिल्लाब्यापी बनाइने बताउनुभयो । नीजि विद्यालयहरुसँगको सहकार्यमा प्रत्येक वर्ष दुईसय बढि विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मोर्डन इङ्लिस बोर्डिक स्कुलका संस्थापक प्रिन्सिपल श्यामकृष्ण खतिवडा, श्रीकृष्ण आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल नविन केसी,ईलाका प्रहरी कार्यालय पुशपतिनगरका इन्चार्ज विष्णु बहादुर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses