Powered by Blogger.
जनताको पसिनाबाट तिरेको कर सदुपयोग नभए थाहा नगरका जनता कर तिर्न वाध्य हुँदैनन

अच्युतमप्रसाद ढकाल, निवर्तमान अध्यक्ष, नेकपा(एमाले) थाहा नगर कमिटी

जनताले बडो दुखका साथ मेहनत गरेर कमाएको पैसाबाट तिरेको करमा थाहा नगरपालिका जनप्रतिनिधीहरुले जनउत्तरदायी नभई निर्णय गरेका छन् । गत असार ३० गते सम्पन्न प्रथम नगर परिषदको बैठकबाट पारित बजेटमा भएका अनुमानित खर्चका विवरण हेर्दा त्यस्तै लाग्छ । 

यो बजेटको मुल अन्तरवस्तु विचार गर्दा कार्यकर्तालाई वनमारा उखेलेर बजेट सिध्याउने योजना त छँदैछ, जनप्रतिनिधी र कर्मचारीहरुलाई पनि जनताको मेहनतको कमाइबाट तिरेको करको अत्याधिक दुरुपयोग हुने देखिएको छ । जस्तैः जनप्रतिनिधीलाई मासिक तलव तोकिसकेपछि पनि फेरी ३२ लाख रुपैया वार्षिक भत्ता क ेका लागि ? 

हुँदा हुँदा त काहिँ नसुनेको शीर्षक ‘आमन्त्रीत भत्ता’ भनेर समेत छुट्याइएको छ । नगरका योजना राम्रो भए–नभएको हेर्ने कर्तव्य जनप्रतिनिधीको हो । यो शिर्षकमा पनि प्रतिनिधीलाई भत्ता व्यवस्था गरिएको देख्दा आफैंलाई आफ्नो प्रतिनिधी भन्न लाज लागेर आएको छ ।

निर्वाचनका बेला जनाइएका सुशासन र मितव्ययिताका कुरा फगत ‘हावा गफ’ जस्तै भएको देखिन्छ । अर्को,  ‘कहिँ नभएको जात्रा हाँडिगाँउमा’ भने झैं स्थानीय करबाट उठेको पैसाबाट कर्मचारीलाई स्थानीय भत्ता स्वरुप करिव ४० लाख छुट्याइएको छ । जबकी जतता र राष्ट्रको सेवा गर्ने शपथ खाएर आएका कर्मचारीहरुलाई नियमित रुपमा प्रशासन चलाउने बाहेक अतिरिक्त कामको भार नहुँदा पालुङ जस्तो सुगम ठाँउमा यो भत्ता किन ? 

अर्को हामीलाई थाहा छैन नगर भित्रै मसलन्द उद्योग( कागज, कलम र मसि ) उद्योग स्थापना गर्न लाग्नु भएछ कि ? नत्र कार्यालय सञ्चालन (मसलन्द खर्च) ८५ लाख रुपैंया किन विनियोजन गरियो ? 

त्यस्तै एक करोड ५० लाख भन्दा माथीको रकम शिर्षक नछुट्याई विविध भनेर किन राखियो ? यत्रो रकम यसरी राख्न मिल्ने कि नमिल्ने ? 

सबै नगरका गाडि, जेसिबी तथा अन्य यन्त्र उपकरणहरु भर्खरै खरिद गरिएका नयाँ छन् । तिनका नाममा मर्मत संभार भनेर समेत २५ लाख ७५ हजार मर्मत खर्चका नाममा हचुवाको भरमा किन विनियोजन गरियो ? यसमा मर्मताका नाममा भोलीका दिनमा विल र भर्पाइको मात्र चाङ देखिन्छ भन्ने कुराको अनुमान गर्न नससकने आधार के छ ? 

जनताका तर्फबाट हामी भन्न चाहन्छौं, अब नगरका हरेक कुरा सोसियल अडिट हुनुपर्छ । हरेक कुराका जवाफ जनप्रतिनिधीले जनताको कठघरामा आएर दिनै पर्छ । 

बजेट परिमाजर्न गर्न सुझाव

नगरका सम्पूर्ण वडाहरुबाट आएका सडक सञ्जाल स्तरोन्नतीको बजेट अन्दाजी साढे सात करोडको रुपैंयाको छ ।  यो रकम भौतिक निर्माण समितिको सडक सञ्जाल  निर्माणको बास्केट फन्डमा हाली एकैद्धारबाट काम गर्न सके कम लगानीमा धेरै काम लिन सकिन्छ । जसतोकि त्यसैबाट २ वटा ट्रिपर खरिद गरि प्रत्येक वडामा नगरपालिकाको आफ्नै डोजर र ट्रिपर प्रयोग गरी २ महिना भित्रमा नगरका सबै वडाहरुको सडक सन्जालको स्तरोन्नती गर्न सकिन्छ । 

यस्तो योजना खै नगरपालिकाको तर्फबाट आएको ? 

अर्को कुरा, नयाँ ट्र्याक खन्ने केही योजनाहरुमा भाडामा स्काभेटर लिइ प्रयोग गर्न सकिन्छ । यसरी काम गर्दा अधिकतम ४ करोडमा सम्पूर्ण काम सम्पन्न हुन्छ । साढे ३ करोड रुपैंया यो शिर्षकमा पनि बचत गर्न सकिन्छ । अहिलेकै तरिकाले जाने हो भने यही योजना सम्पन्न गर्न १४ करोड रुपैंया लाग्दछ । त्यसैले यसलाई परिमार्जन गर्नुपर्दछ । 

कि तलव कि भत्ता मात्र खाउ

अहिलेको बजेटमा मेयरलाई मासिक ३० हजार, उपमेयरलाई २५ हजार र वडा अध्यक्षलाई २० हजार तलव तोकिएको छ । यो हिसावले एक वर्षको ७० लाख बजेट तलव र भत्ता गरेर छुट्याइएको छ । तलव मात्र दिएर भत्ता कटौती गर्दा पनि ३५ लाख रुपैंया बचत हुन्छ । 

यसैगरी कर्मचारीको स्थानीय भत्ता पुरै वा आधा मात्र कटौती गर्दा वार्षिक करिव १८ लाख बचत गर्न सकिन्छ । नगर भर्खरै स्थापना हुँदा र कर्मचारी अभावको बेला कामको बोझको आधारमा दिइएको स्थानीय भत्ता कर्मचारीहरु पूर्ण भइसक्दा पनि त्यही हिसावले भत्ताको नाममा ठुलो रकम बजेट छुट्याउनु त्यति न्यायसंगत देखिँदैन । 

यसैगरी मसलन्द खर्च ८५ लाखबाट घटाएर ३० लाख मात्र राख्दा पनि पर्याप्त हुन्छ । यसो गर्न सकियो भने विविध  खर्च भनेर शिर्षक खुलाइएको र नखुलाइएको रकम सबै जोड्दा करिव ५ देखि छ करोड रुपैंया वचत हुन्छ । 

यसबाट केही वृहत र दिर्घकालिन योजना बनाई काम गर्न सकिन्छ । समृद्ध थाहा नगर बनाउने, कृषि र पर्यटनको क्षेत्रमा विशेष योजनाहरु अघि सार्ने र खासगरी युवाहरुको विदेश पलायन रोक्ने विषय यो बजेटले महत्वका साथ समेट्नुपर्नेमा त्यस्तो देखिएन । 

तसर्थ उक्त वचत रकमबाट केही अंश छुट्याई युवा रोजगार कोष निर्माण गरी कम्तिमा ५० युवालाई प्याराग्लाइडिङ तथा अन्य पर्यटनसंग सम्वन्धीत तालिम दिई पर्यटन क्षेत्रतिर रोजगारी दिन सकिन्छ । त्यतिमात्र होइन किसान राहत कोषको स्थापना गरी कृषी रिसर्च सेन्टरसंग समन्वय गरी किसानलाई विउ उत्पादन क्षेत्रमा लगाउन सकिन्छ । 

यसो गरियो भने जनताले तिरेको करको सही अनुभुती हुन्छ । नमुनाको प्रतिनिधी बन्न सकिन्छ । नमुनाको नगर बनाउन सकिन्छ । नमुना नगरका हामी नमुना नागरिक बनेर गौरवान्वित हुन पाउनेछौं । 

यसैमा समग्र थाहानगरवाशीको कल्याण हुनेछ । यतातिर जनप्रतिनिधीको ध्यान जाओस् ।





0 comments

Write Down Your Responses