Powered by Blogger.
मकवानपुरको थाहामा हिले जात्रा धुमधामसँग मनाईयो

थाहा नगरपालिका, २६ श्रावण /  मकवानपुरको थाहा नगरपालिकामा नेवार समुदायहरुले परम्परा देखि मनाउदै आएको हिलेजात्रा आज बिहिबार मनाएको छ । हरेक वर्ष थाहा थाहा नगरपालिकाको जनकल्याण उच्च माविको प्राङगानमा यो जात्रा लाग्ने गर्दछ ।

जात्रामा पालुङ शहर, देउला बस्ती, ओखरबजार र गोपाली गाउँका नेवार समुदायले छुट्छुट्टै नाँचको साथैे रोचक मानिने लाखे नाच पनि प्रदर्शन गरिन्छ ।
हिले जात्रा भनेर चिनिने यो जात्रामा स्थानीय नेवार समुदायका मानिसहरुले अभिनयबाट रोपाइको झलक समेत देखाउने गर्दछन् । धेरै पहिलेदेखि धान खेती गर्दै आएको थाहा नगरको टिष्टुङ पालुङ क्षेत्रमा धान रोपेर सकेपछि फुर्सदमा रहेका नेवार समुदायले रोपाइको अभिनय गरेर मनोरन्जन गर्ने गर्दछन् ।

किम्बदन्तीअनुसार पौराणिक कालमा देवता र दानवबीच युद्ध हुँदा देवताको विजय भएको खुशीयालीमा हिले जात्राको शुरुवात गरिएको हो । खासगरी महादेव र देवासुरबीच महासंग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकोले सोही दिनलाई आधार मानी  जात्रा मनाउन शुरु गरिएको बुढापाकाहरु बताउँछन् ।

 जात्राको अवसरमा नेवार समुदायले देवता दैत्य युद्धलाई अभिनयको माध्यमबाट देखाउने गर्दछन् ।
यस किसिमको जात्राले नेवार समुदायका एक आपसमा सम्वन्ध वलियो हुने गरेको सुजन गोपालीले बताए  । तर विगतको तुलनामा जात्रामा सहभागिता कम हुँदै गएकोमा भने  चिन्ता व्यक्त गरेका छन ।

हिले जात्रा हेर्नको लागि थाहा नगर लगायत आसपासका गाउँपालिका सहित काठमाण्डौ,धादिङ लगायतको जिल्लाबाट समेत मानिसहरु जात्रा हेर्न आउने गर्दछन ।
तस्विर : जनक लामा

0 comments

Write Down Your Responses