Powered by Blogger.
मनिषाहरुको पिडा, छाउपडी समस्या र समाधानका उपाय

लक्ष्मण न्यौपाने
सुस्त मनस्थिति भएकाले सबै कुरा बुझ्दिन र जसले जे भन्छ सरासर मान्छे मनिषा । “चौध वर्षको उमेर भैसक्यो। एउटै उमेरको दाइ दस कक्षामा पढ्छ , यो  लाटे मेरो पासो भई।“ अन्टिले निराश हुदै भन्नुभएको थियोे पोहोर साल दशैमा म घर गएको बेला । 

एकपल्ट निकुञ्जको जँगलमा बाख्रा चराउन साथि सङ्गिसँग गएकी मनिषा जँगलमा हराई ।घरपरिवार, छरछिमेक, गाउँले, नेपाल पुलिस र नेपाली सेनाको रातदिनको निरन्तर खोजी पछि तीन दिन पछि भेटिएकी थिई । 

उ पहिलोपटक प्रकृतिको हेपाहा र विभेदपुर्ण प्रक्रियाको सिकार भई चौध वर्षको उमेरमा । उमेर भएपनि मानसिक रुपमा सुस्त उ पहिलोपटक रजस्वला हुँदा उही साँस्कृतिक कुरितिको परिबन्धमा बाँधिई । उसलाई पनि ‘छाउपडी’ प्रथाको कुरितिले नछुने कुरै भएन । पहिलोपटक “छाउ“ भएकी मनिषालाई छाउ गोठमा एक्लै राखियो ।

एक त नपढेकी, सुस्त मनस्थिति, एक्कैछिन अघि भने सुनेका कुरा तेतिखेर नै बिर्सने उसलाई गोठमा एक्लै सुताइयो । छाउ हुनु भनेको के हो ? किन गोठमा बस्नु पर्ने ? घरमा बस्दैमा के बिग्रिन्छ ? देउता भनेको के हो ? किन रिसाउँछन ? आदि प्रश्नावली अझै अनुत्तरित छन् उसका लागि । 

“तँ ठुसुक्कै रहेइ, पुड्डि जा नाप पर जा । धारो छुइनो भयो“ आमाले गाली गर्दै भन्नुभयो । मनिषा अलि पर गएर आँगनको कुनातिर गई । दिउसो कसैले अलग्गै पानी हालिदिएपछि नुहाइ । नुहाइसके पछि घरमा अरु कोहि नभएको बेला घरको पालिमा आएर बसेकी थिई । अन्टि कराइहाल्नु भयो “मरिगई मापकि“, ह्याँ किन आई , साँटा पुड्डि पर मर ।“

अन्टिले गाईको गउत र सुनपानिले घर चोख्याउनु भयो। अनि कुलदेउता र देविका नाममा बानु (देउतालाई भाकल राख्ने) हाल्नुभयो ।

घर बाहिर छाउगोठ, त्यो पनि बिना झ्यालढोका, तराईको ठाउँ जहाँ अनेकौं विषालु सर्पको डर, निकुञ्जको नजिकैको बस्ति भएकोले जँगलि हात्ती, बाघ तथा अन्य जनावरको भय, आपराधिक मानविय कुकर्मको डर हुने भएकोले पनि छाउपडिलाई एक्लै अँध्यारो रात काट्न कति गाह्रो हुदो हो? अझ त्यसमाथि एक अबोध सुस्त बालिकालाई कति सास्ती हुँदो हो । 

छाउ भएको पाँच दिनपछि मात्रै चोखिएर घर पसेकि उ टोलाउँथी र उ सँगैका साथीहरूलाई भन्ने गर्थी “म त छाउ भएँ“ । साथिहरु गिज्याउँथे र लाज मान्थे। किनकि छाउ हुनु पनि लाजको कुरा हो र े। 

एक त बाहुन, पुजारीको घर, अन्धविश्वासले एकदमै जरा गाडेर बसेको घरपरिवार र समाज , यस्तोमा मेरो घर त अछुतो नहुने कुरा आमाको सपनामा पनि पर्दैन । छाउ भएको बेला महिला दिदिबहिनीहरु स्वस्फूर्त गोठमा जाने गर्छन् र उहीँ एउटै डर र भय को त्रासमा काला सुनसान रातहरु कटाउन बाध्य पारिन्छन् ।

खासगरी महिनावारी भएको बेला सुदुर पश्चिम र मध्य पश्चिमका ब्राह्मण, क्षेत्री, ठकुरी तथा दलित समुदायका महिलाहरू छुट्टै गोठमा बस्ने गर्छन् । छाउ भएको बेला उनीहरु घरबाट निकालिन्छन नै, पोषिलो खानेकुरा, शारीरिक स्वास्थ्य, सामाजिक कामकाज, धार्मिक चाडबाडबाट पनि बन्चित हुन्छन् । 

हिमाली र पहाडी क्षेत्रमा कुरितिको रुपमा मौलाएको छाउपडि प्रथा बसाइँसराइको क्रमसँगै तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके लगायतका जिल्लाका पहाडी समुदायमा पनि रुढीबादी परम्पराको निरन्तरता बनेको छ, एक साँस्कृतिक कुनियमको उपज बनेको छ ।

मनिषा एक प्रतिनिधि पात्र मात्रै हो । हामिले दैनिक रुपमा सुन्दै आएका छौँ, छाउपडिले निम्त्याउने नियति र समस्याहरु । पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, दैलेख, कालिकोट, जाजरकोट लगायत अधिकांश भेगहरुमा र केही पश्चिम नेपालका तराईका जिल्ला जहाँ पहाडी समुदायको उपस्थिति छ त्यस्ता ठाउँमा छाउ भएका महिलाहरू अलग्गै गोठमा बस्नु परेको बाध्यताले कहिले चितुवाको आक्रमण, कहिले सर्पको डसाई, कहिले बिच्छी लगायतका अन्य बिषालु किटपतङ्गको मारमा त कहिले अमानवीय दुर्ववहारको कारण एकदमै कठिन, दयनीय जीवन गुजारा गरिरहेका छन।

पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके लगायतका जिल्लामा बसोबास गर्ने पहाडी समुदायले अझैसम्म पनि छाउपडी प्रथालाई आफ्नो एक सभ्य संस्कृतिको नमुनाका रुपमा चित्रण गरिरहेका छन् जब कि यो कुप्रथा सिङ्गो देशका लागि एक चुनौतीपूर्ण समस्याका रुपमा जरा गाडेर रहेको अवस्था छ । सम्पुर्ण रुढीबादी कुसंस्कारको चुरो कुरो भने धार्मिक अन्धविश्वास र चेतनाको अभाव नै रहेको छ ।

छाउपडी, नछुइने भएको, पर सर्ने, छाउ, आदि नामले परिभाषित महिनावारी विशेषगरी सुदुर पश्चिम र मध्ये पश्चिम क्षेत्रका क्षेत्री, ब्राह्मण, ठकुरी तथा दलित समुदायमा व्याप्त रहेको धार्मिक अन्धविश्वासको निरन्तरता बनेको छ “छाउपडी“। अर्थात महिला माथिको एक विभेदकारी प्राकृतिक नियम हो। (यहाँ विभेदकारी भन्नाले प्रकृतिले नै विभेद गरेको होइन, प्राकृतिक उपहार माथिको कृत्रिम विभेदलाई भनिएको हो। )

वर्तमान शिक्षित र सभ्य मानिएको समाजमा पनि यस्ताखाले असभ्य र अमानविय विभेदकारी प्रथाहरु अन्त्य हुन नसक्नुमा स्थानीय बासिन्दा, स्थानीय स्तरमा सामाजिक सुधारका काम गर्छौं भन्ने सरकारी तथा गैरसरकारी संघसंस्था, राजनीतिक संस्थाहरु र राज्य सबै उत्तिकै जिम्मेवार छन् ।

तराईका जिल्लामा त्यहाँका आदिवासी थारु र पहाडी समुदायको मिश्रीत बस्ती छ । दुवै समुदायका केही समान सांस्कृतिक र धार्मिक मुल्य–मान्यता भएतापनि केही रीतिरिवाज र संस्कार भने भिन्न छन् त्योपनि एउटै हिन्दु धर्मको परिधिभित्र । भुगोल, ठाउँ, जात, भाषा आदिका हिसाबले केही सामाजिक संस्कार फरक हुनु सामान्य कुरा हो तर एउटै प्राकृतिक नियममा गहिरो र अस्वभाविक खाडल हुनु त आश्चर्यजनक छ ।

एउटै टोल छिमेकमा बस्ने थारु समुदायका महिलाहरू महिनावारीलाई सामान्य रुपमा लिन्छन् र उनिहरु घरमै बस्छन् । आफ्ना सबै कामकर्तव्य आफै पूरा गर्छन् ।

“दिदी तपाईंको चलनमा महिनावारी घर बाहिर बार्ने चलन छैन र ?“ मैले मेरो नजिकै छिमेकी भएकी सीता थारुलाई सोधेँ। “अँह, हामी त सरसफाइ गरेर घरमै बस्छौं।““अनि देउता रिसाउँदैनन् त ?“ 

“हाहाहा“ उनले हाँस्दै भनिन्।“देउताले त आफैले रचना गरेको संसार चलाउन दिएको उपहार हो। अनि किन रिसाउनु नि देउता ?“ उल्टै प्रतिप्रश्न गरिन्।

“अहिलेसम्म केही तेस्तो नराम्रो भएको छ, रजस्वला हुँदा घरमै बसेर?“ मेरो अर्को जिज्ञासा ।“नाईं नाईं कसैलाई केही भएकोे छैन। हाम्रो त पुर्खौँ देखि घरमै बस्ने चलन छ।“ उनले भनिन्।

धर्म एउटै, मान्छे उही, प्रकृति उही, प्रकृतिको उपहार (उनै थारु महिलाको भनाइमा रजस्वला) उही । अनि यति विघ्न फरकपना किन त ? मेरो मनमा प्रश्नको ज्वारभाटाले घोचिरह्यो।मनमा अनेकन तरङ्गहरु बहिरहे ।

विश्वमै सबैभन्दा उदार र राम्रो मानिएको(अरु धर्मलाई अनुदार र नराम्रो भन्न खोजेको होइन) हिन्दुधर्मको एउटै प्रकृतिको संस्कारमा पनि यति धेरै भिन्नता? आखिर किन? कहिलेसम्म ? 

एउटै छिमेकमा थारु समुदायका दिदीबहिनी महिनावारी हुँदा घरमै अनि हामी सुदुर र मध्य पश्चिमका समुदायका केही पहाडी समुदायका दिदिबहिनीहरु घर देखि पर असुरक्षित गोठमा बस्नुपर्ने  ? 

छाउ भएका महिलाले घरमा बस्न नपाउने मात्र होइन खानेकुरा, खेतबारी, गाईभैंसि, तथा अरु मान्छेलाई समेत छुन पाइदैन र यदि छोइहालेमा देउता रिसाएर गाई भैंसी मर्ने, अन्नबालि कुहिने, मान्छेलाई हानि हुने आदि जस्ता फगत मनगढन्ते रुढीबादी कुरामा विस्वास गरिन्छ। यदि यस्तैखाले अनर्थ हुने नै भए पनि अरु समुदायका महिला घरभित्रै बस्दा किन हुदैन? के उनीहरुका देउता छैनन् ? यस्ता विभिन्न किसिमका प्रश्नावली ले एकचोटि त आफ्नै कुप्रथा जन्माउने संस्कार र धर्मलाई नै तीलाञ्जली दिउँ जस्तो लाग्छ । तर यो नै पनि त समाधान होइन।

अशिक्षित र पिछडिएको समुदाय (सबै होइनन्) भनिएपनि थारु समुदायमा केही यस्ता अन्धविश्वासी कुराहरु रहेनछन् । विडम्बना, हामी कथित माथिल्लो जातका सभ्य र शिक्षित भनौंदाहरु कति धेरै रुढीबादी र अन्धविश्वासि रहेछौं। 

छाउपडी प्रथाको निरन्तरताको माध्यम धार्मिक अन्धविश्वास, अशिक्षा, चेतनाको कमि नै मुख्य रहेका छन् । पछिल्ला केही वर्षयता शिक्षाको स्तर बढेपनि शिक्षित पुस्तामा नै चेतनाको अभाव रहेको देखिन्छ । अशिक्षित र पुरानो पुस्ताले त चलिआएको रिति हो भनेर छाउपडी प्रथालाई छोड्न नमान्नु त सामान्य थियो तर अहिलेको शिक्षित युवा पुस्ता पनि यस्ता कुप्रथा प्रति अझै संसय रहनु दयनीय र साँघुरो मानसिक विचलनको पर्याय हो।

केही महिनाअघि मात्र अछाम, दैलेख, सुर्खेत, बाजुरा लगायतका जिल्लामा छाउ भएर गोठमा पिडादायी नाजुक अवस्थामा बस्नुपर्दा छाउगोठमै प्राण आहुति गर्नुपर्¥यो। दिनहुँ छाउगोठमै महिलाहरू अन्य अमानवीय व्यभिचारका सिकार भइरहेका छन् । 

हाम्रो समाजमा सयौं मनिषाहरु यसरी कष्टकर छाउपडि प्रथाको कारणले जीवनमरणको खेलमा फसिरहेका छन्। अझ त्यसमाथि शारीरिक र मानसिक रुपमा अशक्त, सामाजिक र आर्थिक रुपमा विपन्न परिवारका महिलाहरू बढ पिडित छन्।

धर्म कला, संस्कृति (परम्परा, सभ्यता र सामाजिक विकासको आधारशिला हो र हुनुपर्छ। धर्मले मानिसको सर्वा्ङ्गिर्ण विकास, समाजको सामाजिक(सांस्कृतिक उत्थान र परिवर्तन, सकारात्मक मुल्य(मान्यतालाई स्थापित गर्न सक्नुपर्छ । तर धर्मका नाममा गरिने क्रुर अमानवीय विभिन्न रुढीबादी परम्परालाई निर्मुल पार्नुको विकल्प छैन। यसका लागि प्रथमतः स्थानीय महिला, युवा पुस्ता, धार्मिक व्यक्तित्व, सामाजिक परिचालक, नागरिक अगुवा, मानवअधिकारकर्मि, राजनीतिक नेतृत्व, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायत सबै सरोकारवाला एकताबद्ध भएर लाग्नुपर्ने भएको छ ।

छाउपडि अन्त्यका लागि कामहरू नभएका भने होइनन्। सर्वोच्च अदालतले छाउपडिको नाममा गरिने नारी दमनलाई एक सामाजिक अपराध र विभेदका रुपमा परिभाषित गरि यो अन्यायपूर्ण कुप्रथालाई उन्मुलन गर्न प्रभावकारी काम गर्न सरकारलाई आदेश दिएपनि खासै उपलब्धि प्राप्त हुन सकेन । 

समाजमा धार्मिक मान्यतामा आधारित रहि जरा गाडेर बसेको छाउपडी प्रथाको अन्त्य एकैपटक नाटकयि रुपमा त हुन सक्दैन तर दृढ रुपमा सबै सरोकारवाला निकाय, राज्य र जनस्तरबाट जनचेतनामूलक कार्यक्रम गरि बिस्तारै कम गर्दै अन्त्य गर्न नसकिने होइन ।

भर्खरै मात्र छाउपडि प्रथा अन्त्य सम्बन्धि अलिकति आशावादी कडा कानुन आएको छ, जसअनुसार छाउपडीको नाममा गोठ बनाउने र महिनावारी भएका महिलालाई गोठमा सुत्न बाध्य पार्नेलाई कम्तीमा तीन महिना जेल वा तीन हजार रुपैया जरिवाना अथवा दुवै सजाय दिइने व्यवस्था गरिएको छ  । छाउपडी निर्मुलका लागि गरिएको यो एक सकारात्मक प्रयास हो। 

कानुन मात्रै बनाइनुले मात्रै समस्या समाधान हुदैन । यो परिवर्तित नयाँ कानुनको कार्यान्वयन सहि ढंगले हुन सक्यो भने मात्र छाउपडी अन्त्य हुनेछ । अन्यथा यस कुप्रथा विरुद्ध अझै कति लड्नुपर्ने हो यत्तिकै भन्दा अत्युक्ति होला ।


0 comments

Write Down Your Responses