Powered by Blogger.
नेपाल आईडलको यात्रा टुङ्गिएपनि मेरो म्युजिकल ‘जर्नी’ टुङ्गिएको छैन

सुरज थापा, नेपाल आइडलका ‘टप ६’

अहिले सर्बाधिक रुचाईएको एउटा  रियालिटी शो हो  नेपाल आईडल । एपिवान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुँदै आएको नेपाल आईडलले एक कुशल गायक जन्माउनेछ,  जुन अन्तिम चरणमा छ । त्यस मध्ये हजारौं प्रतिस्पर्धीहरुबाट छानिंदै ‘टप ६’ मा पुगेको एउटा नाम हो सुरज थापा । 

उनी प्रतिस्पर्धाबाट बाहिरिए पनि सारा दर्शकका नजरमा एउटा आईडल समान मन मष्तिस्कमा रहन सफल भएका छन् । प्रस्तुत छ, उनै सुरज थापासंग उनको जीवन भोगाई र नेपाल आईडलसंग सम्बन्धित  रहेर गरिएको कुराकानीः
 
नेपाल आइडल भन्दा अगाडिको सुरज थापाको बारेमा संक्षिप्त बताइदिनुस न ?

आइडल अगाडिको कुरा गर्नु पर्दा  मेरो रुची चाहीं म्युजिकमै थियो सानै देखि ।  २०६० सालमा एस.एल.सी पछि काठमाडौं आँए । बुवा र्इिन्डयन आर्मी भएकोले मलाई आर्मी बनेको हेर्न चाहनुहुन्थ्यो । त

र म ममीसंग अलिकति बाटो  खर्च लिएर साथीसंग भागेर काठमाडौंं आँए । बुवा रिसाइरहनु भाथ्यो । आफ्नो मान्छे कोही थिएनन् सङ्घर्षमै बित्दैथियो काठमाडौंमा जीवन ।

काठमाडौं छिरे पछि शुरुमा के गर्न थाल्नु भयो ?  
                   
आफ्नो मान्छे कोही नभएको भएर शुरुमा त धेरै नै गाह्रो भयो । बागबजारमा डेरा लिएर आरआर क्याम्पस भर्ना भएँ । अनि जे भेट्यो त्यही सानो तिनो काम  गर्न थालें । चाउचाऊ, बिस्कुट बेच्ने , झोलामा हालेर स्याम्पु क्रिम बेच्दै हिड्ने काम गरेँ । 

कपडा पसलमा भुईं अनि सिसाहरु पुछ्ने काम गर्न थालेँ । जे होस कलेज फि र डेरा भाडाको जोहो थियो ।

संगितको लागि काठमाडौ छिर्नु भाका,े अनि कसरी बढ्यो त साँगीतिक  यात्रा ?

आरआरमै म्युजिक सिकेको थिएँ । एक पटक एउटा एफएमको गायन प्रतियोगीतामा प्रथम भएँ । त्यसपछि मैले । श्रद्धेय गुरु लाक्पा शेर्पासँग १ बर्ष क्यालोडिक्स ईन्स्टिच्युटमा म्युजिक सिक्ने मौका पाएँ । गुरुले नै एउटा दोहोरी साँझमा हार्मोनियम बजाउने काम दिलाउनु भयो  । 

पछि स्टेजमा गीत गाउन थालेँ ।  बिस्तारै आफ्नै ‘शुत्र ब्यान्ड’ खोलेर रेष्टुरेन्ट, बिहे ,बर्थडे आदीमा स्टेज प्रोग्राम गर्न थालियो र म्युजिकमै अलि बढी केन्द्रीत भएँ ।

गीत रेकर्ड अनि एल्बमको सोच कहिले आयो त ?

एल्बमको सोच चाहीं त्यही ब्याण्ड चलाईरहदा नै आएको हो  । तर आर्थिक अवस्था त्यस्तै भएकोले एक बर्षमा एउटा गीत रेकर्ड गर्दै गर्न थालेँ । पैसा बढी लाग्ने भएकोले मलाई दश बर्ष नै लाग्यो क्रन्दन एल्बम निकाल्न ।

क्रन्दन कैले निस्कियो र यसमा कति वटा वटा गीतहरु छन् ?

यो २०७० साल तीरको कुरा हो । यसमा ६ वटा गीतहरु छन् । ‘बहुला हुँ , म बहुला’ भन्ने पनि यसैको एउटा गीत हो ।

एल्बम पछाडि के कस्तो सजिलो  भयो त तपाईको साँगीतिक यात्रामा ?

एल्बम रेकर्डिङ हुँदा हुँदै पैसाको अभाब भयो । परिवारको ‘सपोर्ट’ थिएन । त्यही बेला मलाई बहराईनमा गीत गाउने मौका मिल्यो । त्यसपछि उतै गएँ र बहुलाको भिडियो बनाउन सकें जसमा प्रियङ्का कार्की र सौगात मल्लले अभिनय गर्नु भएको छ ।

 त्यस पछि गीतले चर्चा त बटुल्यो तर  सि.डी. विक्री हुन छोडिसकेको थियो त्यो बेला लगानी भने उठाउन  सकेन एल्बमले । तर मलाई केही मानिसहरुले गायक भनेर चिन्ने भइसकेका थिए ।

बहराइनबाट कहिले फर्किनु भयो अनि बहराईन बस्दाको अनुभबको बारेमा नि केहि बताईदिनुस न ?  

त्यहा एक बर्ष बसेंँ । बाहिरको ठाँउ, नेपालको याद त आइरहन्थ्यो । त्यहा रहँदा पनि आफूलाई केही हद सम्म निखार्न पाएँ । कमाउनु  भन्दा जोगाउनु ठुलो कुरा रहेछ । जे होस त्यहाको बसाई प्रभाबकारी नै रहन गयो । 

कसरी आइपुग्नु भो नेपाल आईडलको ढोका सम्म ?  
  
हुन त  म ईन्डियन आईडलमा पनि सहभागी थिएँ । दिल्लीको अडिसनबाट छनौट नभएपछि अर्को हप्ताको अडिसनको लागि मुम्बई गएँ । त्यहाँ उदितनारायण झा सरसँग केही सिक्ने मौका पाएको थिएँ । 

घरबाट दाजुभाईले नि ‘धेरै ठाऊँमा प्रयास गरिस्, यसमा पनि जा’ भनेकोले नै सहभागी भएँ । हुनत प्लेटफर्म  खोजेर बसिरहेकाहरुलाई कसले ‘गर’ भन्न पर्छ हैन र ?

आशावादी हुनुहुन्थ्यो आईडलको टप ६ सम्म आईपुग्छु  र यति धेरै देश बिदेशमा रहनु भएका नेपालीहरुबाट  रुचाईन्छु भनेर ?
   
हुनत हजारौँ बाट छानिदैँ आईरहेको थिएँ । ‘टप १८’ बाट नै अब के हुने हो भन्दै अघि बढ्दै थिएँ ।  तर ‘टप १०’ मा झलकमान गन्धर्वको ‘आमाले सोध्लिन्.....’  भन्ने गीत गाएको थिए, जुन देश बिदेशमा धेरै नेपाली जनताले मन पराइदिनु भयो । त्यही नै मैले मेरो सफलता हो  भन्ने सोचेको थिए । 

पहिलो नै हुन्छु भन्ने त ढुक्क थिइन किनकि त्यो नितान्त रियालिटी शो थियो र सबै कुरा भोटमा निर्धारित थियो । तर मलाई नै नेपाल आईडल मान्नेहरु थुप्रै छन् । मलाई माया गर्ने दर्शक श्रोताहरु पाएको छु,  यसैमा खुशी छु ।

हेर्दा गम्भीर देखिने सुरज थापा कसरी नेपाल आईडलमा ह्याप्पी सुरज थापा भनेर चिनिए त ?  

मेरो ‘नेचर’ चाँही सधैँ मुस्कुराईरहने छ । कहिले काँही स्टेजमा गीत गाउँदा चाँहीं सिरियस देखिन्छु । बाहिर चैं ‘स्माईल’ नै हुन्छु । जीवनमा धेरै उतार  चढाव भोगेको छु । कहिले काँही गम्भीर देखिनु  स्वभाविकै हो । 

तर म सकारात्मक सोच लिन खोज्छु मनमा । केही दुख भयो भने नी भगवानले अर्को ढोका खोल्नुहुन्छ जस्तो लाग्छ । झन् नेपाल आईडलमा आए देखि म खुशी नै छु ।
  
पछिल्लो समयमा बुबाबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?  

सन्तानको सफलतामा कुन बाउआमाको मन नरमाउला र ? आईडलमा क्रमश अगाडी बढ्दै गएँ । अनि त बुबा नि खुशी हुनुभयो । भोटिङ् शुरु भएपछि गाऊँ घरमा नि गएर भोट माग्नुभएछ । पछिल्लो समयमा बुवा लगायत सम्पूर्णको योगदान ठूलो रहन गयो । मलाई भोट गर्नुहुने  आम नेपाली जनताहरुको योगदान अविष्मरणीय छ ।

साँच्ची नेपाल आईडलको गला राउण्डको टप ५अर्थात एपिसोड ३० मा सुजाता पाण्डेलाई दिईएको ममी सरप्राईज दर्शकहरुका लागी सरप्राईज हुन सकेन नि, कुरा के हो ?

यो चाहीं ‘इडिटिङ’ थोरै ध्यान नपुगेको हो । यो एउटा रियालिटी शो हो र यसका सबै कुरा रियल नै हो । तर टिभीमा देखाउनु पुर्व हुने ईडिटिङ्गमा कमजोरी देखिएको मात्र हो । यसमा अन्यथा सोच्नु हुन्न । 

ठुला ठुला काममा सानो तिनो कमजोरी त जे मा नि हुन्छ । फुटेजहरु मिस प्लेस भएको हो । खासमा त्यो सरप्राईज नै हो । नाटकीय केही हुन्न । 

टप फाइभको  शोमा आउनुभएको गेष्ट जज गायक रामकृष्ण ढकालको बिषयमा व्यापक बिरोध र चर्चा भयो । के लाग्छ तपाईलाई यस बिषयमा ?

कसलाई सपोर्ट गर्ने अनि कस्को फेभरेट को ? यो त  आआफ्नो भईहाल्छ । उहाँले नि ईमोस्नल भएर भन्नु भएको हो । तर त्यहाँ गएर सबैको मनोबल बढाउन पर्ने ठाउँमा जानअन्जानमा आत्मबल घटाउने काम  भएकै हो । 

भन्ने नै हो भने त्यो  कुरा कुर्सीमा बसेर भन्दा क्यामेरा बाहिर भन्नुभाको भए बेटर हुन्थ्यो जस्तो लाग्छ मलाई  । त्यहाँ आश त  सबैलाई हुन्छ मेरो लागि केही राम्रो भन्दिनुहुन्छ कि भनेर । 

तपाईको नजरमा अबको नेपाल आईडल को बन्छ जस्तो लाग्छ ?

यो त भन्नै सकिन्न । रियालिटी शो हो र जनताको  भोट कसलाई बढी खस्छ, त्यो नै थाहा हुन्न । तिनै जना एक से एक छन् । कसैको भोकल राम्रो छ । कसैको हाउ भाउ राम्रो त कसैको ओभरअल पर्फमेन्स राम्रो छ । भन्ने नै हो भने आ –आफ्नो सबैमा क्वालिटी छ । मेरो नजरमा सबै समान नै लाग्छन ।   

आगामी दिनका तपाईका योजनाहरु के के छन् त ?  

अचेल त म ब्यस्त नै छु । देश तथा बिदेशबाट थुप्रै कार्यक्रमको अफरहरु आईरहेछ । यसको अलवा अब म आफैं क्रियशन गर्छु , गाउँछु ।  तपाईहरुको यति धेरै माया र साथ पाएकोछु । नेपाल आईडलको यात्रा टुङ्गिएपनि मेरो म्युजिकल ‘जर्नी’ टुङ्गिएको छैन ।  रोकिएको छैन ।

अन्त्यमा तपाईलाई भोट दिने , नदिने सम्पूर्ण दर्शक , श्रोता र देश बिदेशमा रहनु हुने नेपाली जनताहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त मलाई भोट गर्नुहुने र मन पराउनुहुने जनताहरुलाई थ्याङ्कयु भन्न चाहन्छु । नेपाल आईडललाई नि धेरै धेरै धन्यवाद हाम्रो लागि एउटा प्ल्याटफर्म हो यो । यसैमा टेकेर यत्रो विशाल कार्यक्रमको ‘टप ६’ बनाईदिनु भयो । म बाहिरीएपछि धेरै जना रुनुभयो , निराश हुनुभयो । 

अब म नेपाल आईडल बाहिर रहेर संघर्ष गर्छु । सधै तपाईहरुलाई मनोरन्जन गराईरहन्छु । नेपाली गीत संगीतलाई माया गरिदिनुहोला ।

प्रस्तुतिः सुवास खुलाल





0 comments

Write Down Your Responses