Powered by Blogger.
बाहुनक्षेत्री महिलाहरुको रोजाइ बन्दैछ लुगा सिलाउने पेशा


गोविन्द्र कुँवर

अछाम  । केही वर्ष अघिसम्म सिलाई कटाई दलित जातीको काम भनी हेयको दृष्टिले हेन्थ्यिो । तर, अहिले सिलाई कटाई पेशा र जातभन्दा पनि ब्यवसाय बन्न थालेको छ । 

ब्राह्मण जातीका महिला पुरुष पनि अहिले सिलाई कटाईमा आर्षित हुन थालेका छन् । पछिल्लो समय अछाममा कथित माथिल्लो जातका महिलाहरु सिलाई कटाई पेशातिर अग्रसर हुन थालेका छन् । सिलाइ कटाइबाट धेरैले राम्रो आम्दानी गरिरहेका छन् ।

१५ वर्ष अघि श्रीमान् बेपत्ता हुनु भएका अछाम मंगलसेन नगरपालिका ५ की ३५ वर्षीय ईन्द्रा भाटको सिलाइ कटाई पेशा सहारा बनेको छ । ३ वर्षदेखि सिलाइ कटाइ पेशामा लाग्नु भएका उहाँले जिविकोपार्जन देखि छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने काम समेत यसैबाट गरिरहनुभएको छ । 

मंगलसैन नगरपालिकी चन्द्राकुमारी भाट पनि बिहान कलेज पढ्ने र दिउँसो सिलाइ कटाइको काम सिक्ने गर्नुहुन्छ । पहिले पहिले दलितको पेशा भन्ने गरिए पनि अहिले त्यस्तो छैन । सबैको आकर्षण सिलाइ कटाइतिर बढिरहेको छ । 

मंगलसेनकी जानकी बोहोरा अशिक्षित महिलाले पनि गर्न सक्ने  पेशा भएकाले सिलाई कटाइको काम गर्न सजिलो भएको बताउनुहुन्छ । 

केहीले सिलाई कटाई पेशा व्यवसाय मात्र गर्छन् भने कोही अन्य व्यवसायसंगै सिलाई कटाई पनि गरिरहेका छन् । तर थुपै्र सिलाइ केन्द्र र व्यवसायीहरुका कारण कपडा सिलाइको दर भने एउटै छैन ।

समाज पनि विस्तारै आधुनिकता संगै ढल्किएपछि मानिसका हरेक सोच र व्यवहार बदलिनु स्वभाविक रहेको नागरिक अगुवाहरुको तर्क छ । सिलाई कटाई पेशामा स्कुल पढ्ने किशोरी, गृहिणी, व्यापारी लगायत सबै महिलाहरु व्यवसायीको रूपमा लाग्न थालेका छन् ।

साँझ बिहान घर धन्दा गरेर दिउँसो काम गर्न पाइने र आम्दानी पनि हुने भएकाले काम गर्न सजिलो भएको जानकी बोहरा बताउनुहुन्छ । सिलाई कटाई ब्यवसाय गरेर हरेक महिलाले महिनामा झन्डै १० देखि १५ हजार जति कमाउने गरेका छन् । 

गाउँ घरमा नबुझेका दिदी–बहिनीहरुलाई सिलाईको बारेमा बुझाउन र आत्मनिर्भर गराउन र गाउँ बस्तीका महिलाहरुलाई सिलाई कटाई तर्फ उन्मुख गराउने लक्ष्यले आफुले सिलाई कटाई गर्ने चाहेको मंगलसैन नगरपालिका १ कुन्तिबन्डालीकी जयन्ती गिरीले बताइन् । 

दिनमा राम्रो आम्दानी हुने र घर खर्चको लागि अरुलाई गुहार्नु नपर्ने गिरीको भनाई छ । सिलाई कटाई एकल महिलाका लागि त झन् सहारा बन्न थालेको छ ।  नपढेको र अन्य आय आर्जन नहुने महिलाहरुलाई तेल–साबुन किन्न अरुको भर पर्नबाट जोगाउन सिलाई कटाई साहरा भएको बताइन्छ ।

पहिले गाउँ घरमा सिलाई कटाईका मेसिनहरु बिरलै मात्रामा देखिएता पनि अहिले चाहि जता ततै देखिने गरेको छ । सिलाई कटाई आफनो रोजाई भएकोबारे गजत शाही भन्छिन्– ‘आफूले सिप सिकेर काम गर्दा घर परिवार चलाउन सजिलो हुने मात्र होइन छोरा छोरी पढाउँदा होस् या अन्य साना तिना काम आफै गर्न सकिने र काम गर्दा कसैलाई गुहार्न पर्दैन ।’ यो लहरसंगै जिल्लामा रहेका निजी स्रोतका शिक्षक, निजी क्षेत्रका केही कर्मचारीभन्दा  पनि सिलाइ कटाइका काम गर्नेहरुले बढी कमाउने गरेका छन् ।

 घरमा नै सिलाई कटाई गर्न सकिने र सामान्य तालिम लिएर पनि काम गर्न सकिने भएकाले कम खर्चिलो हुन्छ । सिलाई कटाईमा लाग्ने महिलाहरुलाई सरकारले निशुल्क तालिम र मेसिन किन्न ऋण समेत दिने गरेको छ । 

पुरानो संस्कारलाई चुनौती दिँदै सिलाई कटाई पेशामा महिलाहरुको उत्साहजनक सहभागिताले समाज परिवर्तन र विकासमा सकारात्मक सन्देश दिएको छ भने महिलाहरुलाई पनि आर्थिकरुपमा सशक्त बनाएको छ ।



0 comments

Write Down Your Responses