Powered by Blogger.
उत्तरी मकवानपुरको आत्मसम्मान र भेगीय प्रतिनिधीत्वका लागि मेरो उमेद्वारी हो


मिलन कार्की, स्वतन्त्र उमेद्वार, प्रदेश सभा सदस्य, मकवानपुर

उत्तरी मकवानपुरको केन्द्रभाग थाहा नगरपालिका–४ दोबाटोका ३६ वर्षिय युवा मिलन कार्कीको परिचय आज फेरिएको छ । हिजोसम्म प्राय व्यापार व्यावसाय तथा समाजसेवामा मा मात्र बढी चिन्तित रहने उनी विकासका योजना र त्यसमा युवाको हस्तक्षेपकारी  भूमिका स्थापित गर्ने मान्यताका साथ चुनावी मैदानमा छन् । 

यसअघि सबैसंग राम्रै समन्वय भएका तर कुनै दलमा संगठित भएर नलागेका उनी अब भने खुलेआम राजनीतिमा आएका छन्, त्यो पनि आम युवाहरुको प्रतिनिधित्व गर्दै । 

हाल जनता बैंकसंग मर्ज भएको सिद्धार्थ डेभलपमेन्ट बैंकको बोर्ड अफ डाइरेक्टर समेत रहेका कार्की मकवानपुर जिल्लाको उत्तरी क्षेत्रबाट ठुला कुनै पनि दलले उमेद्वार नउठाएपछि त्यो ‘भ्याकुम’ पुरा गर्न आफुले पहलकदमी लिनु परेको बताउँछन् । 

उत्तरी क्षेत्रमाथी लागेको आत्मसम्मानप्रतिको ठेसलाई चुक्ता गर्न सबैतर्फको साझा व्यत्तित्वका रुपमा आफुलाई अघि सारेका मिलन मकवानपुर जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत  क  तर्फको उमेद्वार हुन् । 

सानैदेखि समाजसेवामा समेत लागेका उनी ऋषेश्वर युवा क्लवका संस्थापक सदस्य तथा जेसीस लगायतका अन्य संस्थाहरुमा पनि आवद्ध छन् । प्रस्तुत छ उनीसंग दामन पोष्टले गरेको समसायमिक वार्ताः 

तपाँइको स्वतन्त्र उमेद्वारी केका लागि ?

उत्तरी मकवानपुरमा भेगीय हिसावले हेर्दा झण्डै ७४ हजार जनसंख्या छ । त्यसमध्ये थाहा नगरको मात्र ३१ हजार पाँच सय छ । सरसर्ती यस क्षेत्रको पुरै अवस्था हेर्दा जनसंख्याको वाहुल्यता यहाँ बढी तर यहाँको टाउको गनेर राजनीति गर्ने र अवशर लिने व्यक्तित्वहरु अन्यत्रको हुने भए । 

ठुला पार्टी भन्नेहरु नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा माओवादी केन्द्रका कसैले पनि यस क्षेत्रबाट टिकट पाएनन् । उहाँहरुको उत्तरी मकवानपुरलाई हेर्ने समग्र दृष्टिकोण राम्रो रहेन । 

यहाँ लामो समयदेखि त्याग गरेर आएका साथीहरु हरेक पार्टीमा नभएका हैनन् । माओवादी केन्द्रबाट विष्णु विष्ट आदर्श पुरानो नेता हो । हिजो जनयुद्धमा होमिनुभयो, शान्ति प्रक्रियामा आएपछि चुनावमा प्रेमबहादुर पुलामीजीलाई छोडेर जानुपर्ने स्थिति बन्यो ।

 त्यस्तै पछिल्लो चुनावमा नारायणकाजीजीलाई बाहिरबाट ल्याइयो । उहाँ पार्टीको उपाध्यक्ष भएपनि त्यहाँबाट पराजीत भइसकेपछि त्यो क्षेत्रलाई हेर्ने उहाँको दृष्टिकोण जिरो भइदियो । 

त्यसैगरी स्थानीय निकायको चुनाव आयो, त्यसमा पनि आदर्शजी जस्ता, अरुण रायमाझी, उर्मीला भट्ट, सकुन्तला गोपाली जस्ता हिजोदेखि पार्टीमा कटिवद्ध भएर लागेका व्यक्तिहरु वञ्चित भए । हुँदा हुँदा अहिलेको चुनावमा पनि माओवादी केन्द्रका तर्फबाट उत्तरी मकवानपुरबाटै उमेद्वारी रहनुपर्नेमा त्यसो नगरी अन्यत्र क्षेत्रबाट उमेद्वार ल्याउने र त्यहाँकालार्य खापा पार्ने काम भयो । 

यस हिसावले भन्न सकिन्छ, उत्तरी मकवानपुरलाई माओवादी केन्द्रबाट हेर्ने दृष्टिकोण पक्कै राम्रो छैन । 

त्यसैगरी एमाले अन्तर्गत पनि पहिले रामेश्वर रानाको चर्चा गरियो । उहाँ जुझारु, योग्य र इमान्दार व्यक्ति रहँदा रहँदै उहाँको उमेद्वारी पनि अन्तिम अवस्थामा आएर फिर्ता भएको देखियो । 



त्यस्तै अरु जुझारु र प्रतिवद्ध साथीहरु विष्णुप्रसाद ढकाल, महेश्वर सुबेदी, रामचन्द्र बल, अच्युतमप्रसाद ढकाल, विमल ढकाल, कल्याणविक्रम घलान, केदार बल, राजु नापित, कल्पना बलामी जस्ता व्यत्तिहरु हुनुहुन्थ्यो । 

त्यत्तीका योग्य व्यक्ति भइरहँदा पनि उहाँहरुको पार्टी गठवन्धनले गर्दा उहाँहरु पाखा पारिनुभयो । उमेद्वारी सम्म रहन नसकेको अवस्था रह्यो । त्यसैगरी नेपाली काँग्रेसबाट पनि उत्तरी मकवानपुरलाई प्रतिनिधीत्व गरी कसैलाई समेटिएन । 

जयराम लामिछाने दाई प्रतिनिधी सभा बाहेक प्रदेशमा आउन मन गर्नुभएन । उहाँले इच्छा नगर्दा पनि अघि बढाउन सक्ने व्यत्तिहरु उत्तरी मकवानपुरमा प्रशस्त हुनुहुन्थ्यो । 

इश्वरनाथ पौडेल, भरत लामा, कृष्णभक्त श्रेष्ठ, प्रमोद जोशी बाहेक पनि महिला नेतृहरुमा इश्वरी ठकुरी, राममाया केसीहरु पनि हुुुनुहुन्थ्यो । 

उहाँहरु जस्ता योग्य व्यत्तिहरु हुँदाहुँदै एउटा भेगलाइ नै माइनस गरेर उमेद्वारी दिएको अवस्था रह्यो । समग्रमा हेर्दा युवाहरुलाई हेर्ने र समेट्ने दृष्टिकोेण कुनैपनि पार्टीको पनि सकारात्मक पाइएन ।

हुनत यसअघि म विशुद्ध व्यवसायीक र सामाजिक सेवामा मात्र आवद्ध भई कुनैपनि पार्टीका संलग्न नरहेको मान्छे हुँ । यो सबै कुरा गम्भिर ढंगले विचार गरिरहँदा मैले माथी नाम लिएका व्यत्तिहरुमध्ये जस कसैले पनि बागी ढंगले उमेद्वारी दिनुहुन्थ्यो भने मैले उहाँहरुलाई बल बुताले भ्याएसम्म समर्थन गरेर जान्थें । 

तर त्यो अवस्था नआइसकेपछि उत्तरी मकवानपुरको भूगोल नै किन खाली हुन दिने भन्ने मेरो सोच पलायो । हरेक पार्टीका जिल्ला नेतृत्वले यो क्षेत्रलाई जहिले पनि पिछडा वर्गमा राखिरहने हो भने अब हामीले विद्रोह गर्नैपर्छ । 



हाम्रा साथीहरु चाँहि जहिले पनि पार्टीको झोले मात्र भएर हिँडीरहनु पर्ने हो ?आफ्नो हैसियत बनाउन किन नसक्ने ? तसर्थ सधैं थिचेर राख्ने प्रवृतिको विरुद्धमा मेरो उमेद्वारी हो । अझ भनौं, उत्तरी मकवानपुरको आत्मसम्मान र भेगीय प्रतिनिधीत्वका लागि मेरो उमेद्वारी हो ।

कसरी गतिविधी अगाडि बढाँउदै हुनुहुन्छ त ?

चुनावको रिङमा म आइसकेको छु । जनताहरुले पूर्ण रुपमा युवा साथीहरुलाई अगाडि बढाउनुपर्छ भनेर हौसला दिइरहनु भएको छ । मेरो व्यवसायीक पृष्ठभूमिलाई अब म नितान्त समाजसेवा र राजनीतिमा लगाउने प्रणका साथ मैदानमा ओर्लिएको छु । 

मेरो अबको सम्पूर्ण समय उत्तरी मकवानपुरका लागि खर्चने  छु भनेर मैले सार्वजनिक प्रतिवद्धता जनाउन चाहन्छु । 

नितान्त व्यावसायिक र व्यापारीक पृष्ठभूमिको मान्छे वर्षौ राजनीतिक मैदानमा काम गरेकाहरुसंग प्रतिश्पर्धा गर्न आउनासाथ जनताले पत्याउलान् त ?

एक खालको विकृति र विसंगतिको विरुद्ध मेरो उमेद्वारी हो । यस क्षेत्रमा पनि पार्टीका राम्रा राम्रा नेताहरु हुँदाहुँदै उहाँहरुलाई जहिले पनि झोला बोकाउने काम मात्र गर्नुभयो । 

यहाँबाट यसअघि पनि धेरै जनाले चुनाव जितेर जानुभएको थियो । हिजो हिरण्यलाल श्रेष्ठको पालादेखि अहिलेसम्ममा कसले कति काम ग¥यो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । 

म यही गाँउको भएको हुनाले पनि अन्यत्रबाट उमेद्वार बन्न आउने आगन्तुक साथीहरुलाई मलाई जत्तिको यो ठाँउको माया पक्कै नरहला । 

म कर्मनिष्ठ भएर जसरी यो ठाँउको लागि काम गर्न सक्छु अन्तबाट आएका उमेद्वारहरुले पक्कै त्यो नगर्लान् ।

म राजनीतिमा आउनुपर्ने सबैको आवाज थियो, उत्तरी मकवानपुरबाट तपाँइ जत्तिको व्यत्ति रिङमा आउनु भएको छ, तपााइलाई हाम्रो पक्कै समर्थन रहन्छ भन्नुभएकाले नै मलाई अन्य साथीहरुसंग प्रतिश्पर्धा गर्न सजिलो हुन्छ । 

वाम र लोकतान्त्रिक शक्तिहरुको वृहत गठवन्धन भइरहेको सन्दर्भमा जित नै त टाढाको कुरा होला, कति मत ल्याउने आँकलन गर्नुभएको छ ?

चुनावमा होमिइ सकेपछि जित वा हार स्वभाविक हो । यो एउटा प्रत्रियाको कुरा हो । मेरो हार भइरहँदा पनि म किञ्चीत किन दुखि रहन्न भने मैले व्यवासायीबाट एउटा प्लेटफर्म बनाएर राजनीतिमा आउने जमर्को गरिरहेको छु । 

मेरो कुनै दल छैन तर मेरा साथी, सुभचिन्तकहरु सबै दलमा छन् । मेरो उमेद्वारी स्वतन्त्र छ तर म सबैको हुँ । म आम युवाहरुको ढुकढुकी हुँ । म दामन पालुङवाशीको मात्र नभइकन उत्तरी मकवानपुरवाशीको र सिङ्गो प्रदेशको क्षेत्रको प्रतिनिधित्व गर्दैछु । 

आम मतदाताले सधैं उही पुरानो ढर्रा त्यागेर नयाँ चिज खोजिरहनु भएको छ । त्यसैले गठवन्धन हुँदैमा म आत्तिनुपर्ने अवस्था छैन ।

मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत क का आम आमा, बुबा, दाजु, भाई, दिदि र बहिनीहरुले मलाई पक्कै विश्वास गर्नुहुनेछ भन्नेमा आशावादी छु । उत्तरी क्षेत्रको तर्फबाट यो साहस उठाएको भन्दै मलाई सबैले अग्रिम बधाई दिइरहनुभएको छ । 

हरेक दलका चुनावी घोषणा पत्र आएको छ, तपाँइको चुनावी एजेण्डा के छ ?

विभिन्न दलहरुबाट आजसम्म जुन जुन एजेण्डा आएपनि पुरा भएका छैनन् । विगतका घोषणापत्रहरु पनि कुनै कार्यान्वयन भएका छैनन् तसर्थ म यो यो गर्छु भनेर अकल्पनीय कुराहरु उठाउन चाहन्न ।

 मैले यतिबेला युवाहरु जागरुक हुनुपर्छ भनेको छु । भूगोलको उचित प्रतिनिधीत्व हुनुपर्छ भनेको छु । सक्षम व्यत्तिले नेतृत्व गर्नुपर्छ भन्ने कुरालाई मैले बुलन्द ढंगले उठाएको छु । 

हामीकहाँ पर्यटनको व्यापकै चर्चा गरिन्छ तर चर्चा गरे जसरी विकास भएको छैन । दामनको चर्चा विगतमा पनि जस जसले गरे पनि काम पर्याप्त भएन । त्यसैले मेरो पहिलो एजेण्डा नै दामनलाई पर्यटनको एक महत्वपूर्ण गन्तव्य बनाउने नै हो । यसलाइ त्यो विन्दुमा पु¥याउन वृहत गुरु योजना तयार गर्नेछु । 

त्यसैगरी उत्तरी मकवानपुरको शिक्षापद्दती नसुधारी भएकै छैन । पुरानो शैलिले गइरहेको छ । आधुनीक शिक्षालई कम रुपले अपनाइराख्नु भएको छ । शिक्षा अघि बढाउन होमवर्क र टिमवर्क खोज्दैछु ।

 यसका लागि अग्रजहरु र शिक्षविद्संग बसेर मास्ट प्लान बनाउनेछु । केन्द्रबाट त्यसका लागि विशेष सहयोग लैजान पहल गर्नेछु । यसलाई गतिशिल बनाउन मेरो प्रयत्न हुनेछ ।

राज्यले वर्षौ पहिले दामनमा कृर्षि फर्म अर्थात वागवानी केन्द्र स्थापना गरेको थियो । अहिले त्यो केन्द्र झण्डै झण्डै बेवारिसे जस्तो भएको छ । त्यसमा नेताहरुको दृष्टि पुगेको छैन । त्यसलाई कृषि क्याम्पसको रुपमा विकास गरी पहल गर्नेछु । 

दामन र कुलेखानीलाई पर्यटन मार्गका रुपमा जोडिरहँदा कुन हिसावले आन्तरिक तथा वाह्य पर्यटनको विकास गर्न सकिन्छ भनेर सोच्न जरुरी छ । चन्द्रगिरी पनि अब भूगोलको हिसाले एउटै कित्ता भएको, त्यसलाई विशेष नजर लाएर हेर्नेछु ।

यसै क्षेत्रमा लिच्छवी कालदेखिका शिलालेखहरु अलपत्र रहेका छन् । त्यसको कुनै संरक्षण र प्रचारप्रसार छैन । यसैगरी धार्मिक महत्वको ऋषेश्वर महादेव मन्दीर, टिष्टुङको बज्रबाराही मन्दीर र आसपासको क्षेत्र, पालुङको इन्द्रायणी मन्दीर, चित्लाङको इतिहास बोकेको सातधारा लगायतको जिर्णोद्धार तथा चन्द्रागिरीका केवुलकार र भालेश्वर मन्दीरकोको पर्यटकिय महत्वको फाइदा उठाँउदै इन्द्रसरोबरको बोटिङ अनि हाइकिङको मज्जा लिएर स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा यस ठाँउलाई स्थापित गरेरै छाड्ने मेरो योजना छ ।

म आफैं पर्यटन व्यवसायसंगै लमो समयदेखि आवद्ध छु । त्यो सिप, क्षमता र लगानी पनि यस स्थानका लागि लगाउने मेरो विचार छ । त्यसैगरी जिल्ला नेतृत्वले जहिले पनि आमभन्जायाङलाई ध्यान दिँदैन, उक्त स्थान पिछडिएका नजरबाट ग्रसित छ, त्यसका लागि विशेष योजना ल्याउनेछु । चुनावमा जित हार जे भएपनि मेरो पहल यि सबै विकास निर्माणमा सक्ने जति र बुताले भ्याएजति हुनेछ । 

तपाँइको पारिवारिक पृष्ठभूमि माओवादी केन्द्रको रहेकोले अहिले स्वतन्त्र भनिएपनि तपाँइले वाम गठवन्धनको मत बिगारेर काँग्रेसलाई फाइदा पु¥याउने गरि प्रयोग भइरहनु भएको छ भन्ने आरोप छ नि ?

हिजो मेरो बुबाहरुको राजनीति भनेको स्वर्गिय रुपचन्द्र विष्टको जनमुखी राजनीति हो । भलै अहिले माओवादी पार्टीमा एकिकृत भएको छ । उहाँहरु रुदानेसंगै जनमोर्चा हुँदै माओवादी केन्द्रमा हुँदा पनि म भने अहिलेसम्म पनि कुनै दलको सदस्य छैन । 

बुबा पहिलेदेखि नै निरन्तर जनप्रतिनिधी पनि हो र अहिले पनि माओवादीमा आस्था राख्नुहुन्छ, तर मलाई बुबाको नजरीयाबाट हेरिदिनु भएन । म कुनै लाभको लागि पनि यो उमेद्वारी दिइरहेको छैन ।

 जिल्लाका सन्दर्भमा तिसौ वर्ष राजनीति गर्नेहरुको राजनीति पनि एकाध मान्छेले सखाप पारिदिएको अवस्था छ । तर यति भनिरहँदा समग्र मकवानपुरमा त्यस्ता प्रवृतिको विरोधमा म बोल्दैछु । 

त्यसैले मैले कसैलाई हराउने र जिताउने गरी उमेद्वारी पक्कै दिइरहेको छैन । केवल आफ्नै एजेण्डा स्थापित गर्न यो अभियानमा सामेल भएको हुँ । म जत्तिको युवा राजनीतिमा आँउदा विरोध होइन सबैको समर्थन पाइरहेको छु । 

अन्त्यमा आम मकवानपुरवाशीलाई केही सन्देश छ की ?

सुशुचित युवाहरुलाई प्रोत्साहन दिन आग्रह् गर्दै म विकासप्रेमी युवाहरुलाई आगामी दिनमा जनताको पक्षमा काम गर्नेगरी लतार्न पनि सम्पूर्ण मकवानपुर–२ अन्तर्गत क्षेत्र ख का जनतालाई मोबाइल चिन्हमा मतदान गरी मलाई विजयी गराउनुहुन आग्रह गर्दछु । 

म स्वतन्त्र भएर आँउदैछु । तपाँइहरुको साझा उमेद्वार हो । तपाँइहरुको ढुकढुकी बनेर आएको छु । तपाँइहरुको दुखमा मल्हम लगाउन भनेर आएको छु । 

उत्तरी मकवानपुरको मात्र होइन सिङ्गो मकवानपुरको विकासको लागि म कटिवद्ध छु भन्ने आग्रह गर्न चाहन्छु ।







0 comments

Write Down Your Responses