Powered by Blogger.
नुवाकोटका मतदाताले वाम गठवन्धनलाई सदैव साथ दिन्छन्


नारायण खतिवडा, प्रतिनिधी सभाका प्रत्यासी, नुवाकोट–२

नेकपा (एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा जिल्लामा लोकप्रिय इमान्दार र स्वच्छ छवि भएका नेतामा पर्छन । 

उनीसंग चार दशक अगाडिदेखिको राजनीतिक अनुभव छ । ६० वर्षिय खतिवडालाई नुवाकोटका सबै स्थान र समुदायका सम्वन्धमा जानकारी छ । तारकेश्वर गाउंपालिका वडा नं. २ तारुका घर भएका खतिवडा जनतालाई प्रत्यक्ष सेवा गर्न शिक्षण पेशा छाडेर पार्टी भुमिगत भएकै बेलादेखि राजनीतिमा होमिए ।

नेकपा  एमाले नुवाकोटका संस्थापकसमेत रहेका खतिवडासंग पार्टीको जिल्ला सदस्य, सचिवालय सदस्य हुदै दुई पटकसम्म निर्वाचित जिल्ला अध्यक्ष भई कार्य गरिसकेको अनुभव छ । 

सबैका ‘नारायण दाइ’को उपमाले प्रख्यात खतिवडासंग २०५४ सालदेखि तीन वर्षसम्म तत्कालीन जिल्ला विकास समितिको उपसभापति र दुई वर्ष सभापति भई जनताको कार्य सम्पादन गरेको अनुभव छ । 

सदरमुकाम विदुर समेटिएको क्षेत्र नं. २ मा कांग्रेस नेता अर्जुननरसिह केसीसंग वाम गठवन्धनका उम्मेदवार एमाले नुवाकोटका अध्यक्ष तथा जिविस नुवाकोटका पुर्व सभापति नारायणप्रसाद खतिवडा चुनावी मैदानमा भिडेका छन् । खतिवडा २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ मा निकटतम प्रतिद्वन्दी थिए । 

प्रस्तुत छ, त्यागी नेता खतिवडासंग हाम्रा विशेष सहयोगी देवचन्द्र भट्टले गर्नुभएको अन्र्तवार्ताका सारसंक्षेप । 

मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

म एक सातादेखि चुनावी प्रचारप्रसार अभियानमा सक्रिय भएर लागेको छु । नुवाकोटको पश्चिमी भेगमा रहेको मेघाङ गाउंपालिकामा चुनावी कार्यक्रम सकें । 

किस्पाङमा गरिरहेको छु । दुवै गाउंपालिका सचेत तामाङ समुदायका मतदाताको बाहुल्यता रहेको स्थान हो । अब नगर तथा अन्य गाउं केन्द्रीत कार्यक्रममा सकिय भएर लाग्छु । म हरेक गाउंमा पुग्दा मेरो विगतलाई साक्षी राखेर मेरो विजयका लागि मतदाताको शुभेच्छा, शुभकामना मैले प्राप्त गरेको छु । 

मलाई तपाईहरु लाग्नुस् यसलाई सकारात्मक रुपमा अघि बढाउनुहोस् हामी तपाइका साथमा छौं भन्ने शुभेच्छा अधिकांशले राखेका छन् । 

मंसिर १० गते पहिलो चरणमा नुवाकोटमा प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन एकैदिन हुने भएको छ । प्रत्यक्ष र समानुपातिकको फरक फरक मतपत्र हुने र हामी गठबन्धन बनाएर अघि बढिरहँदा निर्वाचनमा मतदान गर्ने कुरामा मतदातामा केही ‘कन्फ्यूजहरु’ छन् । 

छिटो मतदाता शिक्षा कार्यक्रम लागू गर्न निर्वाचन आयोगलाई अनुरोध गर्दछु । कसरी मतदान गर्ने के गर्ने, हाम्रो मत बदर त हुँदैन भन्ने कन्फ्युज छन् । यसलाई चुनावको क्रममा हटाएर लैजाने छौँ । 

अर्को कुरा विकास निर्माणमा यो तालमेलले थप टेवा पु¥याओस् र पहिलेजस्तो जितेर जाने र जनताको काम नगर्ने, मन्त्री बन्ने अनि नफर्कने कुरामा स्थिति नबनोस् र यी कुराहरुलाई चिर्न वाम गठबन्धन सचेत भएर अघि बढोस् भन्ने चाहना रहेको छ ।

वाम गठवन्धनको चुनावी अभियान कसरी अघि बढिरहेको छ ? 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवारी दिएका छाँै । यसको पहिलो चरणको कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा क्षेत्र नं. २ स्तरीय कार्यक्रम पनि यो क्षेत्रका विभिन्न स्थानमा गरिसकेका छौँ । 

प्रदेश सभातर्फ उम्मेदवारी दिनुभएका नेताहरु पनि वाम गठबन्धनलाई बलियो वनाउंदै हिड्नुभएको छ । अहिले हामी घरदैलो, गाउँपालिकास्तरीय भेला, प्रशिक्षण, भेटघाटजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौँ । 

विस्तारै विस्तारै चुनावी आमसभामा केन्द्रीत हु्ँदै दुई ठुला पार्टीवीचको गठबन्धन भएकाले संयुक्त भेला निर्वाचन परिचालक कमिटि गठन लगायतका कार्यक्रम गरिरहेका छौँ ।

तालमेल गरेर चुनावमा उत्रिँदा कार्यकर्ताको मनोभावना कस्तो पाउनुभयो ?

कार्यकर्तामाझ वाम एकताप्रति अत्यन्त उत्साह रहेको छ । यो उत्साह मतदाता तहसम्म पुगेको छ । कार्यकर्ता तहमा कसरी व्यवस्थापन हुन्छ भन्ने अन्योलमा कता कता भएको हुन सक्छ । 

त्यो पनि शिर्ष नेताहरुले टुंग्याउने कुरा भयो । मेरो विगतमा जिविस तथा पार्टीमै रहेर गरेको कामको कदर यस पटक पक्कै हुन्छ भन्ने विश्वासमा रहेको छु । 

तपाइसंग प्रतिस्पार्धमा लोकतान्त्रिक गठवन्धनका अर्जुननरसिह केसी छन् नि ?

हेर्नुस, अर्जुननरसिह केसी नुवाकोटमा कम्युनिष्ट एक नभएको वेलामा पटक÷पटक चुनाव जितेर मन्त्रिसमेत हुनु भयो । उहांले नुवाकोट र नुवाकोटे मतदाताको हितमा के गर्नुभयो ? 

त्यो त तपाइ हामी सबैलाई घाम जस्तै उज्यालो छ । अहिले कम्युनिष्टहरु एक भएका छौं । परिवर्तन, स्वाभिमान र एकताको पक्षमा रहेका नुवाकोटका मतदाताले अब वाम गठवन्धनलाई सदैव साथ दिन्छन् । 

वाम उत्साह हुनुपर्ने के कारण छ ?

नेपाली मतदाताको कम्युनिष्टहरु एकै ठाउँमा उभिदिए हुन्थ्यो भन्ने लामो समयदेखिको चाहना हो । तर, विविध कारणले यो कुराले निरन्तरता पाउन सकेको थिएन । अहिले दुई प्रमुख घटकहरु एक ठाउँमा उभिएका छन् । त्यसैले नागरिकहरु सबैभन्दा खुशी छन् । 

दोस्रो कुरा नेपालमा परिवर्तनको नेतृत्व गर्ने पार्टी नै कम्युनिष्ट पार्टी हुन् । यो कुरा आम मतदातालाई थाहा छ । बाहिरी प्रचारमा जे भएपनि फिल्डमा खट्ने, लाग्ने पार्टी कम्युनिष्ट पार्टी हो । यो पार्टीले नै परिवर्तनको नेतृत्व गर्न सक्छ भन्ने कुरा आम नागरिकलाई राम्रोसँग थाहा छ । 

तेस्रो कुरा प्रगतिशील फड्को मार्ने देशमा विकास निर्माण र सामाजिक सुरक्षासम्मको कुरामा अग्रगामी कुरामा कम्युनिष्ट पार्टीले मात्र अग्रगामी दृष्ट्रिकोण अगाडि सारेको छ । यसले मात्र यसको नेतत्व गर्न सक्छ भन्ने कुरा थाहा छ । चौथो कुरा हामी ६÷६ महिनामा सरकार परिवर्तन गर्ने प्रवृत्ति रहेको छ । 

त्यसमा पनि बाह्य हस्तक्षेप रहने कुरा छ । नेपाली जनता त्यसको अन्त्य गर्न चाहन्छन् । दीगो सरकार गठन गर्नेए र बाह्य हस्तक्षेप विरुद्ध यो एकता र गठबन्धनले अन्त्य गर्नेछ । 

 पाँचौ कुरा राष्ट्रियताको सवालमा डटेर कुरा गर्ने वकालत गर्ने, राष्ट्रिय मुद्दामा एकजुट भएर अघि बढ्ने पार्टी नै कम्युनिष्ट हुन् । 

त्यसैले यिनीहरु मिल्दा राष्ट्रिय स्वाधिनता, अखण्डतामा सार्वभौमिकताको रक्षा हुन सक्छ भन्ने नागरिकले प्रत्यक्ष महसूस गरेका छन् । त्यसकारण नागरिकहरु यो गठबन्धनको पक्षमा छन् ।

वाम तालमेलप्रति कतिपय कार्यकर्ता र मतदाताहरु संसय व्यक्त गरिरहेका छन् नी ? 

केही भ्रम हुनु स्वभाविकै थियो । एकताका निम्ति, चुनाव आइसकेको थियो , त्यस्तो अवस्थामा हामीसँग दुई वटा बाटो थिए । एउटा तत्काल एकता घोषणा गर्ने अनि निर्वाचनमा जाने । अर्को निर्वाचनमा सँगै जाने ।

निर्वाचन नजिकै आइसकेकोले तुरुन्त एकताको घोषणा गरेर जाँदा धेरै कुराहरु मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले त्यो त्यति सम्भावना थिएन । त्यसैले यी दुई वटा पार्टीहरुमा चुनावी तालमेल गर्ने र यो तालमेलाई चुनाव पछि पार्टी एकीकरणमा लगेर टुंग्याउने सहमति भएको छ । 

यस बीचमा के प्रयाससम्म भयो भने हामी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा उभिने कुरा पनि भयो । तर, यो कानुनी रुपमा त्यति सहज भएन र फरक फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छौँ । 

यसको मुल उद्देश्य भनेको पार्टी एक बनाउने नै हो । यसमा कुनै संसय छैन । पार्टी पंक्तिमा जुन उत्साह देखिएको छ यसले पार्टी एकता हुन्छ भन्ने कुरामा ढुक्क नै छ ।

एजेण्डगत हिसावमा त एमाले र माओवादी फरक फरक बाटोमा हिँडिरहेका छन् यसको समायोजन कसरी हुन्छ ?

हो, मुल कुरा विचार र सिद्धान्तको कुरा हो । नेकपा एमालेले आत्मसात  गरेको बहुदलीय जनवाद हो । यसलाई हामीले हाम्रो पार्टीको मार्गदर्शन सिद्धान्त भनेका छौँ । 

र माओवादी केन्द्रले अंगिकार गरेको एक्काइसाँै सताब्दीको जनवाद हो । यसका बीचमा खासै भिन्नता छैन । हामीले हिजो अस्तीमै भनेका थियौँ, जवजकै अर्को रुप हो । तर, यसमा व्यवहारिक रुपमा सांगठानिक रुपमा केही फरक छन् । 

तत्कालीन कार्यनीतिको बारेमा केही फरक पाटाहरु छन् । तत्कालीन समयमा जनयुद्धको आवश्यकता छैन, शान्तिपूर्ण आन्दोलनको माध्यमबाट परिवर्तन ल्याउन सकिन्छ भन्ने एमालेको धारणा थियो, अन्तत माओवादीले त्यही ग¥यो । त्यसकारण यो ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । 

यसमा नेतृत्व पंक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा केही चुनौती छ । पार्टी एकीकरणका बेला यी सबै कुराहरु मिलाएर अघि बढ्छौँ ।

प्रसंग बदलौँ, नुवाकोटमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनुभएको छ, तपाईका एजेण्डाहरु के के छन् ?

अहिलेको मुख्य एजेण्डा भनेको संविधान र संघीयताको कार्यान्वयन नै हो । घोषणा भएको संविधानको व्यवहारिक कार्यान्वयन गर्नको लागि निर्वाचन जरुरी थियो । 

निर्वाचन पछि पनि यसलाई उचित रुपमा कार्यान्वयन गर्नको लागि कम्युनिष्टकै सरकार आवश्यक छ । संविधान बनाउन जसले ठूलो योगदान दियो, उसैले मात्र संविधानको रक्षा गर्न सक्छ । 

फलानो प्रधानमन्त्री भएको बेला संविधान जारी भयो भनेर भन्ने गरिएको छ , संविधान जारी गर्ने अभिभारा संविधानसभा अध्यक्ष (सभामुख) को हो । संविधानसभाका नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो ।

  त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्र सहमत नभएका भए के संविधान जारी गर्न सम्भव थियो ? त्यस्तो अवस्थामा फेरी पनि संविधान जारी नहुन सक्थ्यो ।

धेरै एजेण्डाहरुमा हामी सहमत भएर गएका छौँ । दोस्रो कुरा संविधानमै उल्लेख भएको छ, यो संविधान समाजवाद उन्मुख छ । समाजवाद कम्युनिष्टहरुको नारा हो । त्यसैले यसलाई सही ढंगले लागू गर्नको लागि हामीले जित्नु आवश्यक छ । तेस्रो कुरा समृद्धिको कुरा हो ।

यो हामीले नै अघि सारेका हौँ । एउटा राजनीतिक आन्दोलन सकिएको छ, अव देशले नयाँ फड्को मार्नुपर्छ, देश आर्थिक विकास र उन्नतीको दिशामा अघि बढ्नुपर्छ त्यसको लागि विकास निर्माणको आन्दोलन नै अहिलेको आवश्यकता हो । हामी यही नाराका साथ जनतामाझ गइरहेका छौँ । 

नुवाकोटको सन्दर्भमा के के योजना छ ?

नुवाकोटमा हरेक पटक मन्त्री नछुट्ने जिल्लाको रुपमा चिनिन्छ । तर, हाम्रो विकास निर्माणको गति हेर्ने हो भने लाजमर्दो अवस्थामा हामी रहेका छाँै । 

झुट्टा आश्वसन दिएर चुनाव जितेर जाने र संसदमा फोहोरी राजनीतिक गर्नमा यहाँका केही पार्टीका नेताहरु लागे । परिणाम स्वरुप नुवाकोटको विकासले गति लिन सकेन । नुवाकोटमा विकास र नागरिकहरु समृद्ध भए भने हाम्रो राजनीति सकिन्छ भन्ने भ्रम पनि अन्य दलका नेताहरुमा पाइन्छ । 

नुवाकोट सम्भावना रहेको जिल्ला हो । नुवाकोटमा विकास गर्ने ठूला र धेरै अवसरहरु छन् । यी अवसरलाई सदुपयोग गर्नको लागि पनि बाम गठबन्धनका उम्मेदवारहरुले जित्नु आवश्यक छ । 

पछिल्लो समय चीनसँगको सम्वन्ध र केरुङ नाकाको विकासका कारण नुवाकोट धेरै चर्चामा रहेको छ । मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्माओली प्रधानमन्त्री भएको बेला देशमा धेरै सकारात्मक कामहरु भएका छन् । 

केपी शर्माओलीको पालामा भएको भएको १६ बुँदे सहमतिले नुवाकोटले धेरै फाइदा लिन सक्छ । त्यसको लागि पनि हाम्रो नेतृत्व आवश्यक छ ।

अंक गणितिय मत आधार कस्तो छ ?

गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नुवाकोट भरमा ४४ हजार १ सय १८ मत सहित काग्रेस पहिलो, ४२ हजार १२ मत सहित एमाले दोस्रो र ३४ हजार २ सय ७८ मत सहित माओवादी केन्द्र तेश्रो स्थानमा रहेका छन् । 

यो निर्वाचनपछि पार्टी एकताको घोषणा गर्दै दोश्रो र तेश्रो शक्ति एउटै गठवन्धन वनाएर निर्वाचनमा आएपछि काग्रेसलाई विगतको विरासत जिल्लामा जोगाउन कठिन भएको छ ।

प्रदेश ३ को अभियान के छन् ?

हामीले एउटा अभियान सुरु गरेका छौँ । प्रदेश नं. ३ को राजधानी नुवाकोटमा बनाइनु पर्छ भनेर भनेका छौँ । नुवाकोट विभिन्न हिसावले राजधानी बन्न लायक छ । यो कुरा हामी सबैले बुझ्नुपर्छ । 

यसको लागि थुप्रै तर्कहरु हामीले अघि सारेका छाँै । प्रदेशको राजधानी बनाउने कुरा गठबन्धनका उम्मेदवारहरुले जितेनन् भने यो कुरा यही टुंगिने छ ।

मध्यपहाडी लोक मार्गमा वेत्रावतिदेखि धादिङको बैरेनीसम्म स्मार्ट सिटी बनाउने कुरा छ । हामी यो क्षेत्रलाई स्मार्ट सिटी बनाउनको लागि प्रयास गरिरहेका छौँ ।

 हुन त धादिङ बैरेनीलाई आधुनिक सहर बनाउने चर्चा चलेको छ, तर, मध्यपहाडी लोकमार्गले अहिले त्यहाँ छुँदैन, त्यसैले पनि हामी बैरेनीबाट त्रिशूली खोलाको किनारैकिनार बेत्रावतिसम्म स्मार्ट सिटी बनाउन सक्छौँ । 

नुवाकोट र यसका मुख्य दुई नगर बेलकोटगढी र विदुर नगरपालिकाको विकासको लागि नेकपा एमाले वा वाम गठबन्धनको महत्वपूर्ण योगदान हुने छ । साथै सदरमुकाम विदुरसम्म हरेक गाउँपालिकाबाट पक्की सडकले जोड्ने गाउँपालिका केन्द्रसम्म हरेक वडाबाट पक्की सडक सञ्जालको विकास गर्नेलगायतका थुप्रै कार्यक्रमहरु हामीले घोषणा गरेर चुनावमा मतदातामाझ गइरहेका छौँ ।

मन्त्रीहरु धेरै भएर पनि किन नुवाकोटको विकास भएन जस्तो लाग्छ ?

मैले अघि पनि भनेँ, जनतामाझ झुटो आश्वसन दिने अनि पूरा नगर्ने, अर्को कुरा विकास र समृद्धिको लागि सोच नै उनीहरुसँग भएन र विकास भएन । 

यदि सोच भइदिएको भए नुवाकोट राजधानीसँग जोडिएको जिल्ला कति चाँडो विकास हुन्थ्यो, सोच र भिजन भइदिएको भए । यो मैले बताइरहनु पर्दैन । यतिसम्मकी यहाँका नेपाली कांग्रेसका नेताहरु अरुले गरेको काम जस लिनलाई नाग टाँसेझँै पसल पसलमा टाँसेर जनता झुक्याउँदै आएका छन् । 

अर्थ मन्त्री विष्णु पौडेल हुँदा नुवाकोटमा पहिलेको तुलनामा २० गुना बढी योजना र रकमहरु परेका छन् । तर,यी योजनाहरुलाई विफल बनाउन कांग्रेसका मित्रहरु लागिरहेको पनि हामीले देखेका छौँ । 

यसको उदाहरणको लागि पात्ले दुईपीपल सडकको टेण्डर भइसकेको काम फिर्ता गराउने काम भएको छ । यसले पछिल्लो समय राजनीतिलाई फटाई गरेर जालझेल गर्नेहरुका कर्तुतहरु बहिर आइरहेका छन् । केपी शर्मा ओलीको पालामा १७ वटा ग्रामीण सडकको स्तरोन्नती र ११ वटा सिंचाई योजना परेका छन् । 

यसको लागि कुनै कांग्रेसका सांसदले गरेर बजेट परेको होइन, कसैलाई प्रमाण चाहिन्छ भने म दिन तयार छु । तर, कांग्रेसका सांसदहरु शिर्षक परिवर्तन गर्ने र गाउँ गाउँवीचमा टकराव सिर्जना गरेर योजनाहरु ध्वस्त बनाउने अभियानमा लागेका छन् ।

अन्तमा केही भन्नुहुन्छ कि ?

नुवाकोटका मतदाता अव धेरै शिक्षित भइसक्नु भएको छ । कम्युनिष्ट सिद्धान्त र सरकारले मात्र देशलाई आर्थिक समृद्धि, दीगो शान्ति र परनिर्भरताबाट हामीलाई माथि उठाउन सक्छ भन्ने । 

आम नागरिकको हितको लागि काम गर्ने कम्युनिष्टहरु नै हो । पटक पटक हामीले गरेको सानो गल्तीका कारण हामी पछि परिरहेका छौँ । त्यसैले यस पटक नुवाकोटका प्रतिनिधि सभातर्फ दुई वटै  क्षेत्र र चारवटै प्रदेशतर्फ वाम गठवन्धनका उम्मेदवारहरु विजयोन्मुख छन् । 

प्रतिनिधि सभामा मलाईसहित बामगठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराइदिनुहुन तपाईमार्फत सबै मतदातालाई विनम्र अनुरोध गर्दछु  । 




0 comments

Write Down Your Responses