Powered by Blogger.
मकवानपुरका काँग्रेस अत्तालिएपछि बिनातुकका मुद्दा उठाएर हिँडिरहेको छ

 विरोध खतिवडा, प्रतिनिधिसभाका प्रत्यासी, मकवानपुर–२

जतिपल्ट उठ्यो त्यतिपल्ट जनताले जिताइरहेका छन्, योपल्ट पनि जित्दै छु 

हामी वैचारिक रूपले चुनाव लडेका हौं,आर्थिक हिसाबले होइनौं

कसलाई कति रुन मन लाग्छ, रुन्छन् र रोए हुन्छ

खालि कति मतको अन्तरबाट जित्ने भन्ने चिन्ता हो

मकवानपुर जिल्लामा त्यो बेलाको चेतना वृद्धिमा रूपचन्द्र विष्टको ठूलो योगदान छ

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक छिटो स्तरोन्नति गरी कालोपत्रे गरेर चालू गर्नुपर्ने छ

उत्तरी मकवानपुरको दामनलाई स्मार्ट सिटीसँगै नयाँ सहरका रूपमा विकास गरिने योजना छ




विरोध खतिवडा संसदीय राजनीतिमा राम्रो अभ्यास भएका पुराना एमाले नेता हुन् । हाल मकवानपुर क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभाका लागि उमेद्वार बन्नु भएका खतिवडा नेकपा एमालेको कन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाको इन्चार्ज छन् ।मकवानपुरमा जनमुखी राजनीति र थाहा दर्शन फैलाउन भूमिका खेल्ने रुपचन्द्र विष्टसंग लामो संगत गरेका खतिवडाले कानुन बिषयमा स्नातक हुन् ।   

वाकपटुता र तार्किक क्षमताका धनी उनी ०३५–०३६ को विद्यार्थी आन्दोलनवाट राजनितिमा सक्रिय भई अनेरास्ववियु केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा  निर्वाचित  भएका थिए ।तत्कालिन वामनेता तथा शिक्षक आन्दोलनका अगुवा बद्रीप्रसाद खातिवडाको छोरा भनेर परिचय दिइरहनु नपर्ने र आफ्नै संघर्षका कारण बिरोध बनेका बिरोध जहिले जहिले चुनाव उठेका छन्, जितेकै छन् । 

अहिलेसम्म मकवानपुरे नेताहरुले एमालेका तर्फबाट मन्त्री बन्ने सौभाग्य नपाएकामा यसपटक उनले जितेपछि त्यो मौका मकवानपुरलाई प्राप्त हुनेमा समेत मकवानपुरे जनता आशावादी छन् । 

र, उनी गर्वसाथ भन्छन्,‘ म जतिपल्ट चुनाव लडेको छु त्यतिपल्टै जितेको छु । ’ उनले दामन पोष्टसंग टेलिफोनमा भने–‘ गठवन्धनमा अत्यन्त उत्साह छ, त्यती धेरै कडा प्रतिश्पर्धा गर्न पर्ने स्थिति छैन, तैपनि हाम्रा तर्फका उमेद्वारहरुले कति भारी मतान्तरबाट जित्ने हो भन्नेमा चिन्तित हुनुपर्छ । ’ प्रस्तुत छ खतिवडासंग गरिएको कुराकानीः 

० प्रतिस्पर्धा कस्तो छ ?

प्रतिस्पर्धा सामान्यतया चुनावमा हुने नै भइहाल्यो । तर त्यति धेरै कडा प्रतिस्पर्धा भन्न मिल्ने स्थिति छैन । 

० ए त्यसो भए जित सुनिश्चित छ भन्न खोज्नुभएको ?

– वाम गठबन्धनको हिसाबबाट जितका लागि खासै समस्या छैन । खालि कति मतको अन्तरबाट जित्ने भन्ने चिन्ता हो । हामी बढीभन्दा बढी मतान्तरले जित्ने अभियानमा लागेका छौं ।

० तर, लोकतान्त्रिक शक्तिहरूको पनि बृहत गठबन्धन भएको स्थिति अनि स्वतन्त्र उम्मेदवारहरूले पनि तपाईंकै मत काट्ने स्थितिमा त्यति ढुक्क भइहाल्न सकिएला र ?

– स्वतन्त्र को उठेका छन्, थाहा छैन । तैपनि, स्वतन्त्रको भोट कहीँ पनि ३ सय नाघ्दैन । अर्को कुरा, तपाईंले भनेजस्तो त्यो लोकतान्त्रिक गठबन्धन नै होइन । राजा फर्काउँछु भनेर घोषणापत्र निकाल्ने पार्टी राप्रपासँग गठबन्धन गरेको हुनाले कांग्रेसको स्थिति झन् नराम्रो भएको छ ।

यत्रो २०६२÷६३ सालको जनआन्दोलन किन ? राजावादी शक्तिलाई नै फिर्ता ल्याउने हो भने यो २०६२ को जनआन्दोलन किन भनेर कांग्रेसलाई सम्पूर्ण चेतनशील समुदायले प्रश्न गर्न थालेका छन् । 

त्यसले गर्दा उक्त गठबन्धन नाम मात्रको गठबन्धन हो । त्यो लोकतान्त्रिक गठबन्धन होइन, राजावादीसँगको गठबन्धन हो । त्यसले गर्दा त्यसलाई मकवानपुरवासीले रुचाएका छैनन् । 

० तर चर्चा त व्यापकै छ नि ?

– ती सब हल्ला हुन् । हल्लालाई कति विश्वास गर्ने भन्ने कुरा हो । हल्लाका पछि आम मतदाता छैनन् । 

० चुनावी अभियान र तयारी कसरी अघि बढ्दै छ अनि कत्तिको उत्साही हुनुहुन्छ ?

– पूर्ण रूपमा उत्साही छौं । कार्यकर्ता र मतदाता पनि उत्साही छन् । कांग्रेसले अरू कुनै हतियार नपाएपछि व्यक्तिगत खालका प्रश्न उठाउने, ठेकेदार छ अनि ठेकेदारले चुनाव जित्छ भन्ने खालका हल्ला चलाएका छन् । यस्ता हल्ला योभन्दा अगाडिका वर्षहरूमा पनि चलाइएका हुन् ।  

यस्ता हल्ला प्रत्येक चुनावमा चल्छन् । त्यसले गर्दा कुनै समस्या छैन । मेरो तयारीको कुरा गर्दा म तालिका बनाएर दुईवटै प्रदेश क्षेत्रतिर घुमिरहेको छु । बिहानबेलुका अनुकूल भएको बेला ससाना भेटघाट गर्ने अनि दिउँसो अलि टाढाको भेटघाट र सभाहरू गर्नेलगायतका काममा केन्द्रित भएका छौं । 

० तपाईंले निश्चित ठाउँ र निश्चित व्यक्तिमाथि केन्द्रित भएर आममतदातालाई ध्यान दिनुभएन भन्ने कुरा उठेको रहेछ नि ?

– आममतदातालाई ध्यान नदिएको होइन, मेरो प्रदेशअन्तर्गतका दुई निर्वाचन क्षेत्रमै जानुपर्ने हुनाले एकापट्टि जाँदा अर्कोपट्टि छुट्ने भएको हो । 

दुईतर्फकै प्रदेशसभा सदस्यको हरेक दिनको आ–आफ्नै तालिका छ, तर म दुवैतर्फ जानुपर्ने हुनाले म राजारामजीको क्षेत्रतिर जाँदा कुमारीको क्षेत्रमा हुने कार्यक्रममा छुट्छु र कुमारीको कार्यक्रममा जाँदा राजारामजीको क्षेत्रको कार्यक्रममा छुट्छु । यही बाध्यताका कारण यस्तो भएको हो भन्ने कुरा सबैले बुझेका छन् । 

० तपाँइसंग प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दै गरेको उम्मेदवार पैसावाल भएकाले कठिन प्रतिस्पर्धा हुन्छ भन्ने छ । तपाईं पनि सोहीबमोजिम प्रतिस्पर्धा र खर्च गर्न सक्नुहुन्छ ?

– हामी वैचारिक रूपले चुनाव लडेका हौं, आर्थिक हिसाबले लडेका होइनौं । त्यसले गर्दा निर्वाचन आयोगले तोकेको आर्थिक सीमाभित्र रहेर हामी चुनाव प्रचारप्रसार गर्दै छौं । पैसाको प्रतिस्पर्धाबाट चुनाव लड्ने कुरा यो वाम गठबन्धनले गर्ने परै जाओस्, सोचेको पनि छैन, गर्दा पनि गर्दैन । 

० चुनाव नजिकिएसँगै तपाईंलाई विपक्षीहरूले विभिन्न उपचारसुविधा लिएको भनेर सामाजिक आरोप लगाइरहेका छन्, यो के हो ?

– कसलाई कति रुन मन लाग्छ, रुन्छन् र रोए हुन्छ । २०४८ सालदेखि त्यसरी नै रुँदै आएका थिए । २०५१ सालमा पनि रोए । २०६५ मा पनि रोए । बीचमा २०७० मा पनि रोए । मुद्दाविहीन भएपछि बिनातुकका मुद्दा उठाएर हिँड्ने हुन् । 

० तपाईंकै पार्टीभित्र पनि टिकट नपाउनेहरूका बीचमा केही असन्तुष्टि थियो क्यारे, समाधान भयो ?

– टिकट त पार्टीले पद्धतिअनुसार तीनजनाको नाम सिफारिस माग्यो । नेपाल अधिराज्यभरि नै ती तीनजनामध्ये एक जना उठेका छन् । त्यसलाई असन्तुष्टि मान्ने हो भने त्यो असन्तुष्टि हो । होइन भने पार्टी निर्णय भएपछि सबै कार्यकर्ता हिँडेका छन् ।

० असहयोग र असन्तुष्टिको कुनै संकेतहरू पाउनुभएको छैन ?

– पार्टीले गरेको निर्णय शत्रुसँगको लडाईं र जीवन–मरणको अवस्थामा पनि बोकेर हिँड्दैन र लाग्दैन भने त्यो पार्टीको मान्छे नै हुँदैन । असहयोग भयो भने आउँदो चुनावमा पार्टीमा बस्ने उसको हैसियत पनि हुँदैन । 

यस्तो काम पार्टी पद्धति नबुझेकाले गर्ने काम हो । पार्टी पद्धति बुझेकै मान्छे उम्मेदवार हुने हुन् । र, उम्मेदवारका रूपमा प्रस्तावित पनि हुने हुन् । त्यसले गर्दा पार्टी निर्णय भइसकेपछि सबैजना खटिएका छन् । बाहिर रमाइलोका लागि कसैले हल्ला गरेको भए बेग्लै कुरा भयो । 

नत्र भने पार्टी प्रणाली बुझेका मान्छेहरूले पार्टीको निर्णयपछि त्यस्तो कुनै संकेत देखाएको मैले पाएको छैन । 

० तपाईं त थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टसँग केही अवधि सहकार्य पनि गरेको मान्छे, अहिले थाहा तथा जनमुखी अभियानको उद्गम क्षेत्रलाई आधार मानेर चुनाव लड्दै हुनुहुन्छ, तपाईंको नजरमा उहाँ को हो ?

– पञ्चायततकालमा पार्टीहरू प्रतिबन्धित हुँदा पञ्चायतविरुद्घ आन्दोलन चलाइरहँदा रुदानेले पनि थाहाको माध्यमबाट जनमुखी अभियान चलाउनुभयो । तर, त्यो व्यक्तिगत प्रयासबाट थियो । 

उहाँले नै मकवानपुर जिल्लामा जागरण र जनचेतना वृद्घिका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको हो । तत्कालीन भूमिगत नेकपा मालेले २०४३ सालको राष्ट्रिय पञ्चायतमा पार्टीको तर्फबाट जनपक्षीय उम्मेदवारका रूपमा मलाई उठाएपछि मकवानपुरको दुई सिटका लागि जनमुखी रुदाने र मेरो (तत्कालीन माले) को संयुक्त चुनावी अभियानमा हामीले एकअर्कालाई सहयोग गरेका हौं । 

२०४८ को पहिलो चुनावमा नेकपा (एमाले) ले उहाँलाई पार्टीकोे तर्फबाट चुनावमा लड्न अनुरोध गरेको थियो, तर उहाँले मान्नुभएन र जनमुखी उमेदवार बन्नुभयो । पार्टीले मलाई उम्मेदवार बनाएको हो । 

म जनमुखी अभियान र थाहा आन्दोलनमा जहिले पनि सकारात्मक छु । उहाँ जनतामा जागृति ल्याउने नेता हुनुहुन्छ । उहाँ दार्शनिक हुनुहुन्छ । मकवानपुर जिल्लामा त्यो बेलाको चेतना वृद्धिमा रूपचन्द्र विष्टको ठूलो योगदान छ । 

त्यसलाई हामी सबैले सम्मान गर्नुपर्छ । मेरो अहिले पनि उहाँको जनता जगाउने सकारात्मक काम र अभियानप्रति श्रद्घा र सम्मान छ ।



० तपाईंको एजेन्डा के–के छन्, किन मत दिने जनताले ?

वामपन्थी गठवन्धनको घोषणापत्र नै मेरो आधार हो । वामपन्थीहरूको स्थिर सरकार बनाउने भन्ने जुन हाम्रो अभियान छ, हामी त्यसमै जाने हो । 

नेपाली कांग्रेसको कालो शासन लामो अवधि जनताले देखिसके, त्यसैले त्यसबाट मुक्ति पाउन एकपटक बहुमतको कम्युनिस्ट सरकार पाँच वर्षका लागि हेर्नुपर्छ भन्ने उमंग छाएको छ । जिल्लाको जनप्रतिनिधिको नाताले आफ्नो क्षेत्रको विकास निर्माणमा योभन्दा अघि प्रतिनिधि हुँदा पनि पुरै ध्यान दिइएको थियो । 

अहिले पनि ध्यान दिइन्छ । तर पनि समग्र राष्ट्रिय एजेन्डाबाट हेर्ने हो भने माथि केन्द्रीय सरकार राम्रो बन्नेबित्तिकै स्वतः निर्वाचन क्षेत्रहरूमा पनि राम्रो हुन्छ ।

० आफ्नो क्षेत्रभित्रै तपाईंले साँचेका विकाससम्बन्धी छुटाउनै नहुने एजेन्डा केही छन् ?

– हेटौंडा नगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्नुपर्छ । हरेक गाउँको माग भनेको सडक हो । अहिले बनेका कच्चा सडकहरू स्तरोन्नति हुनुपर्छ । सिँचाइको प्रबन्ध हुनुपर्छ । त्यस्तै, विद्युत् र खानेपानीका कुरा हुन् । हामीले स्पष्ट भनेका छौं यसपटक वामपन्थीको सरकार बनेपछि मकवानपुर जिल्लाको कुनै पनि गाउँ बिजुलीविहीन हुनेछैन । 

स्थानीय मागहरू यिनै हुन् । राष्ट्रिय मागका विषयमा हामीसँग कान्ति राजपथलाई पूर्णता दिनुपर्ने छ । मनहरीबाट भार्ता हुँदै चेपाङ मार्ग लानुपर्ने छ । मनहरी, भार्ता, सरीखेत हुँदै काठमाडौंसँगको सडक जोड्नुपर्ने छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक छिटो स्तरोन्नति गरी कालोपत्रे गरेर चालू गर्नुपर्ने छ । 

तरकारी खेतीका लागि उपयुक्त ठाउँमा तरकारीको केन्द्र बनाई नगदे बाली विकास गरेर स्थानीय जनता र गाउँको आम्दानी वृद्धि गर्ने कुराहरू छन् । अहिले टाटा सुमो चल्ने सिस्नेरी–कुलेखानी–भीमफेदी–हेटौंडा सडकको भीमफेदी खण्डमा नेपाल सरकारकै लगानीमा सुरुङ खनेर त्यसलाई छोटो र छरितो पार्नु छ ।

० उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सम्बन्धमा तपाईंको योजना के छ ?

– विशेषगरी यो क्षेत्र कृषि र पर्यटकीय हिसाबले विकास गर्न सकिन्छ । मेरा व्यक्तिगत भिजनसँगै सिंगो हाम्रो वाम गठबन्धनको घोषणापत्रले यसलाई विशेष प्राथमिकतामा राखेको छ । उत्तरी मकवानपुरको दामनलाई स्मार्ट सिटीसँगै नयाँ सहरका रूपमा विकास गरिने योजना छ । 

हाम्रो घोषणापत्रमा दामनलगायतका स्थानलाई आधुनिक सहरका रूपमा विकास गरी स्मार्ट सिटी बनाउने उल्लेख छ । 

त्यस्तै, हाम्रो घोषणापत्रमा स्वच्छ, सुन्दर र आधुनिक राजधानीअन्तर्गत उपत्यकालगायत टिस्टुङ, कुलेखानीसमेतलाई समावेश गरी बृहत्तर राजधानी उपसहर क्षेत्र विकास गर्ने योजना छ । 

यसबाहेक स्थानीय नगरपालिकाले अघि बढाएका योजना र आगामी हाम्रै नेतृत्वमा प्रदेश सरकार बनेपछि यो ठाउँको विकास गर्ने पनि विशेष योजनाहरू छन् । 

० संसदीय मोर्चामा राम्रो चलखेल गर्न सक्ने व्यक्ति त हुनुहुन्छ नै, तर विगतमा सांसद हुँदा पनि संसद्मा मात्र केन्द्रित भएर स्थानीय विकास निर्माणका मुद्दाहरूमा त्यति ध्यान दिनुभएन भन्ने आरोप छ नि ?

– यी फटाहा कुरा हुन् भन्ने कुरो म जतिपल्ट चुनाव लडेको छु त्यतिपल्ट जितेको छु । होइन भने त वाम पछारेजस्तो पछार्नु पथ्र्यो नि त ? जो पछारिएका छन्, ती कराएर बहुलाएर हिँडिरहेका छन् । 

जनताले त काम गरेकै आधारबाट जतिपल्ट उठ्यो त्यतिपल्ट जिताइरहेका छन् । योपल्ट पनि जित्दै छु । फेरि अर्को पाँच वर्षपछि पनि यही नै कुरा ल्याउँछन् । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेजस्तै हो यो । 

० मकवानपुरका एमाले नेताहरू कोहीले पनि मन्त्री बन्ने ल्याकत राखेनन् भन्ने छ, तपाईं आफ्ना मतदातालाई मन्त्री बन्न सक्ने प्रतिबद्धता जनाउनुहुन्छ ?

– त्यो मैले निर्णय गर्ने कुरा होइन, पार्टीले निर्णय गर्ने हो । म पुरानो मान्छे भएको नाताले स्वाभाविक रूपमा पार्टीले प्राथमिकतामा राख्ने काम गर्छ होला भन्ने लाग्छ । तर, यो समग्र कुराचाहिँ व्यक्ति व्यक्तिले बोल्ने कुरा होइन । 

० अन्तिममा केही छ आम मकवानपुरवासीलाई ?

– ढुक्कसँग मतदातालाई म आग्रह गर्छु कि आउने सरकार वामपन्थीको बन्छ । सामान्य बहुमतको होइन, दुई तिहाइ बहुमतकै बन्छ । त्यसपछि यो लामो अवधिपछि विकास के हो, उन्नति के हो, नागरिक अधिकार के हो, समृद्धि भनेको के हो, गाउँ तहमा पनि बजेट पुगेर विकासको तरंग कसरी ल्याउन सकिन्छ भन्ने प्रश्नहरूको उत्तर मिल्छ । 

स्थानीय विकासमा स्थानीय जनसहभागिता र स्थानीय जनप्रतिनिधिको निर्णयले व्यापक प्रगतिशील सुधार हुन्छ । गाउँलेले यथार्थमा विकासको अनुुभूति गर्छन् । त्यसकारण, निर्धक्क भएर वामपन्थी गठबन्धनका उम्मेदवारहरूलाई मत हाल्न म आग्रह गर्दछु । 


0 comments

Write Down Your Responses