Powered by Blogger.
निर्वाचनको मौन अवधि आज रातिदेखि सुरु, के गर्न हुन्छ, के गर्न हुँदैन ?

मकवानपुर /  दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।

साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्ने आयोगका प्रवक्ता ढकालले बताए ।

सोमबार मध्यरातपछि भोट माग्न नपाइने भएकाले दलहरु आज अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त छन् । उनीहरुलाई मतदातासम्म पुग्न भ्याइनभ्याइ छ । कांग्रेस, एमाले र माओवादीका नेताहरु आआफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् ।

दोस्रो चरणको निर्वाचनबाट १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ २ हजार ८१९ उम्मेवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् ।

दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses