Powered by Blogger.
पत्रकार महासंघ काठमाडौंको ककनी बैठक सम्पन्न, साना मिडीयाको हक हितलाई बेवास्ता गरे दवावमुलक कार्यक्रम गरिने


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको बैठक पर्यटकीय क्षेत्र ककनीमा १२ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही माघ १२ र १३ मा सम्पन्न बैठकले शाखाले आगामी दिनमा शाखाले भुमिका खेल्नुपर्ने एजेण्डाबारे घनिभुत छलफल गरेको थियो ।

बैठकले समसामयिक सञ्चार क्षेत्रका ज्वलन्त समस्याहरुबारे गम्भिर परामर्श गर्दै साना लगानीमा सञ्चालित मिडीयाहरुको विकास, विस्तार र प्रवद्र्धन गर्न माग गरेको छ । 



बैठकले समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने, सो लागु नभएसम्मका लागि लोककल्याणकारी विज्ञापन  दोब्बर पार्नुपर्ने, अनलाइन मिडीयाहरुलाई पनि व्यवस्थित गरी आवश्यक सहुलीयत वा लोककल्याणकारी विज्ञापनको व्यवस्थागर्नुपर्ने लगायतका मागहरु राखेको छ । 

यस्तै शाखाको विस्तारीत बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन पनि सरकारसँग माग गरेको छ । 

शनिबार ककनीमा सम्पन्न भएको विस्तारित बैठकले १२ बुँदे घोषणापत्र जारी गर्दै बढ्दो महँगीलाई ध्यान दिई पारिश्रमिक कम्तीमा पनि ३० हजार रुपैयाँ मासिक हुनुपर्ने औंल्याएको हो । 

घोषणापत्रमा सूचना विभागको परिचयपत्र भएका सञ्चारकर्मी र सञ्चालनमा रहेका सञ्चारगृहलाई निस्शुल्क इन्टरनेट सुविधा प्रदान गरिनुपर्ने, ‘एक सञ्चार गृह, एक सवारी साधन’ व्यवस्था गरी भन्सार छुट गरिनुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवर्द्धन तथा निरन्तरताका लागि विशेष योजना ल्याइनुपर्ने जस्ता माग रहेको शाखा अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।



‘खासगरी साना लगानीका सञ्चारमाध्यम र त्यहाँ कार्यरत पत्रकारको हितका लागि हामीले विभिन्न मागहरु राखेका छौं । त्यसलाई कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रम समेतलाई निरन्तरता दिनेछौं’, बिडारीले भने । 
पत्रकारहरुको ककनी घोषणापत्रमा अदालतले कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकेको समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरिनुपर्ने, प्रेस काउन्सिलद्वारा गरिँदै आएको पत्रपत्रिकाको वर्गीकरण वैज्ञानिक, पारदर्शी र न्यायोचित हुनुपर्ने, पत्रकारहरुलाई हाल लागू गरिएको दुर्घटना विमालाई जीवन वीमामा परिणत गरिनुपर्नेलगायत माग छन् । 

बैठकमा शाखाका सल्लाहकार सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्दप्रसाद चौलागाँइ र अर्का सल्लाहकार रामकृष्ण अधिकारी पनि सहभागि थिए । 

ककनी पर्यटन केन्द्र बनाउन सुझाव

यसैबीच ककनीमै शनिबार बिहान आयोजित अन्तरक्रिया तथा घोषणा सभा कार्यक्रममा वक्ताहरुले राजधानीबाट नजिक भएर पनि ओझेलमा परेकाले ककनी क्षेत्रलाई पर्यटन केन्द्रका रुपमा विकसित हुनुपर्ने माग राखेका छन्  । 


महासंघ काठमाडौं शाखाको आयोजनामा भएको ‘पर्यटन विकासमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यक्रममा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अस्थिर राजनीतिका कारण कतिपय विकास निर्माणको काम अघि बढ्न नसकेको बताए । ‘अब समृद्धिको कामलाई तीव्र ढंगले बढाउनुपर्छ । भाषण मात्र गरेर हुँदैन’, महतले भने । 

उनले ककनीको विकासका लागि आफु राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको बेलादेखि नै पहल गरेको सुनाए । उनले निजी लगानीकर्ताहरु भित्र्याउन सके ककनीको पर्यटकीय विकास हुने बताए । 

सोही कार्यक्रममा महासंघको विस्तारीत बैठकले पारित गरेका १२ बुँदे विशेष प्रस्ताव घोषणा गरिएको थियो । उक्त घोषणाको ११ नम्बर बुँदामा ककनी क्षेत्रको पर्यटकीय विस्तार तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुका साथै आम सञ्चार र सुचना प्रविधी सम्वन्धी अन्तराष्ट्रिय आवाशिय तालिम केन्द्र ककनीमै स्थापना गर्न माग गरिएको छ । 



कार्यक्रममा प्रेस काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्द चौलागाँइले शाखाले राम्रो कार्यक्रम अयोजना गरेकामा धन्यवाद दिँदै साना लगानीका मिडीयाको विकासका साथै समग्र सञ्चार क्षेत्रका एजेण्डाहरु पुरागर्न आफु सधैं लागीपर्ने बताए ।  

विशेष अतिथि चौलागाँइले प्रेस काउन्सिलले प्रेस, सरकार र जनताबीचको सम्वन्ध सुमधुर पार्न भुमिका खेलिरहेको बताउँदै ककनीको पर्यटन प्रवद्र्धनमा स्थानीयको जागरण अत्यावश्यक रहेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ अतिरिक्त क्रियाकलाप विभागका संयोजक श्यामराज पाठकले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य र आयोजनाका बारेका प्रकाश पारेका थिए भने सहसंयोजक भाग्यश्री लामाले १८ वटा हिमाल देखिने, कृषि पर्यटनको समेत सम्भावना भएको ककनीलाई पर्यटकीय हब बनाउन गृहकार्य गर्नुपर्नेमा सबैको ध्यानाकर्षण गराए ।  



कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय सदस्य वालकृष्ण बस्नेत, गोरखापत्र दैनिकका उपसम्पादक करुण अर्याल, वरिष्ठ पत्रकार उमेश भण्डारी, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा, प्रेस चौतारीका केन्द्रीय सदस्य, काठमाडौं इन्चार्ज तथा पत्रकार महासंघका केन्द्रीय पार्षद हेमराज सिलवाल, प्रेस सेन्टरका ३ नम्बर प्रदेश उपाध्यक्ष छविलाल दाहाल नमराज, शाखाका सल्लाहकार रामकृष्ण अधिकारी विभिन्न राजनीतिक दलका प्रतिनधी, बुद्धिजीवी, शिक्षकहरु र नागरिक समाजका प्रतिनिधी एवं वडा अध्यक्ष लगायतको सहभागिता थियो । 

सबै वक्ताहरुले ककनीको पर्यटकीय सम्भावनाबारे बोलेका थिए । कार्यक्रमको सञ्चालन शाखाका सचिव मोहनप्रसाद पन्तले गरेका थिए । 

सशस्त्र  प्रहरी बलद्धारा स्वागत

यसैबीच कार्यक्रममा सहभागी पत्रकार महासंघको टोलीलाई ककनी स्थित शसस्त्र प्रहरी बल तालिम केन्द्रका समादेशक एसएसपी केवी ब्रम्हचार्य, एसएसपी तथा सो केन्द्रका पुर्व समादेशक गणेश ठाडामगर लगायतका उच्च अधिकारीहरुले विशेष स्वागत गरेका थिए । 



टोलीमा सहभागिहरुसंग परिचयात्मक कार्यक्रम राख्दै उनीहरुले पत्रकारहरुलाई स्वागत गर्न पाउनु आफुहरुको अवशर भएको बताउदै ककनीको पर्यटन प्रवद्र्धनमा विशेष भुमिका खेल्न आग्रह गरेका थिए । 

सो केन्द्रका तर्फबाट एसएसपी ब्रम्हचार्यले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई आकर्षक मायाको चिनो समेत प्रदान गरेका थिए ।



जाँदाजाँदै ओखरपौवामा स्वागत

यता ककनी बैठकका लागि प्रस्थान गर्ने क्रममा ओखरपौवा स्थित ओखर पौवा माविले पत्रकारहरुको टोलीलाई स्वागत गरेको थियो । सहभागीहरुलाई माला, खादा, पुष्पगुच्छाद्धारा विद्यालयका विद्यार्थीहरुले स्वागत गरेका थिए । 



सोही क्रममा सो विद्यालयमा परिचयात्मक तथा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शाखा अध्यक्ष शन्तराम बिडारीले अमुल्य सम्मानका खातिर विद्यालय परिवारलाई विशेष ध्न्यवाद दिँदै विद्यालयका लागि सहयोग जुटाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा शाखा उपाध्यक्ष सुर्य सुबेदीले मन्तव्य राख्दै सो विद्यालयका केही विद्याथीहरुलाई आफु र शाखाका अर्का सदस्य विष्णु निष्छल गिरी मिलेर निशुल्क पढाइदिने घोषणा गरे । त्यसैगरी शाखाको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख श्यामराज पाठकले वत्तिमुनीको अँध्यारो जस्तै रहेको सो विद्यालयको स्तरोन्नती गर्न पहल गरिने प्रतिवद्धता जनाए । 



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी फुँयालको अध्यक्ष्यतामा भएको कार्यक्रममा शिक्षक तथा व्यवस्थापनका तर्फबाट विद्यालयका समस्याहरु अवगत गराइएको थियो । 

यसैबीच सो विद्यालयबाट उच्च शिक्षाका क्रममा आम सञ्चार र पत्रकारिता विषय अध्ययन गर्न चाहने तर आर्थिक अभाव भएका जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न कलेज र विश्वविद्यालयसंग समन्वय गरे निशुल्क पत्रकारिता शिक्षा अध्यापन गराउन पहल गर्ने घोषणा पनि कार्यक्रममा शाखाका तर्फबाट गरिएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सचिव तथा क्रान्तीकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, शाखाका सल्लाहकार रामकृष्ण अधिकारी लगायत अन्य वरिष्ठ पत्रकारहरु सहभागि थिए । 



बैठकद्धारा पारित विशेष प्रस्तावहरु यस्ता छन्

१, सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिले सम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याइयोस् ।

२, प्रेस काउन्सीलद्धारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गरियोस् । नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक बर्षमा नै प्रेस काउन्सीलको वर्गिकरणमा समावेस गर्ने व्यवस्था गरियोस् ।

३. साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याइयोस् । समानुपातिक विज्ञापन प्रणाली लागु नभइन्जेलसम्मका लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाइनुका साथै अनलाइन मिडियालाई व्यवस्थित गराइ लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गरियोस् ।

४.सूचना विभागको परिचयपत्र भएका संचारकर्मी र संचालनमा रहेका संचारगृहलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुका साथै ‘एक संचारगृह, एक सवारी साधन’को व्यवस्था गरी भन्सार छुटको नीति ल्याइयोस् ।

५. श्रमजीवि पत्रकारको हित संरक्षण तथा प्रवद्र्धन गर्न श्रम समस्याको हल गरियोस् र बढ्दो महंगीलाई ध्यान राखी कम्तिामा श्रमजिवी पत्रकारहरुलाई प्रतिमहिना न्युनतम ३० हजार रुपैंया मासिक तलव व्यवस्था गरियोस् ।

६. सरकारले हाल पत्रकारहरुका लागि लागु गरेको दुर्घटना विमालाई जीवन विमामा परिणत गरियोस् ।

७. निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारहरुलाई जिवन निर्वाह भत्ता उपलव्ध गराइयोस् ।

८. सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुका लागि हरेक सरकारी तथा नीजी अस्पतालहरुमा उपचार गर्दा निशुल्क शैयाको व्यवस्था गरियोस् ।

९. साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गरियोस् ।

१०. समावेसी संचार नीति अन्तरगत महिला,आदिवासी, जनजाती,दलित, अपाङ्ग, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन ल्याइयोस् ।

११. राजधानी काठमाडौंबाट नजिकै रहेको पर्यटकीयक्षेत्र ककनीको पर्यटन विस्तारका लागि विशेष योजना ल्याइयोस र यस क्षेत्रमा आम सञ्चार सम्वन्धी आवाशीय तालिम केन्द्र निमार्णका लागि पहल गरियोस् ।

१२. देशकै सबभन्दा बढी सदस्य रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखा स्थापनाको २५ बर्ष पुगेको उपलक्षमा भव्यताका साथ रजत जयन्ती मनाउने तयारी भइरहेको हुँदा सरकार तथा विभिन्न संघ संस्थाद्धारा आवश्यक सहयोग तथा पहल कदमीका लागि यो बैठक विशेष आव्हान गर्दछ ।



0 comments

Write Down Your Responses