Powered by Blogger.
सुचना प्रविधि प्रयोगको अवस्था र चुनौतीहरु विषयक अन्तरक्रिया सम्पन्न


काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल र नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा राजधानीस्थित होटल हिमालयमा ‘नेपालमा सुचना प्रविधिको प्रयोगको अवस्था र चुनौतीहरु’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । 

कार्यक्रममा नेकपा एमालेका सचिव तथा पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराईले राज्यको सेवा सुविधालाई तल्ला तहसम्म र सरोकारवाला सबैमा पु¥याउने माध्यम नै सुचना प्रविधि भएकोले यसको भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो । 

नेपालको राजनीतिक दलहरु प्रविधिमैत्री नभएको संज्ञा दिँदै उहाँले नेपालका राजनीतिक पार्टीहरु प्रविधिमैत्री नभएकाले आफ्नो पार्टीलाई प्रविधिमैत्री बनाउन ध्यान केन्द्रीत रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अब हाम्रो पार्टीको व्यवस्थापन प्रविधिमैत्री हुन आवश्यक रहेको छ ।’ 

हालै प्रतिनिधिसभामा ताप्लेजुङ्गबाट विजयी हुनुभएका भट्टराईले भन्नुभयो–‘हिजोका दिनमा उद्योग खोलेर धनि हुने प्रचलन भएपनि आजका दिनमा पुँजी बजार सेवा क्षेत्रतर्फ अगाडि बढिरहेको छ ।’ सेवा क्षेत्रमा पुँजीको बृद्धि हुँदा राष्ट्रिय उत्पादनमा समेत बृद्धि भएको युवा नेता भट्टराईले बताउनुभयो । नेता भट्टराईले सुचना प्रविधिले नेपालको हितको लागि अहम भूमिका खेल्न जरुरी भएको बताउँदै यसतर्फ सबै सम्वेदनशील हुन आवश्यक रहेको धारणा राख्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले सुचना प्रविधिले जनजीवनमा धेरै सरलता प्रदान गरेको जनाउँदै भन्नुभयो –‘अदालतको मुद्दा कहाँ पुग्यो, बहस कहाँ पुगेको छ भनेर घरमै बसेर बुझ्ने गरेको छु ।’ नेपालमा आइटीको क्षेत्रमा सबैभन्दा बढी फड्को मारेको भन्दै त्यसको दुरुपयोग भने गर्न नहुनेमा उहाँको जोड थियो ।

त्यस्तै कार्यक्रममा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा बढी आइटीको आवश्यकता विद्युत प्राधिकरणलाई भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो –‘आइटीको सही सदुपयोग गर्न सकेमात्र विद्युत प्राधिकरणको स्टेशन चलाउन सहज हुनेछ ।’ 

कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख (डिआइजी) पुष्कर कार्कीले समेत आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न इन्टरनेश सर्भिस प्रोभाइडरहरु, सुचना तथा प्रविधि क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses