Powered by Blogger.
हेटौंडाः ३ नम्बर प्रदेशको राजधानी बन्नैपर्ने कारणहरु

ध्रुवप्रसाद चौलागाँई

वर्तमानमा प्रदेश राजधानीको बहसको पेरिफेरिमा रहेर ३ नम्बर प्रदेशको राजधानीका सम्बन्धमा यी यर्थाथहरु सबैको जानकारिमा आउनु जरुरी छ ।

उपत्यका र आसपासका जिल्लाका वातावरण 

बिश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माईक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदुशण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यकाको वायु प्रदुशणको दर १ सय ४२ माईक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ । सरकारले ४० माईक्रोग्राम पर मिटर  क्युव मापदण्ड तोकेको छ । यो तथ्याङ्क केलाउदा उपत्यकाको वायु २४ सै घण्टा श्वास फेर्न लायक नभएको तर्क गर्छन वातावरणविद् र स्वास्थ्यकर्मीहरु ।

        नेपालमा विश्व बैंक र आइएचएमई, २०१६ का अनुसार वायु प्रदूषणका कारण मृत्यु हुनेको जनसंख्या वार्षिक २२ हजार ३८ छ । वायु प्रदूषणका कारण अर्थतन्त्रमा वार्षिक २.८ खर्ब रुपैयाँ अथवा कुल ग्राहस्थ उत्पादनको ४.७ प्रतिशतले ह्रास आइरहेको छ । (अन्नपुर्ण पोष्ट दैनिक, २०७४।०९।१०),  उपत्यकाको हावा नगरकोट र साँगा हुँदै काभ्रे प्रवेश गर्छ । साँगाबाट बनेपा, धुलिखेल हुँदै पाँचखाल पुग्छ भने बालाजुको हावा उपत्यकाको उत्तर हुँदै भक्तपुरको नगरकोटबाट पाँचखाल पुग्छ । (२०७४।०९।१४ नागरिक दैनिक) यी प्रतिनिधि मुलक समाचार हुन् । 

यदी गुगलमा गएर काठमाडौ उपत्यकाको वायु प्रदुशण भनेर सर्च गर्ने हो भने र त्यहाँ भएका तथ्यहरुलाई हेर्ने हो भने काठमाडौ उपत्यकाको अहिलेको वातावरणमा नै सुधार नगर्ने हो भने कम्तिमा पनि उपत्यकावाशीको  ५ बर्ष आयु कम भइरहेको छ । प्रदुशणको मात्रा बढ्दो छ । मानिसको आयु घट्दो छ । 

उपत्यकाको वायु प्रदुशण यथास्थितिमा नियन्त्रण मात्रै गर्न सकेमा पनि केहि राहत हुने थियो तर काठमाडौ उपत्यकामा अहिलेकै रफ्तारमा घर निर्माण हुने हो भने आउदा १० बर्ष भित्र उपत्यकामा खालि जग्गा नै बाँकी रहँदैन भनि बिज्ञहरुले रिपोर्ट सार्वजनिक गरि सकेका छन् ।  

यस्तो अवस्थामा  प्रदेश न. ३ को राजधानी उपत्यका वा आसपासका जिल्लामा राख्दा त्यतिकै अकाशीएको जग्गाको भाउ बढ्ने र केहि व्यापारिलाई फाईदा पुग्ला तर आम उपत्यकावासी र  नेपाली जनता अनि भावी पुस्ताको भविश्यमा खेलवाड गरेको ठहरिनेछ र मानिसको स्वास्थयसंग खेलवाड गरि ठुलो अपराध गरेको ठहरिनेछ ।

उपत्यकाको ट्राफिक समस्या

उपत्यकाको ट्राफिक समस्या यती भयावह छ कि त्यो कसैको नियन्त्रणमा छैन । बढ्दो आर्थिक उपार्जन संगै बर्षै पिच्छे सवारी साधनहरु खरिद गरिदै छ । बढाउने बाटो छैन, मर्मत सम्भार छैन । मन्त्रीहरुनै उपत्यकामा सवारी साधन किनेर घरमा राख्ने साँचो हातमा लिएर सडकमा हिड्ने अवस्था उपत्यकामा छ भनेर भनि रहनु भएको छ । रत्नपार्कबाट लगनखेल पुग्न २ घण्टा भन्दा बढी समय लाग्छ ।  

३ न. प्रदेशको राजधानी उपत्यका आसपासका जिल्लामा राख्ने भन्ने हो भने मानिसहरु काठमाडौबाट बनेपा पाँचखाल सम्मको जागीर अहिले पनि काठमाडौबाटै धानी रहेका छन । काभ्रे जिल्ला भन्नु पनि उपत्यकालाई नै भार पर्ने हो अझ भक्तपुर, वा काभ्रेलाई हामीले ३ न. प्रदेशको राजधानी बनाउनु पर्दछ भन्ने तर्क गर्ने हो भने पनि त्यो भनेको काठमाडौबाट सबै सांसद र कर्मचारी त्यतै जाने हो र झनै ट्राफिक समस्या र बाटो जाम बनाउने नै हो किनकी भक्तपुर तथा काभ्रेमा राजधानी बनाए पनि सांसद मन्त्री कर्मचारी सबै उपत्यकामा नै बस्ने  र अधिकांंसको उपत्यकामा घर छ । 

अहिले पनि काठमाडौका ३१, ललितपुरका ११ र भक्तपुरका ८ गरि जम्मा ५० सांसद तीन जिल्लाका मात्रै छन् । मन्त्री देखि लिएर सबै पद प्राय उपत्यकाकै सांसदहरुले पाउने सम्भावना देखिन्छ । यो तथ्यलाई हेर्दा उपत्यकाको ट्राफिक समस्यालाई झनै समस्यामा पार्ने काम अब प्रदेश सभाका सांसदहरुले गर्नु हुदैन भन्ने यर्थाथका लागि  काठमाडौको ट्राफिक समस्याका बारेमा एक पल्ट सबै सांसदहरुले बुझेर मात्रै प्रदेश राजधानीको सम्बन्धमा सोच्नु पर्ने आवश्यक्ता छ ।

प्रदेश न. ३ को प्रदेश सभाको हैसीयतले बृद्धिको ख्याल गर्नु आवश्यक छ ।

३ न. प्रदेशको राजधानी उपत्यका वा आसपासमा रहेमा त्यो केन्द्रको छाँयामा पर्ने छ ।  केन्द्रीय सांसद भएकै ठाउँमा प्रदेश सांसद हुदा त्यसको गरिमा पनि कम हुनेछ । त्यसैले प्रदेश सांसदको स्वतन्त्र हैसियत र पहिचान संगै आफुले काम गर्ने स्वतन्त्रताको लागि पनि बिकल्प खोजिनु आवश्यक छ ।

जन आन्दोलनको भावनाको प्रतिनिधित्व हुनु पर्दछ । 

नेपालमा जति पनि आन्दोलनहरु भए सबै शक्ति बिकेन्द्रित गर्नु प¥यो भनि भएका छन्  । अहिले पनि शक्ति बिकेन्द्रित गर्नको लागि उपत्यका भन्दा बाहिर ३ न. प्रदेशको राजधानी राख्दा नै उपुक्त हुने हुदा यो तथ्यलाई पनि हामीले भुल्न हुदैन ।

३ न. प्रदेशको राजधानी हेटौडा तोकिनुका कारणहरु 

क)  छिमेकी देश भारतबाट सिमा क्षेत्रहरुमा हुने गरेको गलत क्रियाकलापका बिरुद्धमा निगरानी गर्न र केन्द्रको राजधानीको सुरक्षाको लागि, ३ नं. प्रदेशको राजधानी हेटौडालाई बनाउदा ९० प्रतिशत सहयोग पुग्ने तथ्यलाई सुरक्षा बिज्ञहरुसंग छलफल गर्दा प्रष्ट हुनेछ । 

 ख)  हेटौंडाबाट सबै प्रदेशहरुलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुँचहरु पु¥याउन सकिने यथार्थता छ । 

ग) देशको ९० प्रतिशत आयात हुने प्रमुख नाका बिरगंज हेटौंडाबाट नजिक पर्ने र यसलाई व्यवस्थित बनाउन हेटौंडा नै उपयुक्त छ ।

सडक सञ्जालहरु

अहिले हेटौडा प्रदेशको राजधानी तोकिए पश्चात उठेको प्रमुख कुरा ‘छेउमा पर्दछ र बाटो छैन’ भन्ने छ । हामीहरुले ख्याल गर्नपर्ने कुरा के छ भने यती सानो देशमा अब हुने द्रुततर बिकाशले ३ न. प्रदेशको राजधानी रसुवामा लगेर राख्दा पनि केही समय बाटोको समस्या पर्न सक्ला तर केही समय पश्चात हामीहरुलाई बाटो घाटोको समस्या अब पर्ने छैन ।  

देशलाई यथास्थितिमा राख्ने यो देशको बिकाश नगर्ने हो भने तत्कालका लागि हेटौडामा सहज बाटो छैन भन्ने तर्क केही हद सम्म मान्न सकिएला तर अबको ६ महिना भित्रमा पुरा हुने कान्तिराजपथ र केही बर्षमा बनिसक्ने फाष्ट ट्र्याकलाई पुरा गरि सकेपछीको अवस्थामा यो कुनै समस्या होईन । 

अहिले शुरुको एक बर्ष बाटो भएन भनेर राजधानी बाटो भएको ठाँउमा लाने र अर्काे २०० बर्ष सम्म दुःख पाउने अनि भावी पुस्ताले कस्तो अदुरदर्शी काम गरेछन् भनि धिक्कार्ने काम गर्नु उचित होईन त्यसैले बाटोको समस्या समाधान गर्न प्रदेश सभाको पहिलो बैठकले छलफल गर्ने र सम्बन्धित पक्षहरुलाई निगरानीमा राखेर काम गर्ने हो भने २,३ महिनामा हेटौडा आउन जान कुनै समस्या हँुदैन र छैन ।

यसका साथै निम्न सडक सञ्जालहरुलाई हेरेर पनि तथ्य के हो बुभ्mन सक्दछौ ः

क) हेटौडाबाट देशको राजधानी काठमाडौसम्म फाष्टट्रयाक बाट १ घण्टामा पुग्न सकिने ।

ख) कान्तिराजपथबाट डेड घण्टादेखि २ घण्टामा पुगिने, 

ग) मदनभण्डारी कुलेखानी, चन्द्रागिरी, हेटौडा मार्गबाट अढाई ३ घण्टामा हेटौडा पुगि रहेको ।

घ) निर्माणधिन धरान चतरा मार्ग, काभ्रे तालढुङ्गा, फापरवारी हेटौडा मार्गले काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक,दोलखा सम्मलाई काठमाडौ भन्दा हेटौंडा नजिक पर्दछ ।

ङ) लोथर आग्रा, माहादेववेशी गल्छी, रसुवा धार्के गजुरी लगायतका सडकले हेटौडा र काठमाडौ पुग्न रसुवा, धादिङ्ग,नुवाकोटका आधा मानिसहरुलाई बराबर समय लाग्दछ ।

च) निजगढको अन्तराष्ट्रिय बिमानस्थल हेटौडाबाट आधा घण्टामा पुगीन्छ ।

छ) सिमराको राष्ट्रिय विमानस्थलमा आधा घण्टामा र चितवनको राष्ट्रिय बिमान स्थलमा १ घण्टामा पुगिन्छ । 

अहिले हेटौडा टाढा पर्दछ भनि आएका तर्कहरुमा जिल्लाहरुको सदरमुकामलाई आधार मानि भनिएका हुन् । काभ्रेको तालढुङ्गातर्फ जान हेटौडा हुदै जानु पर्दछ भनि काभ्रेका सांसद लक्ष्मण लम्सालले नै एउटा अन्र्तवार्तामा यथार्थ बताउनु भएको थियो ।

 धादिङ्गको चितवन, र मकवानपुरसंग जोडिएको भाग ललितपुरको मकवानपुरसंग जोडिएको भाग अर्र्थात जिल्लाको आधा हिस्सामा बस्ने मानिसहरुलाई अहिले पनि मकवानपुरको हेटौडा नै नजिक पर्दछ । तर अहिलेको केन्द्रिकृत शासन प्रणाली अन्र्तगत हामीहरु काठमाडौमा नै गई रहेको र सबै कुरा उपलब्ध भएको उपत्यकालाई नै नजिक ठानी रहेका छौं । 

वास्तबमा हामीले अब यो सोच संघियताको कार्यान्वयन संगै तोड्नु पर्दछ । उपत्यकाको सबै कुराको बिकल्प र सबै कुरालाई व्यवस्थापन गर्न सक्ने आधार स्रोत साधन हेटौडामा मात्रै रहेकोले यसमा बिशेष ध्यान दिनु पर्दछ ।   

राजधानीका लागि आवश्यक सम्पुर्ण पुर्वाधारहरु हेटौडामा नै छन् ।

अहिले राजधानी तोक्न लिएको आधार पानी, ढल निकाश, जग्गा जमीन, सुरक्षा र विजुली सबै हेटौडामा नै पर्याप्त छन् । मकवानपुर जिल्लाको हेटौंडा नगरको उपत्यकामा मात्रै ८० लाख मानिसहरु बस्न सक्ने क्षमता रहेको बिज्ञहरुले प्रमाणित गरेका छन् । यसका आसपासका जुन गाँउ पालिकामा गए पनि सयौ बिघा जमिनहरु खालि नै छन् ।  

तिनीहरुलाई हामीहरु बिकाश निर्माण र अनुसन्धानमा प्रयोग गर्न सक्दछौ । यहाँको जमिनको बनावटको कारणले ढलको समस्या पर्दैन ।  पानीको प्रयाप्त स्रोतहरु रहेकोले  कहिल्यै समस्या पर्ने छैन । कुलेखानी प्रथम ,दोश्रो र तेश्रोबाट मकवानपुरबाट नै बिद्युत उत्पादन भईरहेकोले बिजुलीको समस्या छैन ।

 मकवानपुर जिल्लामा रहेका क्षेत्रिय कार्यालयहरुका कारणले गर्दा अहिलेपनि भौतिक पुर्वाधारहरुको समस्या परेको छैन । मात्र प्रदेश सभाको बैठक संचालानार्थ राम्रो र आधुनिक स्थान बनाउने कार्य मात्रै मकवानपुरमा भई रहेको छ ।  

धेरै क्षेत्रीय कार्यालयहरु मध्ये छानेर मन्त्रालयहरुलाई राम्रो घर छनौट गरिदैछ । त्यसैले यस्ता सबै यर्थाथहरुका कारणले मकवानपुर जिल्लाको हेटौडालाई नै ३ न. प्रदेशको राजधानी तोकिएको हो । यी माथि उल्लेखित वातावरण, सवारीचाप लगायतका तथ्यहरुका बारेमा कसैको टिका टिप्पणी भए बिशेषज्ञहरुबाट परिक्षण गराईयोस, बिशेषज्ञहरुबाट गरिएको सही बिश्लेशण र आधारमा सबैले बिश्वास गर्नेछन् भाबी पुस्ताले पनि ती यथार्तलाई हेर्नेछन् स्वीकार्नेछन । 

अरु बुझेका मानिसहरुले पनि हेर्नेछन् ,स्वीकार्नेछन् । त्यसैले केही महिना असजीलो भयो वा हुन्छ भन्ने नाममा सयौ बर्ष सम्म अशर गर्ने गरि बिशेषज्ञहरुको रिपोर्ट भन्दा बाहिर गई हेटौडाको बिकल्पको बारेमा जनताका प्रतिनिधि दुरदर्शी नेताहरुबाट छलफल हुने र गरिने छैन भन्ने हामी मकवानपुरवासीले विश्वास लिएका छौ ।

र, अन्त्यमा सयौ बर्षको नेपाली जनताको आदोलनले प्राप्त गरेको उपलब्धिको कार्यान्वयनको पहिलो खुड्किलोको रुपमा रहेको पहिलो प्रदेश सभाको बैठक नै हेटौडामा सहज र सरल रुपमा सम्पन्न भएको छ । २०७४ माघ १८ गतेको पहिले प्रदेशसभा बैठक नेपालको ईतिहासमा स्वर्णिम अक्षरले लेखिई सकेको छ । त्याँहा शपथ गर्न आउनुहुने सबै सांसदहरुलाई हेटौडाको सबै पात, पतिंगर, माटो, ढुंगा देखी लिएर सबै चिजले स्वागत गरेको छ । 

त्यो ऐतिहासिक उपल्बधीको साक्षी हेटौडाका सबै चिजहरु बनेका छन् । हेटौडामा सपथ गर्नुहुने ११० सांसदहरु सबको आवाज हेटौडामा गुञ्जी रहेको छ । त्यो ऐतिहासिक उपलब्धी हासिल संयोगले ३ न. प्रदेशका सांसदहरुलाई हेटाडौमा नै जुरेको छ । 

त्यसैले अहिलेका ११० सांसदहरुले हेटौडाको बिकल्प खोज्नुहोला भन्ने कल्पना गर्नु भनेको आफुले बनाएको ईतिहासलाई छायाँमा पार्नु र यो ऐतिहासिक स्थानको अवमुल्यन गर्नु, आफु प्रदेश सभाको सांसद हुनुको महत्वलाई छाँयामा पार्नु समेत हुने भएकोले पत्रपत्रिकामा आएको जस्तो हेटौडाको बिकल्प खोज्ने तहसम्म ११० तीन न.प्रदेश सभाका सांसदज्युहरु पुग्नु हुने छैन भन्ने बिश्वास गर्दछु । 

(अधिवक्ता समेत रहेका लेखक चौलागाँइ  ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा नै कायम गर्नुपर्छ भन्ने उद्देश्यले गठित जनदवाव समुह हेटौंडाका संयोजक हुनुहुन्छ । )

0 comments

Write Down Your Responses