Powered by Blogger.
प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा पौडेल

मकवानपुर /  नेकपा एमाले प्रदेश नंबर ३ का संसदीय दलका नेता डोरमणी पौडेल मुख्य मन्त्रीमा नियुक्त हु्नु भएका छन् ।

एमाले संसदीय दलका नेता पौडेलले बहुमत ५८ जना सांसदको हस्ताक्षर भएको पत्र तथा नेकपा माओवादी केन्द्रबाट समर्थन पाएको पत्र सहित प्रदेश प्रमुख अनुराधा कोइरालाई सरकार गठनको प्रस्ताव गरेपछि कोइरालाले आजै पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आज साँझ प्रदेश नंबर ३ को कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रदेश कार्यालयका सचिव चर्तुभुज ज्ञावलीले पौडेललाई कोइरालाले आजै नियुक्त गरेको जानकारी दिए ।

प्रदेश प्रमुख कोइरालाले नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नव नियुक्त मुख्यमन्त्री पौडेलको सोमबार विहान ९ः३० बजे प्रदेश प्रमुखको कार्यालय परिषरमा सपथग्रहण हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

को हुन् डोरमणि पौडेल ?

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाल्न लागेका डोरमणि पौडेल एमालेभित्र होचो राजनीतिक कदका अग्ला नेता मानिन्छन् । जसरी उनको उचाइ र उमेरलाई अग्लो मान्न सकिन्छ, त्यसरी नै दिएको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पनि कहिल्यै असफल नहुने अग्ला नेता देखिन्छन्, उनी ।

पार्टीमा उनी केन्द्रीय कमिटी सदस्यसम्म पनि भएनन् तर जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गरेका छन् । उनको क्षमतामा शंका नभएरै एमालेको संस्थापन पक्षले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको बुझ्न सकिन्छ ।

पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर बने । उनकै पालामा हेटौंडा मुलुककै नमूना नगरपालिका बन्यो । नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर १५ वर्ष काम गरेका पौडेल स्थानीय शासन प्रणालीको विज्ञका रुपमा पनि परिचित छन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्यसमेत रहेका उनले शुरुमा सोही हैसियतमा सभा पनि सञ्चालन गरे ।

१५ चैत २००२ मा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइँसराईंसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा बनेका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेका थिए । पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि परे । एमालेभित्र सधैं केपी ओलीनिकट रहेर काम गरेका नेता हुन्, पौडेल ।

0 comments

Write Down Your Responses