Powered by Blogger.
फाखेलमा ८५ वर्ष पुरानो गुम्बा पुर्ननिर्माण हुँदै, पाँचौ औतारी लामाबाट भूमिपुजा सम्पन्न


फाखेल(मकवानपुर) । उत्तरी मकवानपुरको फाखेल– पुरुण्डीमा ८५ वर्ष अघि स्थापना भएको ऐतिहासिक गुम्वा पुर्ननिर्माणको तयारी थालिएको छ । भूकम्पले क्षतिग्रस्त भएको रिग्डुङ दोँङटुक लिङ गुम्वा अहिले आधुनीक स्वरुपमा निर्माणको तयारी थालिएको हो । 

स्थानीयले ६३ लाख रुपैंया बराबरको जग्गा निशुल्क प्रदान गरेपछि गुम्वालाई आधुनीक स्वरुपमा निर्माण गर्ने तयारी गरिएको हो । शनिबार पाँचौ औतारी लामा काथोक सितु रिम्पोर्छेले धार्मिक मन्त्र उच्चारण गरी भूमिग्रहण पुजा सम्पन्न गरेका हुन् । 

विक्रम सम्वत १९८९ मा स्थानीय लामा लालसिंह बलले स्थापना गरेको गुम्वामा अहिले पाँचौं लामा कार्यरत छन् । गुम्वामा अहिलेसम्म बिमानसिंह लामा, कृष्णबहादुर लामा, धन बहादुर ब्लोन लामाले लामाको रुपमा काम गरेका थिए भने अहिले धिरज लामा कार्यरत छन् । 

अहिले  स्थानीय धिरज लामाकै संयोजकत्वमा गुम्वा निर्माण समिति गठन गरी आर्थिक तथा भौतिक सहयोग संकलनका लागि देश तथा विदेशमा रहेका महानुभावहरुलाई आग्रह गरिएको छ । 

इन्द्रसरोवर गाँउपालिका वडा नम्बर ४ का तर्फबाट सो गुम्बा निर्माणका लागि २ लाख रुपैंया बजेट समेत छुट्याइएको वडाध्यक्ष धनविर स्याङ्तानले जानकारी दिए । 

स्थानीय सानुमाइली लामा, पासाङ लामा, दावा फिन्जु लामा लगायत परिवारले १ रोपनी आठ आना र अर्का स्थानीय कान्छी रुम्बा, फुलबहादुर रुम्बा, सुकबहादुर रुम्बा, राजन रुम्बा, मानबहादुर रुम्बा लगायत परिवारले १ रोपनी एक आना दुई पैसा गरी २ रोपनी ९ आना जग्गा प्रदान गरिएपछि स्थानीय बासिन्दा गुम्बा पुर्ननिर्माण गर्न कस्सिएका हुन् । 

फर्पिङ स्थित रिग्डेन डुब्बे गाछल गुम्बाको विशेष पहलमा पुजा सम्पन्न भएको थियो । 

आर्थिक व्यवस्थापन सहज भएमा दशै अगाडि नै गुम्बा निर्माण गरिसक्ने समितिको योजना रहेको छ । शनिवार गुम्बा निर्माण स्थलमा आयोजित विशेष समारोहमा गाँउ पालिका अध्यक्ष जीवन लामाको पनि उपस्थिति रहेको थियो । 



0 comments

Write Down Your Responses