Powered by Blogger.
थाहा नगरको १ नम्बर वडा विकासमा पनि एक नम्बर हुनेछ

हेरामान गोपाली, वडा अध्यक्ष, थाहा नगरपालिका, वडा नं १, मकवानपुर

थाहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली पिता भोग बहादुर गोपाली तथा माता पम्फावती गोपालीको कोखवाट २०३९ साल चैत्र महिनाको १२ गते जन्मिएका हुन् । श्रीमति तारादेवी गोपालीका साथै १ छोरा र १ छोरी रहेका छन् । अहिले ३५ बर्ष मात्र भएका जाँगरिला युवा गोपालीले मानविकी संकायमा स्नातक तह सम्म प्रमुख विषय समाजशास्त्र र अंग्रेजी साहित्य पास गरेका छन् भने कृषिमा इजरायलको आइक्याट कलेजबाट दुईवर्षे डिप्लोमा गरेका छन् ।  सानै उमेरदेखी बलियाले कमजोरीलाई हेपेको देख्दा ती कमजोरीको न्यायको पक्षमा उभिने गोपालीको स्वभाव थियो ।  त्यही स्वभावका कारण आज वडा अध्यक्ष बन्न सफल भएको उनी बताउँछन् ।  राजनीतिलाई समाज परिवर्तनको प्लेटफर्म  ठान्ने उनी सामाजिक कामहरुमा सक्रिया छन् ।  प्रस्तुत छ सदैव सामाजिक काममा तल्लिन  तथा जाँगरिला युवा तथा थाहा नगरपालिका वडा नम्बर १ का  वडा अध्यक्ष हेरमान गोपाली सग गरिएको कुराकानीः 

आजभोलि केमा ब्यस्त हुनु हुन्छ ?

नढाँटी भन्नुपर्दा पुरा समय समाज सेवामा नै लगाएको छु । यदाकदा समय निकाल्न सक्दा खेतबारी जान्छु ।

निर्वाचित भैसकेपछि जनताको काम गर्दा कस्तो महशुस भैरहेको छ ?

जनताको काम गर्न पाउनु गौरवको विषय हो ।  सवैले यो अवसर पाउन कठिन छ, म अत्यन्तै हर्षित छु ।

स्थानिय निर्वाचन पश्चात वडावाटै जनताको काम हुन्छ भनिएको थियो के अहिले तपाईहरुको क्षेत्रको  अधिकार पर्याप्त छ ?

अधिकार त मानिसलाई जति भएपनी पुग्दैन ।  यद्यपी अहिलेको अधिकार पर्याप्त भन्नु पर्छ । वडाका जनताका लगभग ९० प्रतिसत काम बडा कार्यलयबाटै हुनु पनि त सकारात्मक नै हो नी ।

वडा अध्यक्ष भैरहँदा कुनै समस्या भइरहेको छ की ?

समस्या त जहाँ पनि जहिलेपनि जन्म संगसगै टासिएर आउने कुरा हो  । तर भनिन्छ नि, जहाँ ईच्छा शक्ति हुन्छ, त्यहाँ समाधानका उपाय पनि त छ ।

वडा अध्यक्ष हुनु पहिला र अहिलेको हेरमान गोपालीको जीवनमा के फरक छ ?

नेवार समुदायको भएको हुनाले म सानैदेखि गुठीहरुमा अनि हाम्रो अन्य साँस्कृतिक परम्पराहरुमा संलग्न हुन्थें ।  संगै सामाजीक कार्यहरु र सधै समाजमा सकारात्मक परिर्वतन ल्याउने सोच मेरो हुन्थ्यो । त्यही भएर हो की ठुलो फरक आए जस्तो त लाग्दैन  । तैपनि पहिले समाजसेवा बाध्यात्मक हुन्नथ्यो भने अहिले समाज सेवा लाई कर्तव्य ठानेको छु ।

आफ्ना वडाका विकासको लागि के कस्ता योजनाहरु रहेका छन् ?

वडाको प्रमुख भएको हैसियतले जिम्वेवार व्यक्ति समाजले बनाएको छ । जसलाई पुरा गर्न वडाका विकासका योजनाहरु मोटर बाटो, खानेपानि, विद्यालय, कृषि, पर्यटन, व्यवसाय जस्ता विषयहरु समेटेको छु र आगामि वर्षमा योजना अलि फरक हुनेछ ।

कृषि तथा पर्यटननै थाहा नगरको समृद्धिको आधार भनिएको छ, तपाईको वडामा कृषि र पर्यटनको लागि के के गर्ने योजनाहरु अघि बढाउनुभएको छ ? 

पक्कै हो, हामीले जे सुकै भनेतापनि अहिले पनि हामी कृषिमा नै निर्भर छौ कृषि सेवा केन्द्रको सहयोगले मात्र कृषि व्यावसाय अघि बढ्न गाह्रो महसुस गर्दै मैले आफ्नो वडाका सवै कृषक जसले आफ्नै तरिकाले टनेल बनाउँछन् उनीहरुलाई ३० प्रतिसत अनुदानमा टनेल प्लास्टीक वितरण गर्ने व्यवस्था योजनामा राखेको छु र काम भैरहेको छ । पर्यटनमा १ नम्बर वडा अरु भन्दा अगाडी देख्छु । 

किन भन्दा यहाँको मिलेको वस्तीहरु जुन होमस्टे विस्तारको निम्ति अत्यन्तै सजिलो छ । गत वर्षमात्र वडाको कुन्छाल गाँउलाई गाँउ पर्यटन प्रर्वद्धन मञ्चले पर्यटकिय गन्तव्य गाँउ घोषणा गराउन सफल भएका छौ ।  त्यहाँ होसस्टे प्रर्वद्धनको निम्ति समिति गठन गरेर अघि वढिरहेका छन् र यो कार्यलाई अन्य गाँउहरुमा पनि विस्तार गर्दैछु । यसैगरी कुटिपकलमा भ्यु टावर निर्माणको लागी डि पि आर तयार हुदैछ । 

ओखरवजारका झम्केश्वरीमा धार्मिक पर्यटकको लागी झम्केश्वरी जग्गेशाला डिपिआर तयार भैरहेको छ । सास्कृतिक पर्यटनको लागी महिला लक्षीत गरी वाँसुरी बाजा तथा हाकु पटासी प्रवद्र्धन कार्यक्रम रहेको छ  खेलकुद मैदान तयार हुँदैछ । समग्रमा १ नं वडाको पर्यटन राम्रो हुनेवाला छ ।

मोटर बाटोको सुविधा नभइकन विकासको सम्भावना कम हुन्छ, बाटो सम्वन्धि कस्तो योजना बनाउनु भएको  छ ?

अहिले मानिसहरु भारी बोक्न छोडिसकेका छन् । यो समयको माग पनि हो । त्यसैले यो वडामा भएका वस्तीहरुमा प्राय सडक ढलान तथा ग्रावेलिङ यही वर्षमा हुने गरी बजेट विनियोजन गरेको छ । बाँकी सडकहरु जुन कृषिको लागी तथा अन्य दृष्टिले बनाएका छौ ति वाटाहरु क्रमिक रुपमा विकास गर्दै लानेछौ ।

तत्काल वनाउनु पर्ने तथा दिर्घकालिन बाटोहरु छुट्याउनु भएको छ ? अथवा मापदण्ड के छ?

तत्काल बनाउनुपर्ने बाटाहरु पनि धेरैछन् । ति वाटाहरु प्राथमिकताको आधारमा बनाइरहेका छौ । अहिले ६ मिटरका बाटाहरु धेरैछन् । अब बनाईने बाटाहरु दिर्घकालिन बाटोको मापदण्ड अनुरुप कम्तीमा १० मिटरको हुनेछ  । सम्भवत १ नं. वडामा एउटा रिङगरोड कल्पना गरेको छु ।

दिर्घकालिन खालको वाटोहरु कुन कुन हो ?

अहिले गाँउ छिरेका बाटोहरु यसै दिर्घकालिन भइहाले  । अव बन्ने बाटोहरु झन स्तरीय हुनुपर्छ  । वडा कार्यलयबाट कुलगाँउ ,कुन्छाल हुदै बाराहीचौर सम्म एउटा स्तरीय बाटो बन्नेछ  भने रिङरोडले वडाका सम्र्पुण वस्ती समिटिने गरी बनाउने लक्ष्य छ ।

तपाईको वडामा स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली वत्ति, सरसफाई को अवस्था के छ ?  भावि योजनापनि छन् की?

यो वडामा स्वास्थ्य चौकि सम्म पनि छैन तर म अस्पतालको लक्ष्यका साथ  अघि बढ्दैछु  । शिक्षामा यहां दुईटा मावि, एउटा प्रावि र दुईवटा आधारभुत स्कुलहरु छन् ।  यहाँको जनता प्राय शिक्षित नै छन् । 

खानेपानिको समस्या सामाधान हुँदैछ । सम्र्पुण वडावासीको घरमा विजुलीको पहुँच पुगेको छ । व्यवस्थीत गर्न बाँकी छ । सरसफाईको लागी योजनाबद्ध ढंगबाट अगाडि बढ्दैछौं भर्खरै मात्र वडाको मुख्य वजार ओखरवजारमा बजार ब्यवस्थापन समिति गठन गरी समिति र नगरपालिकाको समन्वयमा बजार सफा गर्ने काम भएको छ ।  

यसले निरन्तरता पाउनेछ भने अन्य टोलहरुमा पनि टोल सुधार समिति गठन गरी काम अघि बढ्दैछन् ।

यस बर्षका तपाईको वडाको आयोजनाहरु कत्तिको सम्पन्न भयो ? उल्लेखनीय कार्य भएका कुनै आयोजनाहरु भन्दीनुस न?

यो वडाका ३८ वटा योजना मध्ये ७० प्रतिसत काम सम्पन्न भैसकेको र बाँकि ३० प्रतिसत सम्पन्न हुनेवालामा छन् । सबै योजना सम्पन्न हुनेमा म विस्वस्त छु ।

जनताको तत्कालको आवश्यकता के के देख्नु भयो ? वेरोजगारी समस्या कत्तिको छ, व्यवस्थापनका लागि केही योजना छन् की?

आवश्यकताा धेरै छन्  । गाँस, बास र कपासको आवश्यकता भने जहाँ सम्म लाग्छ, छैन । वेरोजगारी समस्या त यो वडामा पनि छ तर कामै नपाएर हैन  । कामको महत्व र प्रकृति नबुझेर हो । 

कृषिमा आधुनिकिकरण संगै थाहामा बेरोजगारी समस्याको समाधान हुन्छ भन्नेमा विस्वस्त छु ।  जसका लागि वडाले यही वर्षको योजनामा ४ लाखको टनेल प्लाष्टिक वितरण गर्दैछ । 

आगामी वर्षमा वडामा यो भन्दा धेरैगुणाले बृद्धी हुने पनि जानकारी गराउँछु  । यसै गरी पर्यटन क्षेत्रमा पनि आवश्यक पहल गरिरहेकै छु  । अझ धेरै गर्न बाकी  छ ।

समृद्ध वडा भए पछि थाहा नगर समृद्ध हुनेनै छ, समृद्ध वडाका लागि के सोच्नु भएको छ ?

समृद्ध हुन एक दुईजनाले बल गरेर मात्र गाह्रो छ । यसमा सम्र्पुण बुद्धिजिवि,समाजसेवी ,शिक्षक, विद्यार्थी, किसान, मजदुर, व्यावसायी, पत्रकार लगायत सबैको सल्लाह र सहयोगको खाँचो छ । 

व्यंङग्य गर्ने र अरुलाई कमजोर बनाउने सोच राख्यौ भने हामी अरु भन्दापनि पछि पर्छौ । छलफल र सल्लाहले हामी छिटै समृद्धि तर्फ पुग्छौ ।  त्यसैले सम्र्पुणको सल्लाह, सुक्षाव र सहयोगको अपेक्षा गर्छु ।

खानेपानीको कत्तिको समस्या छ ? समाधनका लागि  के योजना छ  ?

यो वडाको टाखेल, कुटिपकल, गहते र देउरालीमा खानेपानीको अति नै समस्या रहेछ, जसको समाधान भएको छ । अब सवैतिरको खानेपानिलाई व्यवस्थीत गर्न आवस्यक ठानेको छु ।

वडा कार्यालय भाडामा चलाइ रहनु भएको छ, वडा कार्यालय पनि बन्दैछ, के भन्छन् वडाबासीहरु ?

हजुर, धेरै प्रयास पछि वडा कार्यलय विस्तार गरको छु ।  भाडामै भएपनि जनताहरु खुसी छन् ।  सवै सेवा कार्य पायक पर्ने ठाउमा छ । अब वडाको आफ्नो भवन बन्ने काम शुरु भएको छ ।

वडा कार्यालय बनिरहेको स्थानको बिषयमा बासीन्दा खुसी छन् ?

हामीले कुनै पुर्वाग्रह नराखी ठाँउ छानेका छौ वडाकै बीचमा पर्छ । टाढाका बासिन्दा पनि आधा घण्टामा कार्यालय आईपुग्न सक्नुहुन्छ  । त्यसैले लाग्छ कसैलाई यसको दुखेसो छैन ।

अबको ५ बर्ष पछि थाहा नगरपालिकाको वडा नम्बर १ कस्तो हुने छ ?

समस्या ,चुनौती र अवसर लगायत सबै कुराले यतीखेर मलाई घेरामा पारिरहेको छ, तर पनि म मा विश्वास यो छ कि मेरो पालामै यो वडाको शिक्षा,स्वास्थमा फरक महसुस गर्ने छन् वडावाशीले । 

सबै जनतासामु शुद्ध पिउने पानीको उचित व्यावस्थापन गाँउ टोलहरु सफा र सुन्दर,कृषिमा व्यापक आधुनिकिकरण, पर्यटनले छुट्टै फड्को मारेको र समग्रमा १ नं वडा विकासमा पनि १ नं हुनेमा विश्वास गर्न आग्रह गर्दछु ।


0 comments

Write Down Your Responses