Powered by Blogger.
बोक्सी मानसिकता विरुद्ध चेतना फैलाउने कि ?

ईश्वरीप्रसाद बञ्जाडे

आजको आधुनिक विश्व विज्ञान र प्रविधिको युग हो । भौतिकवादी चिन्तन भनौ वा विज्ञानमा विश्वास गर्नेहरुले अन्धविश्वास कुरीती लाई स्विकार वा ग्रहण  गर्दैनन् । विश्वमा कोही बोक्सी र बोक्सो भन्ने   हुंदैनन् । बोक्सो, बोक्सी र धामीझांक्री हुने भए उपचार गर्न डाक्टर पढाउन किन पर्थो र ! बोक्सी भनेको शुन्य चेतनाको उपज हो । 

जो संग चेतना, तर्क, बुद्धि विवेक छैन र परम्परागत अन्धविश्वासलाई मानि आएको छ, त्यसैले बोक्सीको आरोप लगाउंछ । बोक्सो र धामी, झाक्री हुने भए म वकील नबनेर धामी, झाक्री वा बोक्सो बन्ने थिए । किनभने यो पेशा सजिलो र पढ्न, लेख्न र चिन्तन गर्न नपर्ने चेतना शुन्य पेशा थियो । 

आजको वैज्ञानिक भौतिकवादी प्रगतिशिल संसारमा अन्धविश्वास, कुरिती, अन्याय, अत्याचारको विरुद्ध संघर्ष तथा विश्वलाई अग्रगमनमा लैजानको लागी माक्र्स, लेनिन, माओ, लुसीन र धेरै धेरै वैज्ञानिक र अनुसन्धानकर्ता हरुको जन्म हुने थिएन होला ।

जुन समाजमा बढी गरिबी र शैक्षिक स्तर माथि छैन त्यो समाजमा मात्र अझै पनि बोक्सी प्रथाको भुतले जरा गाडेको छ । के बोक्सी प्रथा वर्गिय प्रथा हो ? गरिब परिवार र समाजमा मात्र बढी हुने तर धनी, सम्पन्न र शिक्षित समाजमा नहुने, यो त अवश्य होइन होला । नेपालका ग्रामिण समाजमा अझैपनि बोक्सी प्रथाको नामबाट निर्दोष महिलाहरुलाई क्रुर यातना, कुटपीट तथा हत्या सम्म गरेका उदाहरणहरु पाईन्छन । 

त्यसैले यस्तो चेतना शुन्य विवेकहिन, गैह्रकानुनी, अन्धविश्वास र रुढीवाढी कुरुती “बोक्सी” प्रथाको विरुद्ध चेतना फैलाई जागरण ल्याउन पर्ने आजको नैसर्गिक आवश्यकता हो । आजको मानिस चन्द्रमामा पुगेर मानव बस्ती बसाल्ने कुरा गर्दैछन तर हाम्रो नेपाली समाजमा अझै बोक्सी र छाउपडी अन्धविश्वास व्याप्त छ । 

यस्तो रुढीवाढी अन्धविश्वासी चिन्तन रहेसम्म कसरी देशको विकास, संवृद्धि, प्रगती तथा मानव जिवनको विकास होला र ?

यी अन्धविश्वास र कुरितीहरुको विरुद्ध सचेतना ( फैलाउन, जगाउन सरकार, राजनैतिक दल, शिक्षक, पत्रकार, बुद्धिजिवी, नागरिक समाजका व्यक्तिहरु र महिला सबै लाग्नुपर्ने होइन र ? 

नेपालमा हालै सुदुर पश्चिमाञ्चल क्षेत्र, कैलालीको घोडाघोडी नगरपालिका देउकलीमा फागुन २४ गते विहिवार बोक्सी आरोपमा राधा चौधरीलाई बर्बर यातना दिईएको घटना बाहिरिएको छ । सो घटना घटिरहँदा त्यहाँ बसिरहेका अन्य मानिसहरुले आनन्दसाथ निज पिडित राधा चौधरीलाई कुटीरहेको दृष्यलाई हेरिरहनु चेतना शुन्यको अवस्था होइन र ? यस्तै घटनाहरु भईरहने र यस्ता अमानविय कार्य गर्ने कसुरदारलाई सजायको भागीदार बनाई सजाय दिनुपर्ने चेतनशिल नागरिक समाजको आवाज हो । 

नागरिक समाजको आवाज अनुसार प्रहरीले पीडित राधा चौधरीलाई कुट्ने प्रतिवादीहरुलाई पक्राउ गरी अनुसन्धान गरी सरकारी वकील मार्फत कैलाली जिल्ला अदालतमा मुद्दा पेश गरीएकोमा प्रतिवादीहरुलाई पुर्पक्षको निमित्त थुनामा राख्ने आदेश अदालतले गरेको छ । 

अहिले पिडित राधा चौधरीलाई बोक्सी भनी कुटपीट गर्ने प्रतिवादीहरु जेलभित्र जिवन बिताईरहेका छन । त्यसैले कानुनले बोक्सी भनेर कुट्ने, पिट्ने, यातना दिने तथा अमानविय कार्य गर्नेलाई छोड्दैन । त्यसैले कसैलाई पनि बोक्सो र बोक्सीको आरोप नलगाऔँ । 

समाजमा भएका नराम्रा कुरालाई महिलामाथी थोपार्नु, दोषी ठह¥याउनु हाम्रो अन्धविश्वासी र अशिक्षित समाजको कुप्रथा हो, जसको सिकार राधा चौधरी हुन पुगिन् । धामी र झाँक्री भनाउँदाहरुको सनकको कारण बोक्सी ठहर गरी कुटपीट, यातना, डाम्ने, कपाल मुड्ने र हत्या सम्म गर्ने गरेका उदाहरणहरु हाम्रो समाजमा घटिरहेका छन । 

बोक्सी भन्ने कुरिती, कुप्रथा र अन्धविश्वासलाई हटाउनको लागी ग्रामिण समाजका विभिन्न ठाउँहरुमा कविता गोष्ठी, वादविवाद प्रतियोगिता, वक्तृत्वकला, निबन्ध प्रतियोगिता तथा दोहोरी गीत, सडक नाटक समेत गर्नु र गराउनु पर्ने आजको आवश्यकता रहेको छ । 

कुनै पनि समाजका मानिसहरुको निच तथा परम्परागत सोचले नै यस्ता सामाजिक कुसंस्कारलाई समाजमा हाबि हुन मद्दत गर्दछ । यदि मानिसको सोचमा परिवर्तन गर्ने हो भने र यस्ता अमानविय कार्यप्रति मानिसहरुलाई सचेतना जगाउने हो भने यस्ता अपराधहरु नियन्त्रण गर्न सकिन्छ ।

बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७२ को प्रस्तावनामा कुनै व्यक्तिलाई बोक्सा वा बोक्सीको आरोप लगाउने, आरोपित व्यक्तिलाई क्रुर, अमानविय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिने जस्तो अमानविय कार्यलाई दण्डनिय बनाई सामाजिक कुरीति तथा अन्धविश्वासको रुपमा रहेको त्यस्तो कार्य निवारण गर्न र सो कार्यबाट पीडित व्यक्तिको संरक्षण गरी न्याय प्रदान गर्ने सम्बन्धमा व्यवस्था गरिएको छ ।

कसैले कुनै व्यक्ति उपर देहायको कुनै कार्य गर्न वा गराउन हुँदैन । बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली बेइज्यती गर्ने, बोक्सीको आरोप लागेको व्यक्तिका परिवारको कुनै सदस्य प्रति अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने, बोक्सीको आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने, धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमबाट बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पद्धार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमुत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रुर, अमानविय वा अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा अंगभंग गर्ने, बोक्सीको आरोपमा कसैको सम्पत्ति तोडफोड, हिनामिना वा हानी नोक्सानी गर्ने कार्यलाई बोक्सीको आरोप सम्बन्धी कसुर गरेको मानिने भनी ऐ.ऐनको दफा ३ ले अपराध स्विकार गरेको छ । 

कुनै ठाउँमा बोक्सीको आरोप सम्बन्धी कसुर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलाई यथासक्य छिटो सो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सुचना नजिकको प्रहरी कार्यालयमा दिनु पर्ने व्यवस्था दफा ४ ले गरेको छ ।

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल प्राप्त प्रमाणबाट अभियुक्त बोक्सीको आरोप सम्बन्धी कसुरको कसुरदार हो भन्ने विश्वास गर्ने मुनासिव आधार भएमा मुद्दा हेर्ने अदालतले निजलाई थुनामा राखी कारबाही गर्नु पर्नेछ । 

कसुर गर्ने व्यक्तिलाई बढीमा आठ वर्षसम्म कैद र एकलाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था सहेको छ । पिडितको हित र सुरक्षा सम्बन्धमा पिडितलाई तत्काल संरक्षण दिन आवश्यक देखेमा अदालतले अन्तरिम संरक्षण आदेश दिन सक्ने दफा १० ले कानुनी व्यवस्था गरेको छ ।

यसरी समग्रमा हेर्दा बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७२ निकै प्रगतिशिल र अग्रगमनकारी छ । मानिसले मानिसलाई घृणा, अपहेलना र मिथ्या आरोप लगाउन हुंदैन । सबैको सबैले सम्मान गर्नु पर्दछ । 

त्यसैले विवेक, बुद्धि, चिन्तन, तर्क र यथार्थको धरातलमा उभिएर बोक्सी प्रथा विरुद्ध चेतनशिल संघर्षको थालनी गरौ । बोक्सीको आरोप नलगाउन चेतनाको संम्प्रेषण गराउन नागरिक समाज सक्रिय र सरिक बनौं ।  

(लेखक बन्जाडे उच्च सरकारी वकील कार्यालय, हेटौंडाका   निमित्त सहन्यायधिवक्ता हुन् । )

0 comments

Write Down Your Responses