Powered by Blogger.
४२ वर्षसम्म पनि पूरा हुन सकेन मनहरी–चैनपुर सडक खण्ड,

राक्सिराङ गाउँपालिका / नियमित रूपमा काम सुचारु गरे ६ किलोमिटर सडक बन्न कति समय लाग्ला ? एक महिना, दुई वा तीन । तर मकवानपुरको राक्सिराङ गाउँपालिकाअन्तर्गतको मनहरी–चैनपुर सडक खण्ड चार दशक बितिसक्दा पनि निर्माण भएको छैन ।

२०३३ सालमा जिल्ला विकास समितिले निर्माण सुरु गरेको मोटरबाटोको ४२ वर्षसम्म पनि पूरा हुन सकेको छैन । गाउँपालिकाले २०७४ चैत मसान्तसम्म पूरा गर्ने उद्देश्यले २ उपभोक्ता समिति गठन गरी निर्माण कार्यको जिम्मेवारी दिए पनि उपभोक्ता समितिले बीचमा नै काम छाडेपछि निर्माण कार्य अलपत्र परेको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ  ।

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी–चैनपुरको मोटरबाटो ०७४ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गराउने उद्देश्यले राक्सिराङ गाउँपालिकाले १ करोड १७ लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो । तर उक्त बजेट मनहरी–आपखोल्सी २ किलोमिटर र चैनपुर आपखोल्सी ४ किलोमिटर गरी २ भागमा विभाजन गरेर गाउँपालिकाले २ उपभोक्ता समितिलाई हरेकलाई ५८ लाख ५० हजार रुपैयाँ मोटरबाटो निर्माण गर्न रकम उपलब्ध गराएको थियो । ‘दुवै उपभोक्ता समितिले समयमा काम गर्न नसकेकाले अहिले मनहरी–चैनपुर सडक अलपत्र अवस्थामा रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘दुवै उपभोक्ता समितिले काम नगरेकाले मनहरी–चैनपुर मोटरबाटो पूरा हुन नसकेको हो ।’

राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा गाउँपालिका कार्यालय, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय, चेपाङ संग्रहालयलगायतका कार्यालय छन् । ‘मनहरी–चंैनपुरको मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको भए गाउँपालिकाको केन्द्रसँग विभिन्न गाउँ र वडा जोडिने सडक सञ्जाल तयार भइसक्थ्यो,’ गाउँपालिका अध्यक्ष मल्लले बताए ।

‘मनहरी–आँपखोल्सीसम्मको सडकको जिम्मेवारी पाएको उपभोक्ता समितिले ३२ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । समितिले करिब ६ सय मिटर ट्रयाक खोल्न बाँकी छ । यसैगरी अर्को उपभोक्ता समितिले ३५ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । करिब ३ सय मिटर ट्रयाक खोल्न अझै बाँकी छ । दुवै उपभोक्ता समितिले ट्रयाक खोल्ने स्थान अत्यन्त जोखिमयुक्त छ । उपभोक्ता समितिहरूले निर्माण कार्य सम्पन्न नगरेकाले आगामी आर्थिक वर्षमा ट्रयाक खोल्ने र स्तरोन्नति गर्न टेन्डर आहान गर्ने मल्लले बताए । ‘समितिमार्फत विकास निर्माणको काम गर्न विविध खाले समस्या उत्पन्न हुने गरेकाले गाउँपालिकाले १० लाख रुपैयाँभन्दा बढी रकमको काम टेन्डरबाट नै गराउने निर्णय गरेको छ,’ उनले भने ।

राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँभन्दा बढीका विकास निर्माणका कार्य निर्माण व्यवसायीमार्फत गराउन निर्णय निर्णय गरिसकेका छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा मनहरी–चैनपुर मोटरबाटोका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मनहरीबाट चैनपुरसम्म ६ किलोमिटरको दूरी छ । पूर्वपश्चिम राजमार्गसँग राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरलाई जोड्न गाउँपालिकाले उक्त मोटरबाटोलाई गौरवको योजनामा छनोट गरेका छ ।

विगत चार वर्षदेखि उक्त मोटरबाटोमा पर्ने आँपखोल्सीको पहिरोले सडकको ट्रयाक नै बगाएकाले कुनै निकायले पनि लगानी गरेको थिएन । गाउँपालिकाले गत वर्षदेखि मोटरबाटो निर्माणका लागि बजेट विनियोजित गरेको हो ।

0 comments

Write Down Your Responses