Powered by Blogger.
गढी गाउँपालिकामा भुकम्प प्रभावित परिवारलाई सहयोग कार्यक्रम सफल

मकवानपुर, १४ असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ‘भुकम्प प्रभावित परिवारलाई सहयोग कार्यक्रम’ परियोजना सफल भएको लाभान्वितहरुले प्रतिक्रिया दिएका छन् । Stromme Foundation को आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) द्वारा संचालित उक्त कार्यक्रमको प्रगति प्रस्तुतिका क्रममा सहभागी तथा लाभान्वित परिवारले कार्यक्रम सफल भएको प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रम मकवानपुरगढी ५ मा भएको थियो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष जीतबहादुर घिमिरेको विशेष आतिथ्यमा भएको कार्यक्रमममा सिसिडिएनका अध्यक्ष अरुण थापा, कार्यकारिणी निर्देशक महेन्द्रबहादुर मगर, गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरी, सिसिडिएनका कार्यक्रम अधिकृत सुमिरन कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिसिडिएनका कृषि प्राविधिक सम्झना ब्लोन र पशु प्राविधिक इन्द्रबहादुर थिङले सहजीकरण गरेका थिए । मकवानपुरको थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा संचालित ३ वर्षीय परियोजनाको बुधबार लाभान्वित परिवारको सहभागीतामा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो ।  परियोजना अन्तर्गत मकवानपुरगढीका १ सय १७ जना भुकम्प प्रभावित परिवारमध्ये ५७ जनालाई सहयोग प्रदान गरिएको छ । परियोजना सफल भएको र कार्य अवधि समाप्त भएका कारण अबका दिनमा भुकम्प प्रभावित परिवारलाई सहयोग गर्ने कार्यक्रम गाउँपालिकालाई जिम्मा लगाइएको सिसिडिएनका कृषि प्राविधिक सम्झना ब्लोनले जानकारी दिईन् ।

परियोजनाले सहयोग गरेर सफल भएकाहरु मध्ये मकवानपुरगढी ६ का रामशरण तिवारी एउटा नमुना र सम्झनयोग्य व्यक्ति समेत बनेका छन् । उनले सरहानीय काम गरेर स्थानीयको मन समेत जितेका छन् । परियोजनाले तिवारीलाई कपाल काट्ने सैलुनमा प्रयोग हुने सामाग्रीहरु सहयोग गरेको थियो जसका कारण उनी अहिले सोही सामाग्रीहरुको प्रयोग गरी सैलुन संचालन गरिरहेका छन् । तिवारीले मकवानपुरगढी ६ सतसंग टोलमा ‘तिवारी बहुउदेश्यीय केन्द्र’ को संचालन गरी कपाल काट्ने तथा खाजा घर संचालनको कार्य गरिरहेका छन् । परियोजनाबाट लाभ लिएका अन्य भुकम्प प्रभावित परिवारहरुले समेत परियोजनाको कारण आफुहरुलाई राहत मिलेको बताएका छन् ।

0 comments

Write Down Your Responses