Powered by Blogger.
रमजान अलि मिँया भन्छन्,‘हामीले कतार बनायौं, अब कतारले नेपाल बनाउनुपर्छ’


काठमाडौं । नेपाल कतार मैत्री समाजका अध्यक्ष प्रोफेसर रमजान अलि मिँयाले समृद्ध कतार निर्माणमा नेपालीहरुको अतुलनिय योगदान रहेको दावी गर्नुभएको छ । 

कतारमा रहेको राष्ट्रिय मानवअधिकार समितिको नेपाल संयोजक रहनुभएका उहाँले आफ्नो देश नेपाल आएको सन्दर्भमा दामन पोष्टका सम्पादक शन्तराम बिडारीसंग लामो कुराकानी गर्दै अहिलेको कतार यो रुपमा आउनुमा नेपालीहरुको विगत ४० वर्षदेखि धेरै पसिना बगेको कुरालाई भुल्न नहुने जिकिर गर्नुभयो । 

झण्डै दुई तिहाई बहुमतको वामपन्थीहरुको वर्तमान सरकारले मुलुकलाई समृद्धीको यात्रामा अघि बढाउन आँटेको बेला कतारी समृद्धीको यात्राबाट नेपालले धेरै कुराहरु सिक्नुपर्ने समेत उहाँले बताउनुभयो । 

अरवी भाषाका ज्ञाता, त्यहाँको मानवअधिकार क्षेत्रका अभियन्ता र कुटनीतिक मामलामा गहिरो दख्खल राख्नुहुने मियाले कतारको मानवअधिकार समिति मार्फत नेपाल, श्रीलंका, वंगलादेश, पाकिस्तान, इरान र वर्मा लगायतका मुलुकहरुको समस्या र मानवअधिकारका स्थितिका बारेमा पनि अध्ययन अनुसन्धान गरिरहनुभएको छ । 

अरबी मुलुकहरुसंगको सम्वन्धमा नयाँ आयाम थपी दुइ देशीय सम्वन्धका लागि सेतुका रुपमा काम गर्न गर्न समेत सक्ने क्षमता राख्नुहुने मिँया खासगरी कतारलाई धेरै नजिकबाट बुझ्ने नेपालीका रुपमा परिचित हुनुहुन्छ ।

त्यहाँको सरकार र विभिन्न राजकिय निकायले समेत अत्यन्त प्रत्यार गरेका युवा व्यक्तित्व मौलाना मोहम्मद रमजान अलि मिँया कतारलाई ‘नेपाल बाहिरको अर्को नेपाल’ भन्न रुचाउनुहुन्छ । 

त्यहाँ कार्यरत करिव ५ लाख आप्रवासी नेपालीहरु मध्ये  करिव ६ सय जना त इन्जिनीयर रहेको उहाँले जानकारी दिनुभयो । ‘इन्जीनीयर, डाक्टर, विभिन्न सरकारी निकाय देखि निजी र अर्ध सरकारी निकायका उच्च ओहदादेखि सामान्य तहमा सम्म आम नेपालीको वर्चश्व छ ।’ उहाँले सुनाउनुभयो । 

त्यतीमात्र होइन पारिवारीक रुपमा नेपालीहरुलाई बस्न सहज, वातावराण र रहनसहन ठिक तथा अन्य हिसावले पछिल्लो समय कतार आकर्षणको केन्द्र भैरहेको र नेपाली दाजुभाईलाई उनीहरुले गर्ने व्यवहार अन्य आप्रवासीभन्दा सहज रहेको मियाँको अनुभव छ । 

पछिल्लो समय दुइ देशबीच उच्च स्तरीय भ्रमणहरु नहुनुमा राजनीतिक स्थीरताको कमी रहेको उहाँ बताउनुहुन्छ । ‘विगतमा केही दुइ देशीय सम्वन्ध सुदुढ तथा सहयोग आदानप्रदानका लागि केही नीतिहरु बन्थे तर कार्यान्वयन नहुँदै सरकार तथा नीतिगत नेतृत्वमा रहेकाहरु फेरिन्थे, यसले समस्या परेका थिए, स्थिर सरकार भएकाले पक्कै अब त्यस्तो नहोला । –उहाँको अनुमान छ । 

खासगरी दुई देशबीचमा नागरिक–नागरिकबीचको सम्वन्ध स्थापना गर्न सकेमा कुटनीति बलियो हुने र आवतजावतले पनि गति पाउने उहाँको ठम्म्याई छ ।

नेपालबाट कतारले सामुदायिक प्रहरी सेवा सञ्चालन, कृषिको विकास र अन्य विषयमा सिक्न सक्ने उहाँको अनुभव छ । नेपालको पानी कतारमा निर्यात गर्न सकिने समेत प्रचुर संभावना रहेको र त्यसका लागि यहाँका व्यापारी र त्यहाँका व्यापारीबीच आयात निर्यात सम्वन्धी साझेदारी हुनुपर्ने र सरकारले सहजीकरण गरिदिनुपर्ने उहाँको विचार छ । 

‘नेपाल र कतार भनेका एक आपसमा लेवर सेन्डीङ र लेवर रिसीभीङ कन्ट्रीको रुपमा मात्र सिमित हुनुहुन्न ।’ उहाँले भन्नुभयो –‘अब त्यहाँको आर्थिक समृद्धि हामीले ग्रहण गर्न सक्नुप¥यो । त्यहाँका हरेक बिल्डीङहरुमा नेपालीहरुको रगत पसिना परेको छ, त्यसको उच्च मुल्याङ्कन हुनुपर्छ ।’ मिया भन्नुहुन्छ– ‘हामीले कतार बनायौं, अब कतारले नेपाल बनाउनुपर्छ । ’

नेपालसंग कतारको कुनै राजनीतिक स्वार्थपुर्ण एजेण्डा छ जस्तो आफुलाई नलागेको उहाँको ठम्याई छ । त्यसैले संसारका सबै सम्पन्न मुलुकहरुमा लगानी गरेका कतारी व्यवसायीहरुले नेपालमा पनि ठुलो धनराशी लगानी गरी रोजगारी सिर्जना गर्नसक्ने संभावना उहाँ देख्नुहुन्छ । तर त्यसका लागि विभिन्न झन्झटीलो सरकारी प्रक्रियालाई सहज पारिदिनुपर्ने उहाँको सुझाव छ ।

आफुसंग दुई देशको समृद्धि र कुटनीतिक सम्वन्ध विकास तथा विस्तारमा थुप्रै अनुभव र योजना रहेको र त्यसलाई उपयोग गर्न मौका दिइएमा मन, वचन र कर्मका साथ पुरा गरेर देखाइदिने समेत उहाँको प्रतिवद्धता छ । 





0 comments

Write Down Your Responses