Powered by Blogger.
शिवम सिमेन्टको ठगी धन्दा शुरु, पहिलो शिकार मकवानपुरबासी !


काठमाडौं । शेयर बजारका लगानीकर्ताहरुलाई मुर्ख बनाउन कम्पनीहरुले प्राथमिक शेयर बिक्री गर्ने र प्रिमियम थपेर लगानीकर्ताबाट पैसा थुत्ने क्रममा नयाँ श्रृंखलामा शिवम सिमेन्ट अगाडि आएको छ । 

शिवमले शेयर बजारमा चलाईने ठगी धन्दाको चरण साउन १३ गतेबाट शुरु गर्दै पहिलो शिकार मकवानपुरबासीलाई बनाउँदै छ ।

शिवम सिमेन्ट्सले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म उद्योग प्रभावित मकवानपुरवासीहरुका लागि प्रतिकित्ता ३०० रुपैयाँका दरले प्रिमियमसहितको मूल्यमा साधारण शेयर बिक्री शुरु गरेर ठगीको पहिलो अभ्यास थालेको हो । 

कम्पनीले उच्च प्रिमियम राखेर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने शेयर उद्योग प्रभावित मकवानपुरबासीहरुलाई बेचेर ठगी शुरु गरेको हो ।

मकवानपुरको हटियाबासीले आफ्नै गाउँमा स्थापित उद्योगको शेयरधनी बन्न प्रतिकित्ता एकसय रुपैयाँमै शेयर पाउँने ठूलो आशा राखेका थिए । 

दिनदिनै धुलो, धुँवा र ध्वनी प्रदुषण खेपेका हटियाबासी र खानी प्रभावितको यस्तो आशा जायज पनि हो तर कम्पनीले दुई सय रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँमा शेयर बेच्ने त्यो पनि तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने शेयर भिडाउँन लागेको छ । विपन्न स्थानीयबासीमा प्रतिकित्ता ३०० रुपैयाँ हालेर शिवमको आईपीओ किन्ने क्षमता कति छ भन्ने अर्को कुरा हो ।

स्थानीय जनतामा उद्योगप्रतिको स्वामित्वबोध गराउँन शिवम आफैले स्थानीयबासीलाई सस्तोमा शेयर दिन अग्रसर हुनुपर्ने थियो तर महंगो आईपीओ स्थानीय जनताले किन्दैनन् भनेर पुरै मकवानपुरबासीलाई बिक्री गर्ने षडयन्त्र गरिएको छ । आईपीओ भनेपछि आँखा चिम्लेर लगानी गर्ने मकवानपुरवासीको दिमाग भुट्न शिवम कति सफल होला भन्ने प्रश्न पहिलो चरणमा परीक्षण पनि हुँदैछ ।
उद्योग प्रभावितहरुका लागि बिक्री गरिएको शेयर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाईने र त्यसलाई धितो राखेर कर्जा पनि नपाईने धितोपत्र सम्बन्धी नियम छ । यसको प्रत्यक्ष मारमा अहिले शिवमले महंगो मूल्यमा बिक्रीमा राखेको आठ लाख ८० हजार कित्ता शेयर किन्ने मकवानपुरे हुने छन् । स्थानीयका लागि बिक्रीमा राखिएको शेयर बिकाउँन केही ब्यक्तिलाई संस्थापकहरुले उक्साउने संभावना पनि छ तर त्यस्तो बदमासीले उद्योग प्रभिावतहरुमा उद्योगप्रति स्वामित्वबोध गराउने छैन ।

प्रतिकित्ता एक सय रुपैयाँमै आबेदन गरेर तीन बर्ष कुर्न परे पनि ठीकै हुन्थ्यो कि तत्कालै दोस्रो बजारमा बिक्री गर्न पाउने अबस्थामा जोखिम मोल्न सक्ने र ईच्छुकले तीन सय रुपैयाँमै पनि शेयर किन्न सक्थे । यी दुबै कुरा नभएपछि आईपीओ किन्नेहरु ठगिने नै हुन् ।

शिवमले स्थानीयबासीहरुलाई ठग्ने खोजेको प्रमाण यो पनि हो कि अहिले प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ रहेको शेयरलाई कम्पनीले ३०० रुपैयाँमा मकवानपुरेलाई बेच्न खोज्दैछ । प्रति शेयर नेटवर्थ हाराहारीमा शेयर पाउने हक पनि स्थानीयबासीबाट खोसिएको छ । 

अंकित मूल्य एक सय रुपैयाँमै पाउने शेयरलाई तीन सय रुपैयाँ हाल्नुपर्ने, त्यो पनि तीन बर्ष बेच्न र बैंकमा धितो राखेर ऋण लिन नपाउने यस्तो शेयरमा लगानी गरेर ठगिनु हुँदैन भन्ने आवाज मकवानपुरेबाट उठ्नपर्छ ।

तीन बर्षमा जम्मा ४५ रुपैयाँ नगद लाभांश खान किन स्थानीयले प्रतिकित्ता ३०० र सर्बसाधारणले ४०० रुपैयाँ मूल्य हालेर शेयर किन्नु पर्यो ? अहिले २० प्रतिशत नगद लाभांश दिनसक्ने कम्पनीको शेयर दोस्रो बजारमा २०० रुपैयाँ हाराहारीमा सजिलै पाईएको छ । 

ईक्रा नेपालले ग्रेड थ्री प्लस रेटिड. दिएको कम्पनीको बित्तीय अबस्था औसत मात्र हो भने सिमेन्ट कम्पनी हो भन्दैमा बढी मूल्य हालेर आफ्नो लगानी डुबाउँन किन अग्रसर हुने ?

अर्को गंभीर कुरा शिवमले स्थानीयबासीलाई ३०० रुपैयाँका दरले दुई प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता र देशभरिका सर्बसाधारणलाई १० प्रतिशत अर्थात ४४ लाख कित्ता शेयर शेयर बेचेर दुई अर्ब २ करोड रुपैयाँ जम्मा पार्नेछ । 

यो रकम शिवमको अहिलेको चुक्ता पूँजी तीन अर्ब ८७ करोडको आधा भन्दा धेरै हो । जम्मा १२ प्रतिशत मकवानपुरबासी र सर्बसाधारणलाई बेचेर शिवमले चुक्ता पूँजीको आधा भन्दा बढी रकम उठाउने तर कम्पनीमा सर्बसाधारणको नियन्त्रण हुँदै नहुने, एकजना पनि संचालक चयन हुन गाह्रो पर्ने अबस्थामा सर्बसाधारणकोे लगानी सुरक्षाको प्रत्याभुति कसरी हुन्छ ? 

एकातिर शिवम लगायतका कम्पनीहरुलाई हेर्ने प्रत्यक्ष नियमनकारी निकाय छैन भने अर्को तर्फ शिवममा अहिले शतप्रतिशत मारवाडी समुदायको लगानी छ । 

चुक्ता पूँजीको आधा भन्दा बढी रकम लगानी गर्ने सर्बसाधारण तर त्यसबाट आर्जित प्रिमियम ९० प्रतिशत भन्दा बढी खाने मारवाडी समुदाय हुँदा शिवमको प्रिमियमसहितको आईपीओ कुनै पनि हालतमा सुरक्षित र न्यायोचित छैन ।

कम्पनीको संस्थागत सुशासनमा अहिले समस्या देखिएको छैन एकै खाले मारवाडी समुदायका ब्यक्तिहरुको मन भोलि पनि मिलिरहन्छ भन्ने के ग्यारेन्टी छ ? केही ब्यक्तिहरुको नियन्त्रणमा रहेको कम्पनीमा भोलि ठूलो समस्या आयो र लगानी डुब्यो भने त्यसलाई हेयरकट गर्ने संयन्त्र के छ ?

शिवम उत्पादनमुलक बर्गको कम्पनी हो र उसको उत्पादन अहिलेसम्म गुणस्तरीय नै छ । उसले चीनको होड्सी समूहसँग मिलेर नवलपरासीमा ठूलो सिमेन्ट कारखाना स्थापना गरेको छ । कम्पनी खोल्न र त्यसलाई सुब्यवस्थित रुपमा संचालन गरेर नाफामा पुर्याउन नेपालमा धेरै गाह्रो काम हो ।

 शिवमका संचालकहरुले गरेको मेहनत पनि आफ्नो ठाउँमा जायज होला तर प्रिमियमसहितको आईपीओ सर्बसाधारणबाट पैसा लुट्ने माध्यम बन्नु हुँदैन भन्ने कुरा झन् जायज हो । 

उद्योग प्रभावित जनताले अंकित मूल्य अर्थात एक सय रुपैयाँमा शेयर किन्न पाउने र अरु सर्बसाधारणले प्रतिशेयर नेटवर्थ मूल्य हाराहारीमा आईपीओ पाउने अबस्था हुँदा कम्पनीका संस्थापक र सर्बसाधारण दुबैलाई विन विनको अबस्था हुन्थ्यो । 

कम्पनीका संचालकहरुले प्रतिशेयर नेटवर्थमा शेयर बेचेर अहिलेसम्मको मेहनतको लाभ लिनसक्ने भने सर्बसाधारणले पनि राम्रो हुँदै गरेको कम्पनीमा सस्तोमा शेयर पाउने थिए । तर यस्तो कुरामा नेपाल धितोपत्र बोर्डले किन आँखा चिम्लिएको छ ? रहस्यकै कुरा हो ।

शेयर बिकेन भने पनि प्रत्याभुति गर्ने एनआईबीएल एस क्यािपटलले सकारी हाल्छ भन्ने हो भने त्यहाँ पनि जनताकै पैसा खर्च हुने हो । जनताको पैसालाई यसरी दुरुपयोग गर्न कहाँ पाईन्छ भन्ने प्रश्न जरुर उठ्छ ।

प्रति शेयर नेटवर्थ भन्दा बढी मूल्यमा आउने आईपीओ र एफपीओहरुलाई बहिष्कार गर्ने हो भने मात्र नेपालको शेयर बजारका लगानीकर्ताहरु सुरक्षित हुन्छन्, हैन भने बजार केही ब्यक्तिको कमाउ र धेरै ब्यक्तिको डुबाउस्थलको रुपमा रहि नै रहने छ ।
(शेयरलगानी डटकमबाट)

0 comments

Write Down Your Responses