Powered by Blogger.
पालुङ जेसीजको तीन वटा कार्यक्रम बज्रवाराहिमा

थाहा /  पालुङ जेसीजले ३ वटा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ । ३ वटै कार्यक्रम थाहा नगरपालिकाको बज्रवाराहीमा आयोजना गरिएको हो ।
विगतका वर्षहरुमा जेसीज सप्ताहअन्तर्गत आयोजना गरिँदै आएको सुरेन्द्रमान ओराटेर कन्टेस्ट, धर्मलाल एकल गायनको प्रि–अडिशन र गोपीकृष्ण एकल नृत्यको प्रि–अडिशन कार्यक्रम जेसीज सप्ताहबाट अलग गरेर आयोजना गरिएको पालुङ जेसीजका अध्यक्ष विजयश्याम अमात्यले बताए ।
मावि तहको ११ र १२ तथा क्याम्पस तहका विद्यार्थीहरुको सहभागितामा भएको सुरेन्द्रमान ओराटेरी कन्टेस्टबाट जनकल्याण माविका सन्जित थापा उत्कृष्ट भएका छन् । ‘एस वि साइन, बाइ राइजिङ रेस्पोन्सिविलिटी’ शीर्षकमा भएको प्रतियोगिताका निर्णायक कुमार नेगी, कृष्ण दाहाल र कष्णप्रसाद लामिछाने रहेका थिए ।
यसैगरी धर्मलाल एकल गायनको प्रि–अडिसनबाट २ जना र गोपीकृष्ण एकल नृत्यको प्रि–अडिशनबाट ६ जना छनौट भएका छन् । नृत्यमा छनोट हुनेमा सुहाना गोपाली, अमृता गोपाली, प्रशुन्ना गोपाली, सलिना सिं ठकुरी, बिशाल बल र रोशनी बलामी रहेका छन् । पालुङ जेसीज वर्ष २०१८ का अध्यक्ष तथा नवक्षितिज कला केन्द्रका निर्देशक बिजयश्याम अमात्य, शुशान्त गोपाली र शोभिता गोपालीले गायन तथा नृत्य अडिसनमा निर्णायको भूमिका निर्वाह गरेका थिए ।
थाहा नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष शशिधर सुवेदीको प्रमुख आतिथ्यता तथा पालुङ जेसीज वर्ष २०१८ का अध्यक्ष विजयश्याम अमात्यको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पालुङ जेसीजका वर्ष २००८ का अध्यक्ष भरत गोपाली, वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान, वर्ष २०१६ का अध्यक्ष शिबकुमार खत्री, थाहा नगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति आरती श्रेष्ठ, समाजसेवी कल्पना बलामी लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses