Powered by Blogger.
विवेकमा स्वार्थको विर्को



वैकुण्ठ ढकाल

‘प्रशंशा सार्वजनिक रुपमा गर्नु गल्ती एक्लै भएको बेला सम्झाउनु’ पंक्तिकार पनि यहि मान्यता राख्छ । त्यो ‘भूँइ’ वा ‘साधरण’ मान्छेको हकमा लागु हुन्छ । तर सार्वजनिक व्यक्तिले गरेको गल्ती समाजमै भन्ने हो । आमसञ्चार माध्यममै भन्नु पर्छ । यसको मतलब सार्वजनिक व्यक्तित्वले गल्ती गर्न पाउँदैन भन्ने हो । गल्ती नहुन त केहि नै नगरी बस्नु पर्छ । काम गर्नेले गल्ती गर्न सक्छन । त्यसो भए के त ? सजिलो छ, यदिकथम कदाचित गल्ती भइहालेमा तत्काल सच्चाई हाल्ने । गल्तीलाई ढाक्नका लागि अर्को गल्ती नगर्ने ।

तर विडम्बना २०७४ साल चैत्र ६ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर २ स्थित मत्स्यनारायण माविमा प्राथमिक तृतीय श्रेणी करारमा शिक्षकका लागि परीक्षा सम्पन्न भयो । पूर्बअनुमानित अनुसार नै नतिजा सार्वजनिक भयो । 

मनोज कार्की सफल उम्मेदवार ठहरिए । कविता कडेल वैकल्पिक उम्मेदवार । त्यसलाई सच्याउनका लागि पटक पटक आग्रह गरियो । २०७५ जेठ अन्तिमसम्म कुनै सुनुवाई भएन । भनियो, असार महिनाभरी चूप बस्ने । 

चुप बसियो, साउन महिनाभर विद्यालय विदा भयो । विदाको बहानमा काम नभएको भनियो । अहिले भदौको मध्य भएको छ, टार्न, ढाँट्न र अन्याय गर्न खोजिदैछ । 

परीक्षा र परीक्षाको नतिजाले अनेकौं प्रश्न जन्माएको छ । जिल्ला शिक्षा कार्यालयले मनोज शिक्षकको लागि योग्य नभएको प्रष्ट पत्र लेख्यो । सफल उम्मेदवारमा कैफियत देखिएपछि स्वतः बैकल्पिक उम्मेदवारले अवसर पाउने आम अभ्यास हो । 

अहिले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नवराज विष्ट आफैं परीक्षा अवैध भएको घोषणा गरेर हिंडिरहेका छन । परीक्षा अवैध हैन, सफल भनिएको उम्मेदवार चाहिं योग्य नभएको हो । उम्मेदवार योग्य नहुनु र परीक्षा अवैध हुनु फरक हो । 

विद्यालय ब्यबस्थापन समितिले परीक्षा अवैध भएको घोषणा गरी पुन परीक्षाका लागि निर्णय गरेर जिल्ला शिक्षा समन्वय समिति (जिल्ला शिक्षा कार्यलय)लाई जानकारी गराएको छ । जिल्लाले सहमति दिन नसक्ने भनेको छ । 

अव निकास के त ? यो जटिल बिषय नै हैन । बैकल्पिकलाई नियुक्त गर्ने निर्णय गर्ने विद्यालय व्यबस्थापन समितिले, जिल्लाले सहमति दिने । यत्ति गर्दा समस्या सहज रुपले हल हुन्छ, तन्काउन खोज्दा जत्ति पनि तन्किन्छ । तन्काउनु पर्ने कारण केहि छैन । 

समस्या बढाउने खोज्ने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज विष्टलाई सवैले साथ दिनु पर्ने कारण के हो ? विष्ट भन्दैछन, कवितालाई नियुक्ति दिने निर्णय गर्नु प¥यो भने राजिनामा दिन्छु भन्दैछन रे, त्यो विष्टको कुरा हो । नैनितकता, इमान्दारिता हुन्थ्यो भने राजिनामा चैत ६ गते नै आउनु पथ्र्यो । यत्तिका ढिला किन ? 

अनि विद्यालय सेवा क्षेत्रका अभिभावकहरुलाई पंक्तिकारको प्रश्न ६ महिनादेखि शिक्षक पाउने हक खोस्ने विद्यालय ब्यबस्थापन समिति र प्रधानअध्यापकलाई किन प्रश्न नगरेको ? । शिक्षक पाउने हक खोस्नु भनेको विद्यार्थीको पढ्न पाउने हक खोस्नु हो । पढ्न पाउने हक खोस्ने अधिकार कस्ले दियो, प्रध्यानअध्यापक र अध्यक्षलाई ? जवाफ खोज्नु पर्दैन ? हुन त विद्यालयको गतिविधिमा चासो राख्ने अभिभावक निकै कम छन ।

तर पनि प्रचार गरिदैछ, कविताले उजुरी हालेकाले शिक्षक कोटा गुम्ने अवस्था आयो भनेर । पीडितलाई नै पीडा माथि अर्को पीडा, वा क्या छ समाजको रीत । विधि, विधान, योग्यता, क्षमताले दिएको अधिकार खोज्दा उल्टै गलत प्रचार गर्न मिल्छ ? एउटा गल्ती छोप्न अर्को गल्ती गर्न पाइन्छ ? आफूले गरेको गल्तीको दोष अरुलाई थोपर्न मिल्छ ? कुनै पनि हालतमा मिल्दैन । 

पंक्तिकारलाई पनि दुःख छ, मनोज कार्कीलाई योग्य नभएको भन्न । त्यो प्राविधिक बिषय हो । मनोज अयोग्य हैन, प्रावि तह अध्यापन गराउन कम्तिमा चार सय पूर्णाङ्गको शिक्षा नपढेको र १० महिनाको शिक्षण तालिम नलिएको हो । कमजोरी यही हो । 

तल्तो कक्षामा पढाउन यी आधारभूत कुरा भए । उनलाई मावि तह पढाउन कानुनले रोकेको छैन । आधारभूत कुरा नभएकाले प्रावि तहका लागि योग्य नभएका हुन । माविका लागि सरकारले १० बिषयमा अध्ययन गराउनको लागि शिक्षा शास्त्र नपढेको भए पनि हुन्छ भनेर सुविधा दिएको छ । तर सुविधा सधैंका लागि हैन । 

सुविधा भनेको त सहुलियत हो नि, सहुलियत दिन पनि सकिन्छ, नदिन पनि सकिन्छ । तर अधिकार भने नदिई सुखै छैन । यो बिषय सवै अभिभावकले नबुझ्न सक्छन । शिक्षक पाउने हक खोसेको कुरा त घाम जत्तिकै छर्लङ छ । तै पनि शिक्षक चाहियो भनेर किन बोल्दैन अचम्म लाग्छ ।

अध्यक्ष विष्टलाई प्रश्न– तपाँईले भनेको उम्मेदवार योग्य नहुँदा परीक्षा अवैध हुन्छ ? बैकल्पिक उम्मेदवार भनेर किन सार्वजनिक गरेको ? मैले जे गर्छु त्यो नै अन्तिम सत्य हो भन्ने भ्रमबाट कहिले मुक्त हुने ? 

प्रधानअध्यापक विष्णुहरि ढकाललाई प्रश्न– अध्यक्ष मान्दैनन म केहि गर्न सक्दिन भनेर पन्छिन मिल्छ ? विवेक भन्ने कुरो पनि त हुन्छ होला नि ? वैकल्पिक उम्मेदवारले नपाउने आधार के हो  ? कुन, कानुन, ऐन र अभ्यासले भन्छ सफल उम्मेदवारमा कैफियत भेटिँदा पनि वैकल्पिक उम्मेदवारले अवसर पाउँदैन भनेर ? 

यहाँ बिद्यालय निरिक्षक लक्ष्मण दाहालको पनि निकै ठूलो कमजोरी छ । अघिल्ला निरिक्षकले परीक्षा दिन योग्य छैन भन्ने व्यक्तिलाई किन परीक्षामा सामेल गराएको ? निवेदकहरुको सवै विवरण राम्रोसंग हेर्नु पर्छ कि पर्दैन ? जिम्मेवारी नै निरिक्षक छ भने निरिक्षण नै नगर्ने कस्तो प्रबृत्ति हो ? 

शक्ति सन्तुलन र न्यायकै लागि हो विद्यालय ब्यबस्थापन समिति अध्यक्ष, प्रध्यानअध्यापक र विद्यालय निरिक्षकलाई मूख्य जिम्मेवारी दिईएको । तर तिनै जना मिलेर शक्ति सन्ुलततको उपहास गर्ने ? बिद्यालयले शिक्षक पाउने हक खोस्ने ? विद्यार्थीले पढ्न पाउने हक खोस्ने ? 

अव भन्नुहोस तपाँईहरुलाई अख्तियार दुरुपयोग गरेको आधारमा मुद्दा दायर नगर्नु पर्ने कारण के छ ? पद अनुसारको आचरण नगर्नेलाई शुसाशन कानुन अन्र्तगत किन कारबाही नगर्ने ? 

यो बेतिथि हेरेर टुलुटुलु हेरेर बसिरहने, स्थानीय सरकार प्रमुख देखेर पंक्तिकारलाई निकै दया लागेको छ । एउटा सामान्य बिषय सल्ट्याउन ६ महिना लाग्छ भने अन्य जटिल बिषय सल्ट्याउन कत्ति समय लाग्ला । 

अहिले काम नगर्नलाई निकै सजिलो छ । यी पंक्तिहरु लेखिरहँदा जिल्ला शिक्षा समन्वय समिति संयोजक (जिशिअ)संग पनि पंक्तिकारको कुराकानी भएको छ । जिशिअ (सवैले बुझ्ने भएकाले) कृष्णप्रसाद घिमिरे  भन्छन– हामीसंग अधिकार छैन, सवै अधिकार स्थानीय तहमा गइसक्यो । 

स्थानीय सरकार प्रमुख(नगरप्रमुख) लवशेर विष्टको मत फेरि अर्कै छ– हामीलाई कुनै अधिकार नै दिर्ईएको छैन । जिल्लासंग अधिकार छैन, स्थानीय तह दिईएको छैन भन्छ । हो चाहिं के ? अब संघले सवै अधिकार स्थानीय तहमा पठायो तर स्थानीय तहमा आइपुगेको छैन भनेर बस्ने ? नगर्नेका लागि अनेकौं बाहना छन । न्याय नदिनका लागि बाहना गर्नेहरुलाई सर्वोच्च शक्ति जनताले माफी दिनुहुँदैन ।

बुटवलका पत्रकार साथीले सुनाएका– श्रीमतीलाई नागरिकता बनाइ दिन नमान्ने श्रीमानलाई सिडिओले कार्यालयमा झिकाएछन् र ’मेरी श्रीमती हो तर नागरिकता बनाउन दिन्नँ’ भन्ने कागजमा सही गर्न लगाएछन् । र त्यही कागजको आधारमा श्रीमती प्रमाणित गरी नागरिकता दिलाएछन् । पाठः प्रशासकले चाहेमा काम सजिलै हुन्छ ।

तर यहाँ त कुनै पनि समस्या नै छैन । प्रथम उम्मेदवार योग्य नहुँदा स्वतः बैकल्पिकले पाउने हो । यहाँ मेरो नभए पछि कोही हुनुहुँदैन भन्ने हीनग्रस्त भावना त्याग्नु पर्छ । 

bd.palung@gmail.com

0 comments

Write Down Your Responses