Powered by Blogger.
खुकुरी बनाउँदैमा विरोध गर्नुहुन्न, मान्छे काट्न थालेमा मात्र विरोध गर्ने होः बिडारी


काठमाडौ । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले हालै  कार्यान्वयनमा आएको फौजदारी संहिताको कार्यान्वयनमा समस्या आए सच्याउन सकिने बताएका छन् । 

बुधबार सञ्चार केन्द्र नेपालमा आयोजित एक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले संसदमा भर्खरै दर्ता भएको व्यक्तिगत गोपनीयताको हक सम्वन्धी ऐनमा केही कमजोरी भए त्यसलाई छलफलबाट सच्चाउने समेत प्रतिवद्धता जनाए । 

अन्तरक्रिया कार्यक्रममा उनले जनताको सूचनाको हक तथा विश्वव्याप प्रेस स्वतन्त्रता सम्वन्धी मुल्य र मान्यतामा प्रतिबन्ध लगाउने काम राज्यबाट नहुने ठोकुवा गर्दै गलत काम गर्नेलाई मात्र कानुन निर्माण गरिएको बताए ।

‘यो संहिताले नाङ्गो तस्वीर सञ्चारमाध्यममा प्रकाशन गरि आत्महत्या गराउन बाध्य पार्नेहरु जस्तालाई कारबाही हुने हो, अरु डराउन पर्दैन । ’ बिडारीले भने–‘यो कानुन खराब काम गर्नेको लागि हो सत्य काम गर्नेहरुलाई कारबाही हुँदैन ।’ उनले मिडियाप्रति राज्यको कुनै पूर्वाग्राही नभएको जनाऊ गर्दै पत्रकारहरुले जेसुकै लेखेपनि दर्ता खारेज नहुने, सामाग्रीहरु जफत नहुने सकारात्मक कुराहरुलाई पनि सञ्चारमाध्यमले सोच्नुपर्ने बताए ।

खुकुरी बनाउन पाइन्छ, बनाउदैमा कुन मनसायले बनायो भनेर बिरोध गर्न पाँइदैन तर  त्यसले मान्छे काट्न नपाइने भन्दै उनले भने ‘कानुन बनाउनुपर्छ तर कानुनको गलत प्रयोग भएमा मात्र हामी सबैले शसक्त विरोध गर्नुपर्छ ।’ बिडारीले पछिल्लो समय मुलुकमा विभिन्न खाले विकृत्तिहरु रहेकाले त्यस्ता विकृत्तिहरुलाई नियन्त्रण गर्नकै लागि १० वर्षदेखि छलफल र अध्ययन गरि अपराध संहिता ल्याइएको बताए ।  



उनले नेपालमा स्वास्थ्य क्षेत्रमा पनि असल काम गर्नेलाई कारबाही नहुने जिकिर गर्दै नियोजित रुपमा मान्छे मार्ने डाक्टरलाई मात्र कारबाही हुने बताए । 

रिसिइबी भएका मान्छेलाई इन्जेक्सन र ट्याबलेट खुवाएर मार्ने, अप्रेसन गर्दा कैँची र गजो पेटभित्रै छाड्ने डाक्टरलाई कारबाही हुनुपर्छ’ उनकोे तर्क थियो । त्यसैगरी बर्दीको आडमा नागरिकमाथि अन्याय हुने देखिएकाले त्यस्ता समस्यालाई रोक्नपनि नयाँ ऐन ल्याइएको दाबी गरे । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले नेपालमा नयाँ बन्दै गरेक काननुलाई सबैले अपनत्व गर्न सक्ने कानुन निर्माण हुनुपर्ने कुरा बताउँदै समाजलाई सुशासनतर्फ उन्मुख गराउने कानुन आजको आवश्यकता रहेको बताए ।  

उनले सर्बोच्च अदालतले काम गर्नु भनेर आदेश दिएका समाज कल्याण परिषद्को सदस्यसचिव डिल्ली भट्टलाई सरकारले विना रोक तोक काम गर्ने वातावरण मिलाईदिनुपर्छ भन्दै कानुनी राजको अनुभूति सबैले गर्न पाउनुपर्छ भन्ने कुरामा जोड दिए । 

त्यसैगरी नागरिक समाजका अगुवा भोजराज तिमल्सिनाले कार्यक्रममा सम्बोधन गर्दै सर्बोच्च अदालतले दिएको निर्देशनको पालना नहुनु दुर्भाग्य भएको बताउँदै हजारौं संघ संस्थाको अनुगमन गर्ने निकाय समाज कल्याण परिषद्को सदस्यसचिव भट्टलाई परिषद्भित्र बसेर सहजताका साथ काम गर्ने वातावरण मिलाउन सरकारसँग माग गरे ।



त्यसैगरी उपभोक्तावादी नेता रञ्जन खनालले राज्य अराजकतातर्फ जान नहुने बताउँदै नागरिकले कानुन कार्यान्वयन भई सुशासनको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए । त्यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका प्राविधिक सल्लाहकार अलि अख्तर मिकरानीले अपराधको स्रोत नै पत्ता लगाई त्यसलाई निस्तेज बनाउने ढँगले अगाडि बढ्नुपर्ने बताउँदै कानुन समय सापेक्ष बन्दै जाने हुनाले सभ्य समाज निर्माणमा बन्ने कानुनतर्फ सबैले सहयोग गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनको फौजदारी तथा देवानी संहिता २०७४ ले विश्वले मान्यता दिएको प्रेस स्वतन्त्रतालाई अंकुश लगाएको भन्दै त्यसको विरुद्धमा नेपाल पत्रकार महासंघले कडा आन्दोलनको कार्यक्रम अगाडि सार्ने तयारी गरेको बताए । 



कार्यक्रममा वरिष्ठ पत्रकार विष्णु प्रसाईंले कञ्चनपुरको घटनामा प्रधानमन्त्री, गृहमन्त्रीलगायत मौन रहनु राज्य नभएको अनुभूति भएको बताउनुभयो । कार्यक्रममा प्रशासनिक पत्रकार मञ्चका अध्यक्ष सागर पण्डित लगायतका वक्ताहरुले बोलेका थिए । 


0 comments

Write Down Your Responses