दशैं लक्षित सुपथ मुल्य पसलको मन्त्री यादवद्धारा सुरुवात
काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित एकिकृत सुपथ मूल्यको पसलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले शुक्तबार उद्घाटन गर्नुभएको छ ।
साल्ट टे«डिङ कर्पोरेशन लिमीटेडको विशेष पहलमा सुपथ मुल्य पसल सञ्चालन भएको हो । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो ।
सुरुवात कार्यक्रममा मन्त्रालयका सहसचिव नवराज ढकाल, साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मिदाश मानन्धर लगायत अन्य व्यक्ति तथा संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्यका पसल स्थापना गरिएको बताइएको छ ।
शुक्रबारबाट खुलेका सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन हुनेछ ।
सिंहदरबारको एकिकृत सुपथ मूल्यको पसलबाहेक पनि नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान(डिडिसी), साल्ट ट्रेडिङ कर्पोरेशन लिमीटेड र विभागमा दर्ता भएका सहकारीले आ–आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
विभागमा सूचिकरण भएर खुद्रा विक्रेता तथा किराना पसलले पनि सुपथ मूल्यको पसल चलाउन सक्नेछन् । त्यस्ता विक्रेतालाई खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले आफ्ना उत्पादनमा छुट र कमिसन दिनेछन् ।
साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको साल्ट ट्रेडिङका डिभीजनल मेनेजर ब्रजेश झाले जानकारी दिनुभयो ।
त्यस्तै खाद्य संस्थानले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ । विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ ।
खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने खाद्य संस्थानले जनाएको छ । दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनहरुमा छुटको व्यवस्था गरेको छ ।
खाद्य संस्थान, दुग्ध विकास संस्थान, साल्ट्र ट्रेडिङ, नेशनल ट्रेडिङले आफ्ना उत्पादनमा केही छुट दिएर लाभ लिन उपभोक्तालाई आह्वान गरेका छन् । सुपथ मूल्यको पसलमा उपलब्ध हुने विभिन्न सामानमा विद्यमान मूल्यमा ५ देखि १० रुपैयाँ छुट दिइएको छ ।
0 comments
Write Down Your Responses