Powered by Blogger.
यि हुन् कैलाश गाउँपालिकाले देशका अन्य स्थानिय निकायले भन्दा पहिला गरेका काम

शिवकुमार काशी
मकवानपुर / स्थानीय तहको निर्बाचन भएपछि बनेका गाउँ-नगरस्तरीय ऐनहरूको कार्यान्वयन फितलो भइरहँदा मकवानपुरको कैलाश गाउँपालिकाले गाउँ शिक्षा ऐन–२०७५ को कार्यान्वयन गरी शिक्षक दरबन्दी मिलान गरेको छ। देशभर रहेका ७५३ वटा स्थानीय तहमध्ये कैलाशले पहिलोपटक दरबन्दी मिलान गरेको हो।
कैलाश गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका ५१ वटा विद्यालयहरूमा विद्यार्थी तथा शिक्षकको संख्याको अध्ययन गरी दरबन्दी मिलान प्रक्रिया सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए।

 ‘शिक्षकको अभाव झेल्दै आएका विद्यालयहरूका लागि कम विद्यार्थी रहेका विद्यालयहरूबाट शिक्षकहरू दरबन्दीसहित तानिएको छ’, अध्यक्ष मुक्तानले भने,‘३ जना विद्यार्थीका लागि २ जना शिक्षक राखिरहनु आवश्यक देखिएन।’ त्यस्ता कम विद्यार्थी भएका विद्यालयलाई अन्यत्र मर्ज गर्ने वा बाल विकास केन्द्रमा परिणत गर्नेबारे अध्ययन भइरहेको उनले बताए।

कैलाश गाउँपालिकाको कालिका प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना संख्या ११ र नियमित पढ्न आउने विद्यार्थीको संख्या २ जना तथा ३ जना विद्यार्थी पढाउनका लागि राहत शिक्षक दुई जनाको व्यवस्था भएको पाइएको अध्यक्ष मुक्तानले बताए। नेपालको संविधानको धारा २२६, अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम बनेको कैलाश गाउँपालिकाको गाउँ शिक्षा ऐन–२०७५ को दफा ३३ बमोजिम दरबन्दी मिलान गरिएको हो। दरबन्दी मिलानका लागि गाउँ कार्यपालिकाको २०७५ असार ८ गते बसेको बैठकले ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने नीति अबलम्बन गरी स्थायी, अस्थायी, राहत तथा इसिडीका समेत दरबन्दी मिलान गर्न सुझाव दिने गरी सामाजिक विकास समितिलाई म्यान्डेट दिएको थियो।
सामाजिक विकास समितिले २०७५ असार ३० गते पेस गरेको प्रतिवेदनका आधारमा दरबन्दी मिलान तथा काज सरूवा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दरबन्दी मिलान गरेपछि ९ जना शिक्षकलाई साबिकमा काम गरिरहेकामा विद्यार्थी चाप रहेका अन्य विभिन्न विद्यालयहरूमा दरबन्दीसहित पठाइएको छ।
दरबन्दी मिलानपछि अध्ययन-अध्यापनमा केही सहज हुने उनले अध्यक्ष मुक्तानले बताए। ‘केन्द्र सरकारले पनि दरबन्दी मिलानको तयारी गरिरहेको भन्ने सुनेका छौँ’, अध्यक्ष मुक्तानले भने,‘केन्द्रको कुरा पर्खिरहँदा यता विद्यार्थीहरूको भविष्य अन्यौल हुने भएकाले गाउँ शिक्षा ऐनको कार्यान्वयन गरिएको हो।’
गाउँपालिकाभित्रका विद्यालयहरूबारे अपनत्वग्रहण गरी सुधारको प्रयास गरिएको भन्दै मुक्तानले सुधार प्रयासका लागि केन्द्र सरकारको बाटो हेर्नु भन्दा आफूलाई प्राप्त संवैधानिक अधिकार उपयोग गर्न स्थानीय सरकारहरू अघि बढ्नुपर्ने तर्क गरे। उनले भने,‘संघीयतामा केन्द्रीयता पर्खेर बस्ने हो भने कहिले हुन्छ सुधार?’ कैलाश गाउँपालिकामा ५१ वटा विद्यालय रहेका छन्। पाँचवटा माध्यामिक तहको, ५ वटा आधारभूत तहको र बाँकी प्राथमिक तहका विद्यालयहरू रहेका छन्। सरकारको मान्यता अनुसार मावि तहमा २७ जना शिक्षक हुनुपर्नेमा जम्मा ७ वटा मात्रै रहेको छ।

0 comments

Write Down Your Responses